Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

शिक्षकलाई इन्ट्याग्रीटी आइडलको सम्मान

सोमबार, ०३ पुस २०७४

काठमाडौं - यस वर्षको इन्ट्याग्रीटी आइडलको उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् । सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले शुरु गरेको आइडल छनौट अन्र्तगत पंचदेव मावि मान्म कालिकोटका शिक्षक सबराज बम पनि अन्तिम पाँचमा परेका थिए ।

विद्यार्थीको सिकाइमा फरक शैली अपनाएका कारण बम अन्तिम पाँचमा छनौट भएका थिए ।

पढनुहोस् : कविताबाट गणित पढाउने शिक्षक उत्कृष्ट पाँचमा

मनोनयनमा परेका बम सहित जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग काठमाण्डौमा सहायक वन अधिकृतको रुपमा कार्यरत सवनम पाठक र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारीलाई इन्ट्याग्रीटी आइडलको सम्मान प्रदान गरियो ।

विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले विभिन्न मापदण्डका आधारमा प्रतिष्पर्धी मध्येबाट अन्तिम पाँचको छनौट गरेको थियो । अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त मतका आधारमा गरिएको आयोजकले जनाएको छ । यसबर्ष एसएमएस र वेभसाईटबाट गरी प्राप्त भएको ४१ हजार ४ मत मध्ये ३५ हजार १ सय ११ मत सदर भएको र सो मध्ये विजयी पौडेललाई सवैभन्दा बढि अर्थात् ९ हजार ९ सय ३० मत प्राप्त भएको आयोजकले जनाएको छ ।

उपाधी पाउन सफल पौडेलले कार्यक्षेत्रको भौगोलिक, सांस्कृतिक, आर्थिक अवस्था र समुदायको अध्ययन गरेर योजनाबद्ध ढंगले सेवा ग्राहिको हितमा काम गर्दै आएको आयोजकको दावी छ ।

पाँचै जनालाई प्रशंसापत्र र ट्रफी सहित सम्मान गरिएको थियो । विजेता तथा पाँचै जना आइडललाई बधाई तथा शुभकामना दिदै लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कर्मचारीले सदैब जनताको सेवक भएर काम गर्न आबश्यक रहेको बताए ।

आइडल सम्मान ग्रहण गर्दै विजेता शेषनारायण पौडेलले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि बेलायतका राजदुत रिचर्ड मोरिसले सरकारी कर्मचारीलाई आम नागरिकले सम्मान गर्ने यस अभियानमा उपस्थित हुन पाउँदा खुशि भएको बताए ।

जनताप्रति सरकारी अधिकारीलाई उत्तरदायी बनाउने ध्येयले सन् २०१४ देखि इन्ट्याग्रिटि आइडलको शुरुवात गरिएको थियो । नेपालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान, माली, दक्षिण अफ्रिका, नाइजेरिया लगायतका देशमा विस्तार भैसकेको छ । सन् २०१८ मा श्रीलकांमा पनि यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको आयोजक संस्था एकाउन्ट्याविलिटी ल्याबका प्रमुख नारायण अधिकारीले बताए । जनताका लागि राम्रो काम गर्ने कर्मचारी अझै पनि जनता माझ लुकेको र भ्रष्टहरु खुलेआम समाजमा हिंडिरहेको अवस्थामा कर्तव्यनिष्ठ इमान्दार कर्मचारीलाई जनताका माझ चिनाउनका लागि इन्ट्याग्रीटी आइडल कार्यक्रमको सुरुवात गरिएको उनले बताए ।

नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडलको सुरु गरेको हो । इन्ट्याग्रिटी आइडल २०१७ मा यस वर्ष १५ जनवरी २०१७ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको थियो । जस अन्र्तगत ७१ जिल्लाबाट १०२० वटा मनोनयन प्राप्त भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले उत्कृष्ट छनोट गरेको हो ।

प्रतिक्रिया