Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

विद्यालयमा उत्सव

विहीबार, २१ मंसिर २०७४

काठमाडौं - निर्वाचनका लागि अधिकाँश मतदान केन्द्र विद्यालयमै निर्धारण गरिएको छ । विद्यालयमा मतदान केन्द्र हुनु हुन्थ्यो हुन्नथ्यो भन्ने बारेमा बहस जारी छ । यो बहसलाई एकै छिन भूमध्य रेखामा राखेर स्मरण गर्नु पर्ने कुरा के हो भने गाउँ घरका लागि विद्यालय सार्वजनिक स्थल हुन् । यति मात्रै हैन फराकिलो स्थानको एक मात्र बिकल्प हुन् तिनै विद्यायका चौर ।

विद्यालय स्थापना गर्दैका बखत वरपरका गाउँ बस्तिबाट सबैलाई पायक पर्ने स्थान रोजिएको हुँदा दुरीका हिसावले पनि सबैलाई सहज हुन्छ । विद्यालय भन्नासाथ खुल्ला वातावरण र सुरक्षित स्थान पनि हो । अधिकाँश गाउँ घरमा सार्वजनिक भवन र सुरक्षित स्थान भनेको विद्यालय नै हो । तिनै चौरमा बिहीबार प्रजातान्त्रिक प्रकृया अर्थात् निर्वाचनका माध्यमबाट राज्य सञ्चालनको भाग्य र भविष्यको फैसला हुँदै छ । देशको मुल कानून निर्माण गर्ने र प्रदेश स्तरको राज्य सञ्चालन गर्ने प्रतिनिधि विद्यालयकै चौरबाट छानिदैं छन् ।

निर्वाचन भनेकोे एक उत्सव पनि हो । समाजको सबै बर्ग, क्षेत्र र समुदायको सहभागिताले मात्रै उक्त उत्सवको सार्थकता हुन्छ । देशका ४५ जिल्लामा बिहीबार जारी संघ र प्रदेश निर्वाचनको त्यो उत्सव विद्यालयहरुमा भईरहेको छ । निर्वाचनका कारण विद्यार्थीको विथोलिएको पढाई पछि हुने अन्य विदाबाट समायोजन गर्ने गरी ब्यवस्था गरिएको छ ।

त्यसैले आउँदा दिनमा हुने पठन पाठनमा उक्त क्षतीको पूर्ति गर्न विद्यालय प्रशासन र शिक्षक दत्त चित्त हुनु आवश्यक छ ।

निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट गर्दै गर्दा कुनै विवाद र आक्रोशले विद्यालयका भौतिक संरचनामा क्षती पुगेको खण्डमा, उत्सवमा नराम्रो दाग हुने छ । त्यस्तो अवस्था आउन नदिन र कथंकदाचित कुनै भवितब्य परेर क्षती भए तत्काल त्यसको पूर्ति गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यान जानु जरुरी हुन्छ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

दोश्रो चरणमा बिहीबार प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मतदान भइरहेको छ । प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान भइरहेको छ । प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ । प्रदेश नं. ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।

यस अघि पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भइसकेको छ ।  

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान भएको थियो । पहिलो चरणमा प्रदेशसभातर्फ भने ७४ निर्वाचन क्षेत्र थिए ।

७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।

०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ (केन्द्र), प्रदेश र स्थानीय गरी तीन तह छन् । ०५९ असार यता जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा पनि यही वर्ष निर्वाचन सम्पन्न भइसकेको छ । पुनसंरचनापछिको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेका छन् ।

जसलाई माध्यमिक तह सम्मको शिक्षा सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी छ ।

फोटो : यूपी लामिछाने

प्रतिक्रिया