Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षकलाई लाग्यो चुनाव , विद्यालयमा ‘अघोषित’ बिदा !

बुधबार, १३ मंसिर २०७४

भक्तपुर - बिहान साढे दश बजे भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेलमा रहेको आजाद माविमा पुग्दा कक्षा ७ का विद्यार्थीहरु कक्षाकोठामा ठूल्ठूलो स्वरमा हल्ला गर्दै थिए ।

किन तिमीहरु यसरी हल्ला गरिरहेको ?

‘पहिलो घण्टी नै खाली छ, सर आउनुभएन, त्यही भएर कुराकानी गरिरहेको ।’ एक विद्यार्थीले जवाफ दिए ।

दोस्रो तल्लामा रहेको अफिस कोठा पनि खाली थियो ।

नजिकैको अर्को कक्षामा पढाइरहेकी शिक्षकसँग हेडसर हुनुहुन्न ? भनेर सोधेपछि उनले कौसिमा भएको जानकारीदिईन् ।

विद्यालयको कौसीमा पुग्दा ५ जना शिक्षकहरु घाम ताप्दै गरेको अवस्थामा भेटिए ।

विद्यालयका प्रअ केशव बानियाँलाई मैले के सबै शिक्षकहरु आज उपस्थित हुनुहुन्छ ? भनेर सोधेँ । उनले भने, ‘एकजना आउनुभएको छैन, २ जना काजमा गएका छन् ।’

उनका अनुसार २ जना बालविकास केन्द्रका शिक्षक निर्वाचनमा मतदाता शिक्षाको लागि काजमा गएका छन् भने मावि शिक्षक शैलेन्द्र थापामगरले बिदा लिएका छन् । ‘बिरामी बिदा भनेर शैलेन्द्र सर आज आउनुभएन, त्यही भएर कक्षा ७ खाली भो ।’ उनले भने ।

सोही नगरपालिकाको वडा नं. ३ मा रहेको यापी भैरव आधारभूत विद्यालयमा पुगेँ । सो विद्यालयमा पनि कक्षा ७ कै शिक्षक पूर्णबहादुर माकजु अनुपस्थित भएको शिक्षक श्याम माकजूले बताए ।

उनले विद्यालयका प्रअ श्यामकुमार साख भने बिहान दश बजे आएर हाजिर गरेर काम छ भनी बाहिर निस्किएको बताए । ‘चुनाव आएको छ, कोही बिरामी भएका छन्, कोहीलाई छिटो जानु परेको छ, अझ हेडसरहरुलाई त हाजिर गरे पुगिहाल्यो नि’ सोही विद्यालयका शिक्षक लक्ष्मी ढकालले भनिन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत मंसिर २१ गते हुने निर्वाचन हुने जिल्लामा १८, १९, २० र २१ गते विद्यालय बन्द हुने भने पनि विद्यालयहरुमा भने ‘अघोािषत’ बिदा सुरु भैसकेको तथ्य दुई विद्यालयमा गरेको स्थलगत रिपोर्टिङले देखाएको छ ।

निर्वाचनको माहोल बढेसँगै विद्यालय पुग्नुपर्ने शिक्षकहरु विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रमहरुमा बढी देखिन थालेका छन् । शिक्षकहरु यसरी दलको कार्यक्रममा देखिन थालेपछि विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्म दलको झण्डा नै बोकेर हिँड्न थालेका छन् । ‘हिजो म ढिला बच्चा पुर्याउन गएको थिएँ, त्यो बेलासम्म विद्यार्थीहरु चौरमै यताउति दौडिरहेका थिए, एकजना शिक्षकसँग सोध्दा उहाँले भन्नुभयो, के गर्नु हजुर, शिक्षकलाई पनि चुनाव लाग्यो नि ।’ भक्तपुरको अरनिको माविमा सन्तान पढाइरहेका अभिभावक रीता लामाले भनिन् ।

विभिन्न विद्यालयहरुका शिक्षक, प्रअहरुका अनुसार निर्वाचन नजिकिएसँगै शिक्षकहरुको उपस्थितिमा पनि न्यूनता आउन थालेको छ । ‘शिक्षकहरु विभिन्न बहाना गरी विदा लिन थालेका छन्, एकैदिन चार पाँच जना शिक्षक बिदामा बस्न थालेका छन् ।’ एक प्रअले भने ।

उनले कोही शिक्षकले राजनीतिक कार्यक्रममै जानका लागि भनी भैपरी आउने बिदा, बिरामी बिदा लिएका छन्, भने कोहीले फोनबाटै आउन नसक्ने जानकारी दिने गरेको बताए ।

‘अझ कोही कोही त विद्यालय आउँछन्, हाजिरी गरेर एक पिरीयड पढाउँछन्, सर मेरो इमर्जेन्सी फोन आयो, नगइ भएन भनेर जान्छन् ।’ उनले भने । प्रअहरुका अनुसार विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये एकदुई जना मतदाता शिक्षामा पनि व्यस्त भएका छन् भने अरु एक दुईजना पार्टीकै कार्यक्रममा ।

‘बिहान पनि ढिला आउँछन्, किन ढिला भनी सोधे विभिन्न बहाना बनाउँछन्, अनि अरु सरहरुअघि चाँहिँ फुर्ति लाउन, बिहानभरी पार्टीको कार्यक्रममा लागेको भन्छन्, चुनाव लागेपछि खासै पढाइमा ध्यान दिएका छैन ।’ अर्का प्रअको भनाइ छ । बिरामी भएँ, सञ्चो भएन भनेर आउँदैनन्, तिनीहरुको पछि लाग्ने कुरा भएन ।

‘जानुपरे बिदै लिएर जान्छन्, बिदा भनेपछि हामीले खोजीनीति गर्ने कुरा आउँदैन, हामीकहाँ ढिला आउने, चाँडै जाने गरिएको छैन ।’ भक्तपुरको पद्म माविका प्रअ राम हाडाले भने ।

प्रतिक्रिया