Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

सार्वजनिक विद्यालयमा रंगिन किताब

विहीबार, २८ मंसिर २०७४

काठमाडौं २८ मंसिर / सार्वजनिक स्कुलका नानीहरूको सिकाइ उपलब्धि सुधार गर्न सरकारले सरकारी पाठ्यपुस्तक रंगिनमा छाप्ने निर्णय गरेको छ । शैक्षिक सत्र ०७५ देखि सार्वजनिक स्कुलका कक्षा १ देखि ५ सम्मका सबै नानीले चार रंगका किताब अध्ययन गर्न पाउनेछन् ।

अब नानीहरूले कालो केरा, कालो स्याउ,कालो घाँसलगायतका गलत कुरा सिक्नु पर्दैन । रंगिन पाठ्यपुस्तक बनेपछि नानीहरूले वास्तविक विषयवस्तुसँग परिचित हुनेछन् ।

यसअघि सार्वजनिक स्कुलका नानीहरू गलत विषयवस्तु सिक्ने भएकाले उनीहरूको सिकाइस्तरमा सुधार नभएको विज्ञको भनाइ छ । बानेश्वरमा रहेको रत्नराज्य स्कुलका प्रिन्सिपल गीता खरेलले साना नानीहरूको पाठ्यपुस्तक हालसम्म कालो र सेतो रंगका मात्र भएकाले वास्तविक ज्ञान हसिल गर्न नसकेको जनाइन् । यसले गर्दा नानीहरूको सिकाइ नै गलत बन्दै गएको उनको अनुभव छ ।

‘कक्षा १–५ सम्म गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक शिक्षा गरी पाँचवटै किताब कालो र सेतो रंगमा मात्र छपाइ भएकाले विद्यार्थीहरू वास्तविकताभन्दा निकै टाढा थिए,’ उनले अनुभव सुनाइन्, ‘कक्षामा शिक्षकले कालो केरा, कालो घाँस, कालो स्याउ, कालो गाई आदि विषयवस्तु नानीलाई किताब देखाएर सिकाउनुपर्ने बाध्यता थियो ।

अब नानीहरूलाई रंगित किताबले अकर्षित गर्ने र शिक्षकलाई पनि रंगिन किताब पाठ्य सामग्री हुने खरेलको दाबी छ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमीका अधिकृत श्रीहरि श्रेष्ठले कक्षा १–५ सम्मका प्रत्येक कक्षाका ५–५ वटै विषयको पाठ्यपुस्तक चार रंगमा आएपछि नानीहरूले राष्ट्रियता बुझ्न सक्ने जनाए । उनले विशेषगरी तराईका विद्यार्थीको मस्तिष्कमा राष्ट्रिय पक्षी डाँफे र राष्ट्रिय झन्डासमेत कालो र सेतो रंगको भएको छाप परिसकेको भ्रम चिर्न रंगिन पुस्तक सहायक हुने जनाए ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले निजी विद्यालयका नानीको सिकाइ उपलब्धि राम्रो हुनुमा रंगिन पाठ्यपुस्तकले पनि महŒवपूर्ण भूमिका खेलिरहेको बताउँदै उनले सार्वजनिक शिक्षा सुधार गर्न रंगिन पुस्तक आवश्यक रहेको जनाए ।

काप्रीले कक्षा १–५ सम्मको रंगिन पाठ्यपुस्तक छपाइका लागि यो वर्ष निजी प्रकाशन गृहहरूलाई जिम्मेवारी दिन आवेदन माग गरिसकिएको र २० संस्थाले आवेदन बुझाएको जनाए ।

उनले गत वर्ष १७ निजी प्रकाशन गृहहरूले कक्षा १–५ सम्मको पुस्तक छपाइ गरेको र सोही हाराहारीमा आगामी शैक्षिक सत्रका लागि समेत सूचीकृत गरिने बताए । ‘आगामी शैक्षिक सत्रका लागि कक्षा ५ सम्म सबै किताब रंगिनमा छाप्ने निर्णय भएकाले पैसाको टुंगो लगाउन छलफल भइरहेको छ,’ काप्रीले नागरिकसँग भने, ‘केही दिनमा टुंगिन्छ । छाप्नयोग्य निजी प्रकाशन गृहको सूचीकरण छिट्टै हुन्छ ।’

निजी प्रकाशन गृहहरू भने पैसाको विवादका कारण पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत हुन समय लागि रहेको प्रतिक्रिया दिएका छन् । निजी प्रकाशन गृहका प्रीतनिधि एवं मूल्य निर्धारण समितिका सदस्य दीपक भण्डारीले  सरकारले रंगिन पुस्तका लागि प्रति पृष्ठ ५० पैसा सिफारिस गरेको र निजी प्रकाशन गृहहरूले ५२ पैसाको अडानमा रहेकाले अलि समय लागेको बताए ।  
फागुन १ गतेदेखि कर्णालीका पाँच जिल्ला तथा मनाङ र मुस्ताङमा कक्षा सुरु हुने भएकाले उनले सरकारले छाप्न योग्य निजी प्रकासन गृहहरुको छिटो टुँगो लाउन दबाब दिए ।

विगत झै यो वर्ष पनि कक्षा १–  ५सम्मका पाठ्यपुस्तक निजी र कक्षा ६–१०सम्म जनक शिक्षाले छाप्ने सरकारी निर्णय भएको छ । कक्षा १–५सम्म ३४ लाख ५० हजार २३ विद्यार्थीकोलागि गत वर्ष १ करोड ७२ लाख  ५० हजार १ सय १५ थान किताब निजी प्रकासले छापेको थियो ।  ‘पोहोर हामीले कुल ६० करोडको किताब छापेकोमा १  करोड ४ लाख रुपिया बराबरको किताब थन्कियो,’भण्डारीले भने‘अब रंगिन किताब झनै महँगो हुन्छ । ’उनले आग्रह गरे‘सरकारले सही तथ्याँक उपलब्ध गराए किताब छाप्न सहज हुन्छ ।’

नागरिकमा प्रकाशित

प्रतिक्रिया