Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

को हुन् शिक्षामन्त्री गोपालमानलाई पराजित गर्ने पद्‍मा ?

बुधबार, २७ मंसिर २०७४

काठमाडौं २७ मंसिर / जब परिवारका सबै सदस्य निदाउँथे तब पद्‍मा अर्याल जागा हुन्थिन्। मध्यरातमा घरको बाहिरी भर्याङ प्रयोग गरेर बिरालाको चालमा करेसाबारीमा पुग्थिन् र पार्टीका छलफल र गोष्ठीमा सहभागी हुन्थिन्। स्याङ्जा जिल्लामा चर्चित तर केन्द्रमा गुमनाम पद्‍मा अर्यालको चर्चा अब केन्द्रमै सुरु भएको छ। कांग्रेसका पुराना नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई स्याङ्जा क्षेत्र नम्बर २ मा तीन हजार सात सय ५ मतले हराएपछि उनको चर्चा केन्द्रीय राजनीतिमै सुरु भएको छ।

१२ वर्षको उमेरमा कम्युनिस्ट राजनीतिबाट प्रभावित भएकी पद्‍मा एमालेकी पहिलो निर्वाचित जिल्ला अध्यक्ष हुन्। घर-गाउँमा हुने राजनीतिक कार्यक्रममा पद्‍मा मध्यरातमा सबै सुतिसकेपछि जान्थिन्। २०३६ सालतिर कम्युनिस्ट राजनीतिक दलका अधिकांश गतिविधि राति हुन्थे। परिवारका सबै सदस्य निदाएपछि उनी जागा हुन्थिन्। मध्यरातमा घरको बाहिरी भर्याङ प्रयोग गरेर बिरालाको चालमा करेसाबारीमा पुग्थिन्। मध्यरातमा कार्यक्रममा गएको सम्झँदै भन्छिन्, ‘नजिकको कार्यक्रममा जानुपरेमा घरमा सबै निदाइसकेपछि राति-राति जान्थेँ। घरमा म एक्लै सुतेकी हुन्थेँ। घरको माथिल्लो तलामा एउटा कोठामा किताब राख्ने र पढ्ने गर्थें। त्यहाँ भर्याङ थियो, त्यहीँबाट बाहिर जान सजिलो हुन्थ्यो। साँझ सबै खाना खाएर सुतेपछि कहाँ कार्यक्रम छ त्यहाँ पुगिहाल्थेँ।’

पद्‍मा मध्यरातमा पार्टी कार्यक्रममा गएर अरू नउठ्दै घरमा आइपुगेकी हुन्थिन्। ‘करेसाबारीबाट भागेर राजनीतिक कार्यक्रममा जान्थेँ। अरू उठ्ने बेलामा फेरि ओछ्यानमा आएर सुतिसकेकी हुन्थेँ। ठूलो चुनौती मोलेर स्थानीयस्तरमा हुने सबै कार्यक्रममा उपस्थित भएरै छाड्थेँ,’ पद्‍माले विद्यार्थी जीवनबाटै अर्धभूमिगत शैलीमा राजनीति गरेको सम्झिइन्।

त्यो बेला उनलाई कसैले थाहा पाए मार्छन् भन्ने डरथियो। तर, मर्ने डरले उनले मध्यरातमा हुने राजनीतिक कार्यक्रमका कहिल्यै छोडिनन्।
मध्यरातमा उनको मनमा एउटै मात्र कुरा खेल्थ्यो, ‘परिवारका सदस्यले देखे मार्छन्।’

राजनीतिक यात्राका भूमिगत रात सम्झँदै पद्‍मा भन्छिन्, ‘मध्यरातमा बाहिर निस्किएको र बाहिरबाट आउँदै गरेको कसैले देख्यो भने त्यो बेला पक्कै पनि राम्रो मान्ने थिएनन्। कहाँ गएर आएकी भन्दा मैले जवाफ दिन सक्ने अवस्था पनि थिएन। परिवारले गलतखालको सोचाइ राख्छ भन्ने डर साह्रै लाग्थ्यो।’पद्‍मालाई स्याङ्जा जिल्लाको थुमपोखरा गाविसको जनसेवा निम्नमाध्यमिक विद्यालयमा पढ्नेक्रममा प्रधानपञ्चलाई ढ्याङ्ग्रो ठोकेर गाउँ घुमाएको घटनाले कम्युनिस्ट राजनीति गर्न प्रेरित गरेको हो।

आफू कम्युनिस्ट राजनीतिमा लाग्नुको रहस्य खोल्दै पद्‍माले भनिन्, ‘भोकमरीपीडित जनताका लागि गाउँमा पुगेको चामल र गहुँ आफैँ खाने पूर्वपञ्चलाई गाविसबाट कालो मोसो लगाएर गाउँमा ढ्याङ्ग्रो ठोक्दै झन्डै एक घन्टाको बाटो हिँडाएर नदी तारेर पठाइदिए’, किन यसो गरियो भनेर चासो राख्दा गाउँकै कसैले उनलाई जवाफ दिए, ‘जनताविरोधीलाई कम्युनिस्टले यस्तै गर्छन्।’ पूर्वपञ्चलाई ढ्याङ्ग्रो ठोकेर नदी तार्ने काम तत्कालीन माले पार्टीको नेतृत्वमा भएको थियो।
‘यो दृश्य देखेपछि मेरो बालदिमागमा कम्युनिस्ट पार्टीले समाजमा विभेद र अत्याचार हुन नदिने रहेछ भन्ने कुरा गाडियो’, पद्माले भनिन्।

उनले २०३६ सालमा अनेरास्ववीयु पाँचौको सदस्यता लिएकी हुन्। त्यसपछि प्रारम्भिक कमिटिमा काम गर्दै उनले राजनीतिक यात्रालाई निरन्तरता दिइन्। २०४१ मा उनी अनेरास्ववियुको जिल्ला नेतृत्वमा पुगेकी थिइन्। पद्‍मा थुमपोखरा गाविस जनसेवा निम्ममाध्यमिक विद्यालयमा पढ्दै गर्दा अनेरास्ववियुु पाँचौँका गतिविधि हुन्थे। ती गतिविधिबाट प्रभावित भएर उनले पाँचौँको सदस्य लिएर काम गर्न थालेकी हुन्। त्यो समयमा विद्यालयमै राजनीतिक दलका कमिटी गठन हुन्थे।

‘पिस्कर काण्ड’ विरुद्ध पहिलो भाषण

पद्‍माले पहिलोपटक सार्वजनिक भाषण पिस्कर काण्डविरुद्ध गरेकी थिइन्। ‘२०४० सालको ‘पिस्कर काण्ड’ मेरो राजनीतिक यात्राको अर्को महत्वपूर्ण घटना हो।’ माघ १, २०४० सालमा सिन्धुपाल्चोकको पिस्कर भन्ने ठाउँमा एउटा जनवादी सांस्कृतिक कार्यक्रममा पञ्चायती शासकले क्रुर दमन गरेका थिए।

पञ्चायती शासकले जनवादी कार्यक्रमलाई निस्तेज पार्न जनतामाथि गोली ठोक्दा दुई सर्वसाधारण (इली थामी र वीरबहादुर थामी) मारिएका थिए।
उक्त घटनाविरुद्ध तत्कालीन माले पार्टीले देशव्यापी आन्दोलन गरेको थियो। मालेको देशव्यापी विरोध कार्यक्रममध्ये स्याङ्जामा समेत कार्यक्रम हुँदा पञ्चायतविरुद्ध पद्‍माले पहिलो भाषण गरेकी थिइन्। पहिलो भाषण सम्झँदै पद्‍मा भन्छिन्, ‘तत्कालीन माले पार्टीका मान्छेले सिकाएर पहिलोपटक वक्ताका रूपमा बोल्न लगाए। त्यसभन्दा पहिला महिला अगाडि गएर बोलेको मैले देख्नसम्म पाएकी थिइनँ। एक महिला कार्यकर्ताले नै मलाई बोल्नुपर्छ भन्नुभएको थियो।’

यस्तै विभिन घटनाक्रमले पद्‍मालाई पञ्चायतविरोधी बनायो। समाजमा सामन्त र फटाहा भनेका पञ्चहरू नै हुने रहेछन् भन्ने कुरा दिमागमा गाडिएको पद्‍मा सम्झिन्छिन्। भन्छिन्, ‘पञ्चले ठीक गर्ने रहेनछन्। यसको विरोध कम्युनिस्ट पार्टीले गर्ने रहेछन्। कम्युनिस्ट पार्टीले जनतालाई न्याय दिने रहेछ भन्ने प्रस्ट भएर म कम्युनिस्ट राजनीतिमा सक्रिय भएँ।’

घरमा ढाँटेर राजनीतिकमा

पद्‍मालाई घरपरिवारले राजनीतिमा लाग्न कहिल्यै प्रेरणा दिएन। गाउँलेले छोरी राजनीतिमा लागेको कुरालाई थपघट गरेर घरमा सुनाउने गरेकाले आमाले उनलाई पटक-पटक राजनीति नगर्न आग्रह गर्थिन्। तर, पद्‍मा खराब काम गर्दिनँ भनेर बाआमालाई सम्झाउँथिन्। उनले सम्झाउँदासमेत बाआमाले विश्वास गरेनन्। कसै गर्दा विश्वास नगरेपछि पद्‍मा बाआमालाई ढाँटेरै पार्टी कार्यक्रम र काममा पुग्थिन्।

राजनीतिका प्रारम्भिक दिनमा पार्टीका टाढा-टाढा हुने कार्यक्रममा जानुपर्दाको संकट सम्झँदै पद्‍मा भन्छिन्, ‘बाआमालाई ढाँटेर नै पार्टीको काम गर्थें। टाढा-टाढा पार्टीको कार्यक्रममा जानु परे दिदी भेट्न अथवा अरू आफन्तकोमा जान्छु भनेर जान्थेँ। एक दिन आफन्तको घर जान्थेँ। एक दिन पार्टीको कार्यक्रमम जान्थेँ र बाआमालाई झुक्याउथेँ।’

राजनीति गर्दा स्कुल जान बन्देज

पद्‍माले जतिसुकै लुकाए पनि विस्तारै विस्तारले परिवारमा उनले राजनीति गरेको कुरा थाहा भयो। छोरीले राजनीति नगरोस् भनेर स्कुल जानसमेत बन्देज लगाइएको थियो। तर, उनले स्कुल नगए पनि राजनीति नछाड्ने अठोट अघि सारेपछि त्यो बन्देज लामो समय टिक्न सकेन।

पढाइ त्याग्न तयार भएको तर राजनीति नछाड्ने अडान लिएपछि पद्‍मालाई परिवारबाटै खेद्ने निर्णय भयो। परिवार छोड्न तयार भएको अडान लिएको सम्झदै पद्‍मा भन्छिन्, ‘पढाइबाट छुटाएपछि समेत राजनीति छाड्दिन भनेपछि अन्तिममा ‘परिवार छोड्ने कि राजनीति छोड्ने’ भन्ने छलफल चल्यो। म परिवारलाई छोड्न तयार छु, राजनीति छोड्न सक्दिनँ भनेपछि मेरो परिवार अब यसले केही मान्दिन भन्ने निष्कर्षमा पुग्यो।’यो अडानपछि पद्‍मासँग उनका बुबाआमा कहिल्यै खुशी भएनन्। ‘मसँग खुशी नभए पनि मलाई यातना दिने काम परिवारले कहिल्यै गरेनन्, उनले ति दिन सम्झदै भनिन्।

२०४६ मा पहिलोपटक गिरफ्तार

राजनीतिक यात्राक्रममा २०४३ मा स्थानीय निर्वाचनको समय थियो। पद्‍मा जनपक्षीय उम्मेदवारको पक्षमा लागेको भन्दै प्रहरीको खोजी सूचीमा परिन्। २०४६ को जनआन्दोलनमा गिरफ्तार भइन्। दुई महिनासम्म जेलमा बस्दा समाजमा भएको चर्चा सम्झँदै पद्‍मा भन्छिन्, ‘म जेलमा पर्दा अनेकखालका टिकाटिप्पणी भएछन्। म जेलमै भएका बेला बाआमालाई तेरी छोरी सडी, गली भनेर समाजका मान्छेले हेप्ने काम गरेछन्।’

समाजले परिवारमा देखाएको त्रासविपरीत पद्‍मा अबिरजात्रासाथ जेलबाट छुटेकी थिइन्। ‘जब दुई महिना जेल बसेर सबैको अबिरजात्राबीचमा गाउँमा उपस्थित भएँ, त्यतिबेला सबैले मलाई सम्मान गरे। म जेलबाट निस्किएकै दिनबाट मेरो परिवारले म राजनीतिमा लाग्दा पाएको सामाजिक यातनाका रूपमा महसुस गरेको पीडा उत्साहमा बदलियो। त्यसलगत्तै समाजको दृष्टिकोण पनि फेरियो।’

राजनीतिबाट छुटाउन विवाह प्रस्ताव

पद्‍मालाई परिवारले राजनीतिबाट अलग गराउन पटक-पटक विवाहको प्रस्तावसमेत गरेको थियो। ‘म राजनीतिमा अगाडि बढ्दै-बढ्दै गएँ। राजनीति नगरोस् भनेर पटक-पटक विवाहका प्रस्ताव आउने गरेका थिए। धेरै प्रस्ताव अस्वीकार गरेँ,’ उनले भनिन्। यसरी निराशाकै बीचमा राजनीति यात्रा अगाडि बढाएकी पद्‍माले २०४६ सालको आन्दोलनपछि राजनीतिमा कहिल्यै निराश हुनु परेन।

संविधानसभा सदस्य समेत रहेकी पद्‍मा भन्छिन्, ‘मेरै हस्ताक्षरको भरमा गणतन्त्र आयो।’ हामी त बन्दुकमार्फत् राज्यसत्ता परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्यसाथ राजनीतिमा लागेका हौँ। राजनीतिमा लागेकोमा कहिल्यै पनि निराश छैन।’

अन्नपूर्ण पोष्टमा दिनेश लुइटेलले लेखेका छन् ।

प्रतिक्रिया