Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

बम विस्फोटमा बालबालिका परेकोमा चिन्ता, चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह

शुक्रबार, १५ मंसिर २०७४

ललितपुर - चुनाव विथोल्न देशका विभिन्न ठाउँमा भएका बम विस्फोटमा बालवालिका समेत परेकोमा चिन्ता व्यक्त गर्दै चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न केन्द्रीय बालकल्याण समितिले अपिल गरेको छ ।

समितिका कार्यकारी निर्देशक तारक धितालले विज्ञप्ति जारी गरी चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न सबै दललाई आग्रह समेत गरेका छन् ।

'कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिका समेत घाइते हुन पुग्नु दुःखको विषय हो । यसप्रकारका हिंसात्मक घटना एवम् लोकतन्त्र विरोधि गतिविधिहरु हुन नदिन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं' विज्ञप्तिमा भनिएको छ, 'बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सहभागी राजनीतिक दल तथा नागरिकहरुले चुनावी सभा, सम्मेलन, गोष्ठी, ¥याली, मतदान केन्द्र र विजयी उत्सव ¥याली लगायतका समारोहहरुमा बालबालिकाको प्रयोग तथा उपस्थिति नगर्न नगराउनु हुन अनुरोध छ ।'

लोकतन्त्रमा कुनै पनि समस्या समाधानको मूलमन्त्र सम्वाद भएकोले आफ्ना मागहरु बारे सम्बन्धित पक्षहरुसँग सम्वाद गरी बम विस्फोटन जस्ता हिंसात्मक कार्य नगर्न पनि समितिले अनुरोध गरेको छ । शान्ति, सुरक्षा कायम गरी बालबालिकाको जीवन रक्षामा अझ बढी संवेदनशील हुन एवम् हिंसात्मक कार्य गर्नेलाई कानून बमोजिम कारबाही गर्न समितिले माग समेत गरेको छ ।

प्रतिक्रिया