Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

कक्षा ११ को नतिजा अन्यौलमा

शुक्रबार, १५ मंसिर २०७४

भक्तपुर - परीक्षा भएको ६ महिना सम्म पनि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गर्न सकेको छैन । यसले गर्दा कक्षा १२ उत्तिर्ण भएर कक्षा ११ को आँशिक परीक्षा दिएका विद्यार्थी स्नातक पढ्नबाट बञ्चित हुने खतरा बढ्दै गएको छ ।

यति मात्रै हैन परीक्षाफल प्रकाशित हुन जति ढिलो हुन्छ विद्यार्थीलाई उति दवाव पर्छ । मानौ पुसमा नतिजा सार्वजनिक भयो भने परीक्षाफल प्रकाशित भएको एक महिना पछि मौका परीक्षा, त्यस पछि कक्षा १२ को परीक्षा, शिक्षा शास्त्र पढ्नेहरुको त्यही  विचमा पर्ने एक महिने टिचिङ् प्राक्टिस आदीले गर्दा विद्यार्थीलाई थप बोझ हुने छ । तर विद्यार्थीको यो दवाव प्रति बोर्ड संवेदनशील देखिँदैन । परीक्षा जस्तो संवेदनशील कुरालाई वेवास्ता गरेर बोर्डले परीक्षाका कर्मचारीलाई समेत चुनावमा खटाएको छ ।

बोर्डका सदस्य सचिव लक्ष्मिराम पौडेल सचिवमा बढुवा भएसँगै बोर्ड निमित्तको भरमा छ । दुर्गा अर्याललाई पौडेलले निमित्त दिएर विदा भएका छन् ।

यो आन्तरिक प्रशासनिक ब्यवस्थापनका कारण पनि नतिजामा प्रभाव परेको बोर्ड श्रोतको दावी छ । निमित्त सदस्य सचिवले कर्मचारी ब्यवस्थापनमा प्रभावकारी कार्य गर्न नसक्दाको प्रभाव नतिजामा परेको उक्त श्रोतको दावी छ ।

कर्मचारी चुनावमा खटिएकाले तत्काल नतिजा सार्वजनिक गर्न सक्ने अवस्था नभएको पनि उक्त श्रोतले जनाएको छ । तर बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतास जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्न बोर्ड प्रतिवद्ध रहेको औपचारिक उत्तर दिन्छन् ।

'हामी विद्यार्थीको भविष्य प्रति संवेदनशील छौं त्यसैले स्नातक पढ्ने विद्यार्थीलाई मर्का नपर्ने गरी आँशिकको मात्रै भए पनि चाँडै नै नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौं', नियन्त्रक बतासले भने

तर, चुनाव अघि नतिजा सार्वजनिक नहुने उक्त श्रोतले दावी गर्यो ।

'कर्मचारी जति चुनावमा खटिएका छन्, कसरी हुन्छ रिजल्ट ?' उक्त श्रोतले भन्यो, 'कार्यालयको नियमित कामलाई नै असर पार्ने गरी कर्मचारी खटाउनु हुन्थेन, तर विद्यार्थीको भविष्यसँग जोडिएको दिर्घकालिन प्रभाव तिर ध्यान दिने कसले ?'

बोर्डले नियन्त्रक सहित उपसचिव स्तरका सहित स्थायी कर्मचारी मध्ये ९० प्रतिशत कर्मचारीलाई चुनावमा खटाएको छ । नियन्त्रक बतास पनि नगरकोट स्थित चुनदेवी मावि मतदान केन्द्रमा खटिएका छन् ।

'म कहाँ खटिएँ भन्नुको अर्थ छैन' शुक्रबार विहान बोर्डमै भेटिएका नियन्त्रक बतासले भने 'हामी दिनभरी चुनावी कार्यमा सहभागी भएपनि साँझ विहान परीक्षाकै काममा संलग्न छौं, परीक्षाको टिम पनि आफ्नो काममा लागिरहेको छ ।'

स्थानीय तहको निर्वाचनका कारण पटक पटस मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

११ कक्षामा परीक्षामा दुई लाख ११ हजार ६ सय ८१ छात्र र दुई लाख ३७ हजार ३ सय ७३ छात्रा रहेका छन् ।

प्रतिक्रिया