Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

शिक्षाका निकाय भएको सानोठिमीमा प्रदेश राजधानी प्रस्ताव

शुक्रबार, २९ मंसिर २०७४

काठमाडौं २९ मंसिर / शिक्षा विभाग लगायतका शिक्षा मन्त्रालय अन्र्तगतका निकाय भएको सानोठिमीमा प्रदेश राजधानी राख्ने बारे बहस शुरु भएको छ । माध्यमिक तह सम्म्को शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएसँगै शिक्षाका ती निकायहरुको काम स्थानीय तहमै ब्यवस्था भएकोले उक्त स्थानमा प्रदेश नम्बर ३ को राजधानी राख्न राजनीतिक दलका प्रतिनिधिहरुले छलफल शुरु गरेका छन् ।  

प्रदेश ३ को राजधानी प्रस्ताव शिर्षकमा कान्तिपुरमा प्रकाशित खबर अनुसार जिल्लाका सरोकारवालाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुरमै राख्न प्रस्ताव गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले प्रदेश केन्द्र जिल्लामै राख्ने दबाबस्वरूप राखेको बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्यहरू शशिजंग थापा, राजेन्द्रमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नगरपालिका प्रमुख/उपप्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिले भक्तपुरमा प्रदेश राजधानी राख्ने प्रस्ताव गरेको जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालले बताए ।

‘पर्याप्त जग्गा र भौतिक संरचनासहित उपयुक्त स्थान सानोठिमीस्थित शिक्षा विभाग रहेको छ,’ उनले भने, ‘सरोकारवालाको पहिलो प्रस्ताव शिक्षा विभाग नै हो ।’ बैठकमा नेमकिपाका प्रतिनिधि भने सहभागी थिएनन् । सानोठिमीबाहेक खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्रको करिब १ सय ८२ रोपनी, जगातीको इँटा टायल उद्योगको करिब २ सय ४७ रोपनी, सल्लाघारीको ९९ रोपनी जग्गा, करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको कृषि विकास बैंक तालिम केन्द्र बोडेमा पनि प्रदेशको केन्द्र बनाउन सकिने उनीहरूको सुझाव छ ।

भक्तपुर नै उपयुक्त स्थान भएकाले दबाबस्वरूपको सर्वदलीय बैठकमा सहभागी सबैको आवाज एउटै आएकाले प्रस्ताव पेस गरेको उनले बताए । करिब ६ सय ४६ रोपनी क्षेत्रफलको शिक्षाका केन्द्रीय कार्यालयहरूलाई ३ नम्बर प्रदेशको केन्द्रका रूपमा प्रयोग गर्न सकिने स्थानीय राजनीतिक दलहरूले सुझाव दिएका छन् । ‘राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रबाहेक अन्य कार्यालयको काम संविधानले नै स्थानीय सरकारलाई दिइसकेको छ,’ मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘खाली चौरमा प्रदेशका सबै मन्त्रालय बनाउन पर्याप्त हुनेछ ।’ सानोठिमीको जग्गा अपुग भए गठ्ठाघरको डोल क्षेत्र अधिग्रहण गर्न सकिने उनले बताए ।

सरकारले निर्वाचन सकिएलगत्तै प्रदेश राजधानी बनाउने उपयुक्त ठाउँ खोजी गरिरहेको छ । ३ नम्बर प्रदेशको १३ जिल्लालाई पायक पर्ने क्षेत्रको खोजी भइरहेको छ । भक्तपुर कांग्रेसले प्रदेश नम्बर ३ को केन्द्र भक्तपुरलाई बनाउन माग गर्दै बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मागपत्र पेस गरेको जिल्ला सभापति दुर्लभ थापाले बताए । ‘आम जनतालाई सुविधा पुग्न सक्ने र पर्याप्त खाली जग्गा एवं भौतिक संरचना भएकाले भक्तपुरमा केन्द्र बनाउन माग गर्दछौं,’ उनले भने ।

कान्तिपुरमा प्रकाशित खबर

प्रतिक्रिया