Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

डेस्क–बेन्च ३, विद्यार्थी ६३

शुक्रबार, २९ मंसिर २०७४

काठमाडौं २९ मंसिर / चितवनको कालिका नगरपालिका - ११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्ने गरेका छन् ।

पहिला यो विद्यालय कल्याण चौरमा थियो । त्यहाँ विद्यार्थी आउन छाडेपछि सबैलाई पायक पर्ने ठाउँ भन्दै रन्तेसमा सारिएको हो । कल्याण चौरमा पनि विद्यालय चलाइएको छ । चिसो सुरु भएकाले भुइँमा पढाउँदा चिसो लाग्ने विद्यालयका प्रधानाध्यापक दिनेश चेपाङले बताए । ‘डेक्सबेन्च नभएर सारै गाह्रो भएको छ,’ उनले भने, ‘किन्नका लागि विद्यालयको आर्थिक स्रोत छैन, त्यसैले थोरै डेक्सबेन्चमा विद्यार्थीले पालो लगाएर पढ्ने गरेका छन् ।’ शिशुदेखि कक्षा २ सम्मलाई एउटै कक्षाकोठामा राखिएको छ । त्यस्तै, कक्षा ३ र ४ लाई एक ठाउँमा राखेर पढाउने गरिएको छ ।

साना कक्षाका बालबालिकालाई गुन्द्री ओछयाएर राख्ने गरिएको छ । चितवन समाज जापानको ५ लाख सहयोगमा भवन बनाइएको हो । जग्गा ५ कठ्ठा छ । शिक्षक दरबन्दी २ जना छ । सहयोगी कार्यकर्ता एक जना छन् । ‘विद्यालय विकटमा छ, पढ्न आउने विद्यार्थीको संख्या बढ्दै गएको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर चेपाङले भने, ‘डेक्सबेन्च अभावमा विद्यार्थीलाई पढ्न समस्या भएको छ ।’

उनले समस्याका बारेमा नगरपालिकामा पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । शिशुमा १२, कक्षा १ मा १७, कक्षा २ मा १४, कक्षा ३ र ४ मा १०/१० जना विद्यार्थी छन् । ‘शिक्षा कार्यालयले शिक्षक मात्र पालेको छ,’ अध्यक्ष चेपाङले भने, ‘विद्यार्थीलाई डेक्सबेन्चमा राखेर पढाउन सकिएन ।’ उनले नयाँ भवन बने पनि ढलान गर्न नसक्दा त्यसै रहेको बताए । कक्षाकोठा अभावमा सबै विद्यार्थीलाई एकै ठाउँमा कोचेर राख्ने गरिएको छ ।

‘अर्को दुईकोठे भवन बनेर बसेको छ,’ प्रअ दिनेशले भने, ‘ढलान र टिपकार गर्न सकिएको छैन ।’ उनले शिक्षकसमेत थोरै हुँदा पढाउन समस्या हुने गरेको बताए । एकै ठाउँमा राखेर विद्यार्थीलाई पढाउँदा बुझैनन् । हल्ला बढी हुन्छ । खोला गाउँ, रन्तेस, क्रेइलिङ, विलिङ, धोर्तेसलगायत ठाउँदेखि बालबालिका पढ्न आउने

गरेका छन् । ‘हामीलाई अहिले ५० वटा डेक्सबेन्च चाहिएको छ,’ उनले भने, ‘नभएर सास्ती खेप्नुपरेको छ ।’

विद्यालयमा पढ्ने चेपाङ बालबालिका बढी छन् । समयमै सबै विद्यार्थी आउँदैनन् । टाढादेखि आउनुपर्ने भएकाले आउन समस्या हुने गरेको विद्यालयले जनायो । विद्यार्थी जाडोमा न्यानो लुगा लगाउन नपाउँदा नियमित रूपमा विद्यालय आउन मान्दैनन् । पोसाकसमेत छैन । जाडोमा काम्दै पढ्नुपर्ने बाध्यता बालबालिकालाई छ । जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरेले भने यस्तो समस्या थाहा नभएको बताए । ‘डेक्सबेन्च नभएर समस्या भएको बारे थाहा थिएन,’ उनले भने, ‘समस्याका बारेमा बुझेर डेक्सबेन्च उपलब्ध गराउन सकिनेछ ।’

कान्तिपुरमा विमल खतिवडाले लेखेका छन् ।

प्रतिक्रिया