विद्यार्थी छैनन् इतिहास विभागमा


काठमाडौं २ पुस /  जमैका र अमेरिकामा काला जातिको छुट्टै राष्ट्रिय अस्तित्वका प्रवर्तक मार्कस कार्भेले भनेका छन्, ‘आफ्नो पुरानो इतिहास, उत्पत्ति र संस्कृतिका बारेमा जानकार नहुने मान्छे जराबिनाको रुखजस्तै हुन्छ ।’ उनको यो भनाइबाटै प्रस्ट हुन्छ कि इतिहास कति महत्वपूर्ण विषय हो ।

नेपालमा भने इतिहासका बारेमा अध्ययन हुने विषय नै आफै इतिहास हुने अवस्थामा पुगेको छ । पछिल्लो १० वर्षमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको संख्यामा आएको कमी र राज्यले यस विषयलाई गरिरहेको बेवास्ताले इतिहास विषय इतिहासमै सीमित हुने अवस्था देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रीय विभागको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा इतिहास पढ्ने विद्यार्थीको संख्या क्रमशः घटदै गएको छ । विसं २०६२ मा ३० जना विद्यार्थी भर्ना भएको विभागमा २०७२/०७३ सम्म आइपुग्दा २ जना विद्यार्थीमात्रै छन् । विभागको तथ्यांकअनुसार ०६३ मा केन्द्रीय विभागमा १२ जना विद्यार्थी भर्ना भएका थिए । त्यस्तै ०६४ मा १९ जना, ६५ मा ५१ जना हुँदै ६७ मा पुग्दा झरेर १६ जनामा सीमित भएको थियो ।

०६८ मा ११ जना विद्यार्थी भर्ना भएकामा ६९ मा विद्यार्थी निर्वाचनका कारण ९३ जना विद्यार्थी भर्ना भएका थिए । ७० मा ७ जनामात्र विद्यार्थी भर्ना भएकामा त्रिविमा सेमेस्टर प्रणाली सुरु भएपछि ०७१÷०७२ मा ६ जनामात्र विद्यार्थी भर्ना भएका थिए । हाल २ जना विद्यार्थीले इतिहास विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् । उनीहरू पनि नियमित कक्षामा आउँदैनन् ।

इतिहास पढ्ने विद्यार्थीको संख्या कम हुँदै शून्यमै झर्न लागेको अवस्थाप्रति इतिहासकै प्राध्यापकलाई समेत आश्चर्यमा पारेको छ । इतिहास विषयका प्राध्यापक डा. नारद भारद्वाजले यो रहस्य र चिन्ताको विषय भएको बताए । संसारभर इतिहासको महŒव बढिरहेका बेला नेपालमा इतिहास विषयप्रति विद्यार्थीको रुचि कम हुनु निकै नै चिन्ताको विषय भएको उनको भनाइ छ । ‘इतिहासको अध्ययनबिना उच्च शिक्षा पूर्ण हुँदैन तर नेपालमा यो विषयको अवस्था झन्झन् खस्कँदै गएको छ,’ उनले भने ।

त्रुटिपूर्ण शिक्षा नीति तथा इतिहासको महŒवलाई केन्द्रविन्दुमा राखेर पाठ्यक्रम नबन्दा र अस्पस्ट र अन्योलपूर्ण नीतिका कारण इतिहासप्रति विद्यार्थीको रुचि घट्दै गएको उनको भनाइ छ । इतिहास अध्ययन गर्नेको भविष्य सुनिश्चित नहुँदा पनि विद्यार्थीको आकर्षण घटेको भारद्वाजको निष्कर्ष छ ।  

अन्य मुलुकमा इतिहास विषय अध्ययनका लागि पर्याप्त पूर्वाधार हुने र इतिहासलाई अनुसन्धानसँग जोड्ने प्रचलन भए पनि नेपालमा त्यस्तो नरहेको उनको भनाइ छ । ‘हाम्रोमा अवसरमात्र होइन, अध्ययन गर्ने वातावरणसमेत छैन । त्यसैले इतिहासप्रति विद्यार्थीको रुचि कम हुँदै गइरहेको छ,’ भारद्वाजले भने ।

इतिहास पढ्ने विद्यार्थीलाई मात्र नभई पढाउने शिक्षकहरुलाई समेत उत्प्रेरणाका अभाव रहेको उनी बताउँछन् ।

इतिहास विषयका अर्का प्राध्यापक डा. घनस्याम भट्टराई राज्यलाई इतिहास पढेका मान्छेको महत्व थाहा नहुँदा समस्या भएको बताउँछन् । अन्य मुलुकमा इतिहासको अध्ययन गर्नहरुलाई राज्यले नै प्राथमिकतामा प्रचलन भएपनि नेपालमा राज्यकै वेवास्ताले इतिहास कमजोर हुँदै गएको भट्टराई बताउँछन् । इतिहास पढ्ने विद्यार्थीको अभावमा उक्त विषयका शिक्षकहरु समेत जिम्मेवार विहिन जस्तै भएका छन् ।

विद्यार्थी संख्या नभएपनि राज्यले हामीलाई अध्ययन अनुसन्धानमा खटाउनु पथ्र्याे तर त्यस्तो हुन सकिरहेको छैन,’ भट्टराइले भने । इतहास विषयका प्रोफेसरको विज्ञतालाई राज्यले सदुपयोग गर्न नसकेको उनको आरोप छ । उनी राज्यले प्रयोग गर्ने विज्ञहरु राजनीतिक दलको हतियार बन्न बाध्य भइरहेको बताए । राज्यले इतिहाससम्बन्धी अध्ययन अनुसन्धानहरु गैर सरकारी संस्थाहरुलाई जिम्मा लगाउने गरेका कारण आफैसँग रहेको विज्ञहरुको प्रयोग हुन नसकेको भट्टराइको आरोप छ । हाल दुई जनाले अध्ययन गरिरहेको इतिहास केन्द्रीय विभागमा १३ जना प्राध्यापक रहेका छन् । त्यसमध्य तीन जना अन्यत्रै काजमा खटिएकाले हाल विभागमा १० जना शिक्षक रहेका छन् ।

नागरिकमा वसन्त खड्काले लेखेका छन्