Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

चिकित्सा शिक्षामा सुधार चाहनेको चुनौती - हामीलाई पनि मानहानी मुद्धा लगाईयोस् !

मंगलबार, २५ पुस २०७४

काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध आन्दोलनरत डा. गोविन्द केसीका समर्थकले आफूहरुलाई पनि मानहानी मुद्धामा पक्रन अदालतलाई चुनौती दिएका छन् ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राता रात पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा विहानै देखी शुरु प्रदर्शनमा सहभागिहरुले उक्त चुनौती दिएका हुन् । उनीहरुले केसीको रिहाइ र सर्वोच्च अदालतको फैसला  खारेजीको माग गरेका छन् । प्रदर्शनका कारण सर्वोच्च अदालत वरपर सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

उक्त प्रदर्शनमा दलका नेताहरुको समेत सहभागिता छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, विवेकशील साझाका संयोजक रविन्द्र मिश्र लगायतका नेताहरु प्रदर्शनमा सहभागी छन् ।

थापाले केसीको गिरफ्तारी निन्दनीय भएको बताउँदै राजाको शासनकालमा आफूलाई पनि यस्तै प्रकृतीको मुद्धा लागेको स्मरण गरे । मर्यादित न्यायालय चाहिन्छ, न्यायालय स्वतन्त्र हुनु पर्छ भन्दा केसीलाई मानहानी लाग्छ भने न्यायालय स्वत्तन्त्रताको पक्षमा लाग्ने सबैलाई मानहानी लगाउन उनले पनि चुनौती दिए ।

केसीकै अनसन पश्चात हटेका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली भ्रष्ट भएको भन्दै राजीनामा माग सहित सोमबार अनसन शुरु गरेका थिए ।

पराजुलीलाई भ्रष्ट भनेर केसीले अदालतको अपहेलना गरेको भन्दै सोमबार दायर मुद्धामा सोमबारै सुनुवाई गर्दै सर्वोच्चले केसीलाई पक्राउ गरेर अदालतमा हाजिर गराउन प्रहरीलाई निर्देशन दिएको थियो । लगत्तै अनसन स्थलबाटै केसीलाई पक्राउ गरी सोमबार रातभरी केसीलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् ।

डा. केसी पक्राउमा मुख्य दलहरुले भने औपचारिक धारणा सार्वजनिक नगरेर 'गुप चुप' छन् । विवेकसिल साझा पार्टीले भने विज्ञप्ति जारी गरेर केसीको गिरफ्तारिको खबरले स्तब्ध भएको जनाएको छ । प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तिमा 'उच्च प्राथमिकताका साथ सम्बोधन गर्नु पर्ने स्वास्थ जस्तो संवेदनशिल र सार्वजनिक सरोकारको न्यायोचित मुद्दामा राज्य पक्षको आलटाल, अकर्मण्यता र विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्ति देखाएबाट यो दुर्भाग्यपूर्ण स्थिति सृजना भएको हो भन्ने विवेकशील साझा पार्टीको ठहर छ' उल्लेख छ ।

माईतीघरको प्रदर्शनमा सहभागी उक्त पार्टिका संयोजक मिश्रले डा. गोविन्द केसीले उठाएका सम्पूर्ण मागको छानबिन हुनुपर्ने माग राख्दै तत्काल रिहाई गर्न माग गरे ।

प्रतिक्रिया