Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

समयमा पाठ्यपुस्तक नपुग्ने खतरा !

आइतबार, २३ पुस २०७४

काठमाडौं - शैक्षिक सत्र शुरु हुन पाँच साता मात्रै बाँकी रहँदा पनि पाठ्यक्रम विकास केन्द्रले कम्प्युटर रेडी कपी (सीआरसी) उपलब्ध नगराउँदा पाँच जिल्लामा समयमा पाठ्यपुस्तक नपुग्ने खतरा बढ्दै गएको छ । हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मनाङ् र मुस्ताङ्मा फाुगनबाट शैक्षिक सत्र शुरु हुन्छ ।

कक्षा १ देखि ५ सम्म पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको निजी प्रकाशकको अन्तिम सूचि केन्द्रले अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । यसले गर्दा ती क्षेत्रमा समयमा पाठ्यपुस्तक पुग्ने सम्भावना कम हुँदै गएको छ ।

माघ २० गते भित्र नेपालगञ्जमा पाठ्पुस्तक नपुर्याए कर्णाली क्षेत्रका विद्यार्थीका हातमा फागुन १ भित्र पाठ्यपुस्तक पुर्याउन समस्या हुने निजी प्रकाशकहरुले बताउँदै आएका छन् ।
समयमा काम नहुँदा छपाई ढिलो हुने भन्दै उनीहरुले केन्द्रको ध्यानाकर्षण गराउँदै आएको जनाएका छन् ।

'दिन सकिईसकेको छ, हामी ताकेता गर्दै छौं' पाठ्यपुस्तक अनुगमन समितिका सदस्य समेत रहेका निजी प्रकाशनका प्रतिनिधि दिपक भण्डारीले भने, 'राज्यले समयमा काम नसकेको अपजस हामीले बोक्नु पर्ने भएको छ ।'

तर केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले सोमबार निजी प्रकाशकलाई सीआरसी उपलब्ध गराउने तयारी गरेको बताए ।

'आज सम्म निवेदन दिने म्याद नै छ' उनले भने, 'उहाँहरुको निवेदन प्राप्त भएपछि भोली नै केन्द्रले छपाई सामग्री उपलब्ध गराउने गरी कार्य गरेका छौं ।'

विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने कुरामा कुनै ढिलाई नहुने उनको दावी छ ।

गत बर्ष सम्म कक्षा १ र दुईको पाठ्यपुस्तक रंगीन भए पनि यस बर्ष कक्षा ५ सम्मकै पाठ्यपुस्तक रंगीन छाप्ने यस अघिनै तय भईसकेको छ ।

गत बर्ष १९ निजी प्रकाशकलाई पाठ्यपुस्तकको छपाई जिम्मा दिईएको थियो ।

यो वर्ष ती क्षेत्रका लागि करिब ३ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । सरकारी तथ्यांकअनुसार यो वर्ष देशभर कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीका लगिा ३ करोड ५७ लाख ६७ हजार ७ सय २६ थाप पाठ्य पुस्तक आवश्यक पर्छ ।

निजीले कक्षा १ देखि ५ सम्म १ करोड ६५ लाख २८ हजार ७० थान पाठ्यपुस्तक छपाइ गर्नेे छ भने जनक शिक्षा सामग्री बेन्द्रले कक्षा ६ देखि १० सम्म १ करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पाठ्य पुस्तक छपाइ गर्ने केन्द्रले जनाएको छ ।

यी बाहेकका अन्य जिल्लामा भने वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ ।

प्रतिक्रिया