Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षण सिकाइ सुधार्न २६ बुँदे निर्देशन, शिक्षकका हातमा निर्देशिका अनिवार्य

आइतबार, १७ मंसिर २०७४

रुकुम - शैक्षिक सुधारका लागि शिक्षकको हातमा पाठ्यक्रमको सफ्ट वा हार्ड कपी र शिक्षक निर्देशिका अनिवार्य रुपमा हुनु पर्ने लगायतका २६ बुँदे निर्देशन सहित मुसिकोट नगरपालिकामा शैक्षिक सुधार अभियान शुरु गरिएको छ । शिक्षा सेवातर्फबाट स्थानीय सरकारमा खटाइएका कर्मचारीले विद्यालयहरुको अनुगमन पश्चात उक्त निर्देशन जारी गरेका हुन् । संविधानले माध्यमिक तह सम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेको सन्दर्भमा उक्त ब्यवस्था कार्यान्वयन गर्न कार्य शुरु गरेको विद्यालय निरीक्षक बिनाराम खड्काले जानकारी दिए ।

'प्रारम्भिक चरणमा स्वीकृत पाठ्यक्रम अनिवार्य रुपमा कार्यान्वयन, विद्यालयको साथमा पाठ्यक्रमको हार्डकपी¸ शिक्षकको हातमा पाठ्यक्रमको सफ्ट वा हार्ड कपी र शिक्षक निर्देशिका अनिवार्य रुपमा हुनु पर्ने कुरा सम्बन्धित प्रधानाध्यापकज्यूहरु समक्ष सादर अनुरोध गरिएको छ' खड्काले भने 'विद्यालयको कक्षाकोठाबाटै शिक्षण सिकाइलाई सुधार गर्नको लागि पहिलो चरणमा प्रत्येक विद्यालयमा स्थलगत रुपमा अनुगमन¸ छलफल र सुझाव आदान प्रदान गर्नुपर्ने भएको हुंदा प्रधानाध्यापक र शिक्षकहरुलाई पुर्वतयारीको लागि अनुरोध गरिएको हो ।'

संघीयता कार्यान्वयन पछि जारी गरिएको स्थानीय सरकार सञ्चालन ऐन¸ २०७४ अनुसार नगरस्तरीय अल्पकालिन र दीर्घकालिन शैक्षिक योजना निर्माणको लागि कार्य थालनी गरेको खड्का सहित स्रोतव्यक्तिहरु घनश्याम बुढाथोकी र चिन्ताराम शर्माद्धारा सार्वजनिक गरिएको दस्तावेजमा उल्लेख छ ।

अनुगमनबाट प्राप्त तथ्य¸ तथ्याङ्क¸ नगरप्रमुख तथा नगरपालिकाको कार्यादेश र निर्वाचित जनप्रतिनिधिहरुको थप निर्देशन र आवश्यकताको आधारमा शिक्षासम्बन्धी नगरस्तरीय नीति र योजना निर्माण गरी पछिल्ला चरणहरुमा शैक्षिक व्यवस्थापन गर्न सहज हुने शैक्षिक स्थितिमा गुणात्मक र परिमाणात्मक सुधार गर्न हामी सक्षम हुने अपेक्षा गरिएको खड्काले बताए ।

विद्यालयहरुले दुरुस्त राख्नु पर्ने कुराहरु निम्नानुसार रहेको छ :

- स्वीकृत पाठ्यक्रम अनिवार्य रुपमा कार्यान्वयन । विद्यालयको साथमा पाठ्यक्रमको हार्डकपी¸ शिक्षकको हातमा पाठ्यक्रमको सफ्ट वा हार्ड कपी र शिक्षक निर्देशिका ।

- सबै विद्यार्थीलाई पाठ्यपुस्तकको उपलब्धता ।

- पाठ्यक्रम र पाठ्यभार अनुसार बार्षिक कार्यपात्रो¸ बार्षिक कार्ययोजना¸ एकाइ योजना र साप्ताहिक कार्यतालिका । पहिलो चरणमा कम्तिमा पनि बार्षिक कार्यपात्रो र साप्ताहिक कार्यतालिका निर्माण गरी त्यसको कार्यान्वयन ।

- चालु शैक्षिक सत्रमा के कति विषयमा के कति विषयवस्तु पठनपाठन भयो र कुनकुन विषयवस्तु¸ पाठ, पाठ्याङ्श बाँकी छन् सो को यथार्थ अद्यावधिक विवरण ।

- शैक्षणिक क्रियाकलाप अनुकूल हुनेगरी कक्षाकोठा र विद्यार्थी बसाइको उपयुक्त व्यवस्थापन ।

- पाठ्यक्रमले तोके अनुसार निर्णयात्मक¸ निर्माणात्मक तथा निरन्तर विद्यार्थी मूल्याङ्कनका अभिलेखहरु ।

- शिक्षण गर्दा पूर्व तयारीकासाथ विषयवस्तु अनुसार उपयुक्त शिक्षण विधि र शैक्षिक सामग्रीको प्रयोग ।

- पाठ्यक्रम अनुसार अतिरिक्त र सिर्जनात्मक क्रियाकलाप संचालन ।

- थप उपचारात्मक शिक्षण गर्नुपर्ने विद्यार्थीहरुको पहिचान र कार्यान्वयन ।

- शिक्षाको राष्ट्रिय उद्धेश्य¸ तहगत सक्षमता¸ विषयगत सिकाइ उपलब्धी र तिनको प्राप्तीको अवस्था ।

- शिक्षक कर्मचारीहरुको नियमितता¸ हाजिरी र विदा । अनुपस्थित शिक्षक कर्मचारीको विदा स्वीकृत । सबै शिक्षक कर्मचारीको अभिलेख अद्यावधिक गरिएको व्यक्तिगत फाइल ।

- शिक्षा ऐन¸ नियमावली अनुसार अनिवार्य रुपमा विव्यस र शिअसंको गठन भई २ महिनामा कम्तीमा १ पटक समिति र आमन्त्रित सदस्यको अनिवार्य उपस्थितिमा बैठक बसी शैक्षिक विकाससम्बन्धी छलफल¸ निर्णय र कार्यान्वयन ।

- नियमानुसार लिन पाउने शुल्कको दर आधिकारीक निकायबाट स्वीकृत गराएको । विद्यार्थीबाट लिइएको शुल्कबाट गरिएको खर्चको यथार्थ विवरण ।

- विद्यालयको लेखापरिक्षण¸ सामाजिक परिक्षण ।

- विद्यार्थी प्रोत्साहनको लागि दिइने छात्रबृत्ति आधिकारीक रुपमा निर्णय गराएर उपलब्ध गराएको ।

- अभिभावक¸ शिक्षक र विद्यार्थी आचारसंहिता निर्माण र कार्यान्वयन ।

-  विद्यालयभित्र जिम्मेवारी बाँडफाँड र तिनको कार्यान्वयन ।

- विद्यालयले शैक्षिक विकासको लागि कुनै रचनात्मक तथा सृजनात्क काम गरेको भए त्यसको विवरण ।

- विद्यालयको चल¸ अचल सम्पत्ती जे जस्तो अवस्थामा छ दुरुस्त ।

- जिशिका तथा अन्य निकायबाट विद्यालय भौतिक सुविधा विस्तारतर्फ लिइएका कार्यक्रमहरु नियमानुसार सम्पन्न ।

- जिशिका तथा अन्य निकायबाट कम्प्युटर ल्याव¸ पुस्तकालय निर्माण लगायत अन्य कुनै शीर्षकमा लिइएका अनुदानहरु तोकिएकै शीर्षकमा प्रयोग ।

- विद्यालयका सकारात्मक पक्ष¸ चुनौतीहरु¸ समस्या र समाधानका उपाय समेटिएको कार्ययोजना ।

- विद्यालयका समग्र अभिलेखहरु व्यवस्थित ।

- यस अघि भएका अनुगमन¸ निरीक्षण सुपरभिजन¸ तिनका सुझाव र कार्यान्वय ।

- जिशिका तथा नगरपालिकाबाट दिइएका निर्देशनहरु र तिनको कार्यान्वयनको अवस्था ।

- शिक्षा ऐन¸ नियमावली तथा शिक्षासम्बन्धी अन्य प्रचलित कानूनको पूर्णत: परिपालना ।

प्रतिक्रिया