Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

जिल्ला २, जिशिका एउटै

आइतबार, ०२ पुस २०७४

काठमाडौं २ पुस / पूर्व र पश्चिम रुकुम दुई जिल्ला हेर्न एउटा मात्रै जिल्ला शिक्षा कार्यालय तोकिएको छ । शिक्षा विभागको परिपत्रअनुसार पश्चिमका विद्यालयका साथै पूर्वका विद्यालय तथा शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमले नै गर्ने भएको हो ।

विभागले एउटा चिठी पठाएर दुवै जिल्लाको काम गर्नु भनेको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले बताए । ‘शिक्षा कार्यालयले हालसम्म पनि एउटै जिल्लाको हैसियतमा काम गरिरहेको थियो, विभागबाटै चिठी आएपछि झन् आधिकारिक रूपमै एकै जिल्लाका रूपमा दुवै जिल्लाको काम गर्नेछ,’ उनले भने ।

२०७२ असोजमा जारी संविधानमै साबिकको रुकुमलाई छुट्टाछुट्टै प्रदेश ५ र ६ मा राखिएको छ । संविधानकैव्यवस्थाअनुसार गत असोज १९ देखि रुकुम पूर्वले पनि आफ्नै तरिकाले काम सुरु गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, जिल्ला समन्वय समितिलगायत आधा दर्जनभन्दा बढी सरकारी कार्यालय सदरमुकाम रुकुमकोटमा स्थापना भइसकेका छन् । अन्य कार्यालय पनि स्थापना हुने तयारीमा रहेकामा शिक्षा विभागको निर्णयले अन्योल बनाएको हो । जिसस रुकुमपूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीले विभागको पछिल्लो निर्णयले आफूहरूलाई आश्चर्यमा पारेको बताए । देशभर कतै नभएको निर्णय रुकुमपूर्वका लागि मान्य नहुने उनले बताए । अरू सबै कार्यालयले जिल्लामा काम थालिसकेपछि पनि एउटा मात्रै कार्यालयले दुई जिल्लाबाट काम चलाउन खोज्नु गलत भएको उनको भनाइ छ । ‘यो हाम्रा लागि मान्य हुने कुरै हुँदैन,’ उनले भने, ‘जिल्ला प्रशासन, जिससलगायत अन्य सरकारी अड्डा जिल्लामै भइसक्दा विभागको पछिल्लो निर्णय संविधानविपरीत छ ।’

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षा कार्यालयले संघीय संरचनालाई अटेर गरिरहेको बताए । सम्पूर्ण व्यवस्था स्थानीय तहमा गइसक्दा पनि जिल्ला शिक्षा कार्यालयले १ जना पनि कर्मचारी स्थानीय तहमा नपठाएको उनको भनाइ छ । स्थानीय तहलाई माध्यमिक तहसम्मका सम्पूर्ण कामकाज गर्ने अधिकार संविधानले दिए पनि शिक्षाका तालुक निकायहरू मन्त्रालय, विभाग र शिक्षा कार्यालयले भने त्यो अधिकार छाड्न नमानिरहेको उनले गुनासो गरे । ‘संविधानमा भएको व्यवस्थाअनुसार काम गर्न नमान्नु भनेकै संविधानको उपहास गर्नु हो, शिक्षा विभागको रुकुमपूर्वको शिक्षासम्बन्धी सबै काम रुकुम पश्चिमबाट गराउने निर्णयप्रति हाम्रो आपत्ति छ,’ अध्यक्ष बुढाले भने । ३ स्थानीय तह रहेको रुकुम पूर्वमा १ सय १४ सरकारी विद्यालय छन् । त्यसमा सबैभन्दा बढी ४५ विद्यालय पुथागाउत्तरगंगा, ३६ भूमे र ३३ सरकारी विद्यालय सिस्ने गाउँपालिकामा छन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया