Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

चिसोको मारमा विद्यार्थी, विद्यालयहरु बन्द

सोमबार, २४ पुस २०७४

काठमाडौं - चिसोका कारण तराई क्षेत्रमा बढ्दो शीतलहरबाट जनजीवन कष्टकर हुँदै गएको छ । चिसोबाट सबै भन्दा धेरै बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा गम्भिर असर परेको छ । चिसोकै कारण तराई क्षेत्रमा २ दर्जन व्यक्तिको मृत्यु भईसकेको खबरहरु सार्वजनिक भएपनि गृह मन्त्रालयले यकिन तथ्याङक संकलन हुने क्रम जारी रहेको जनाएको छ । चिसोका कारण अहिले सम्म ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

चिसोबाट बच्न अधिकांश जिल्लामा विद्यालय बन्द गरिएका छन् । यस अघिनै विद्यालय बन्दको निर्णय गरिएका जिल्लाहरुका उक्त अवधि थप गरिएको छ भने, कतिपय जिल्लामा तत्काल विद्यालय बन्दको निर्णय गरिएको छ । चिसोबाट मारमा परेका विद्यार्थीलाई जोगाउन शिक्षा समितिको बैठकबाट बन्दको निर्णय गरिएको छ । गत सोमबारदेखि शुक्रबारसम्म विद्यालय बन्दको निर्णय गरिएको सिराहमा आइतबार बसेको शिक्षा समितिको बैठकले माघ १ गते सम्मका लागि जिल्लाभरका विद्यालय बन्दको निर्णय गरेको छ  ।

वीरगन्जमा चिसो बढेपछि आइतबारदेखि चार दिनका लागि विद्यालय बन्द गरिएका छन् । कैलालीमा पनि पुस मसान्तसम्म विद्यालय बन्द गरिएको छ ।

मोरङमा पनि सामुदायिक विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

जिल्ला शिक्षा समितिले सोमबार देखि लागू हुने गरी पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाका निजी विद्यालयमा सञ्चालन भइरहेको परीक्षा पछि गर्ने गरी तत्कालका लागि विद्यालय बन्द गर्ने भएका छन् ।

तराईदेखि भारतको दक्षिण र बंगलादेशसम्म बाक्लो खालको एउटै हुस्सु चक्काजस्तो बसेकाले हट्न समय लाग्ने मौसमविद्हरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा पनि तीन वर्षयताकै चिसो रेकर्ड भएको छ । उपत्यकामा अधिकाँश विद्यालयले जाडो विदा दिईसकेका छन् ।

पश्चिमी तेज हावाका कारण एक साता यता मौसम चिसिएर जाडो बढेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया