Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

शिक्षा पत्रकारद्धारा सरकारको ध्यानाकर्षण

बुधबार, १२ पुस २०७४

काठमाडौं - दुर्घटनामा परी निधन भएका पत्रकार तीर्र्थराज भुषालको दुर्घटनाको छानविन गर्न शिक्षा पत्रकार समूहले माग गरेको छ । गृहसचिव मोहनकृष्ण सापकोटा मार्फत् समूहले सरकारको ध्यानाकर्षण गरेको हो । समूहका तर्फबाट बुझाईएको ज्ञापन पत्र लिदैं गृह सचिव सापकोटाले प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे तत्काल विस्तृत जानकारी लिएर आवश्यक निर्देशन दिने प्रतिवद्धता ब्यक्त गरेको समूहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । समूहका कार्यसमिति सदस्य तथा नवलपुर एफ.एम. नवलपरासीका प्रवन्ध निर्देशक भुषालको गत मंसिर १४ गते भएको दुर्घटनामा परी उपचारकै क्रममा मंसिर २३ गते निधन भएको थियो ।

समाचार संकलन गरेर फर्कने क्रममा नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेका भुषालको  उपचार सुरुमा भरतपुर मेडिकल कलेजमा भएको थियो । त्यहाँ थप उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरमार्फत् ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । उपचार सम्भव नभएपछि भुषालको मङ्सिर २३ मा निधन भयो ।

मोटरसाइकल दुर्घटना भनिए पनि मोटरसाइकललाई ठक्कर दिएको कुनै पनि साधनको पहिचान नहुनु, भुषाल चढेको साधनमा सामान्य मात्रै क्षति देखिनु, पछाडी बसेको मान्छेलाई केही नहुनुले घटनाप्रति परिवारको आशंका रहेको समूहका अध्यक्ष दीपक दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीय प्रशासनले घटनाबारे छानविन गरिरहेको अवस्था रहँदारहँदै पनि परिवारले अनुसन्धानमा थप गति र तदारुकताको अपेक्षा गरेको सन्दर्भमा स्पष्ट छानविन गरी यकीन कारण बाहिर ल्याउने अवस्था बनाइदिन गृह मन्त्रालय मार्फत् सरकारको ध्यानाकर्षण गराएको समूहले जनाएको छ ।  

आवश्यकताको आधारमा छुट्टै छानविन समिति समेत बनाएर घटनाको यथार्थ बाहिर ल्याउन हामी जोडदार माग समेत गर्दछौ, समूहका महासचिव शेषकान्त पण्डितद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,  मन्त्रालयको सहयोगले घटनाबारे सूक्ष्म छानविन गरी यथार्थ विवरण सार्वजनिक हुनेछ भन्ने विश्वास समूहले लिएको छ ।

उक्त ज्ञापनपत्रको बोधार्थ पत्रकार आवद्ध विभिन्न संस्थाहरुलाई समेत दिईएको छ ।

प्रतिक्रिया