Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षा आयोगको दोश्रो बैठक : ताली, गाली र गुनासो बारे चर्चा !

बुधबार, २६ पुस २०७४

काठमाडौं - उच्चस्तरीय शिक्षा आयोगको दोश्रो बैठकमा, आयोगले प्राप्त गरेका ताली, गाली र गुनासो बारे चर्चा भएको छ । बुधबार बसेको आयोगको दोश्रो बैठकमा काम गर्दा प्राप्त गरेका प्रतिकृयाका बारेमा छलफल भएको हो ।

प्रारम्भिक मस्यौदा सार्वजनिक गरेकोमा विज्ञ समूहको नियत माथि शङ्का पाएको बारेमा पनि बैठकमा चर्चा भएको छ । एक साता अघि निजी विद्यालय सञ्चालकहरुको छाता संगठनहरुले पत्रकार सम्मेलन गरेर शिक्षामा निजी लगानी प्रति आयोग अनुदार भएको आरोप लगाएको थियो । उक्त पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा आयोगको नाम उल्लेख नगरे पनि बोल्ने क्रममा निजी विद्यालयका सञ्चालकहरुले आयोगका पदाधिकारीलाई कथितको संज्ञा दिदैं आयोगको सिफारिस प्रति आपत्ति समेत जनाएका थिए ।

बुधबार बसेको आयोगको बैठकमा नियत माथि शङ्का पाएको विषय नीजि विद्यालय सञ्चालकहरुकै उक्त आपत्ति प्रति ईगिंत थियो ।

आयोगको हालसम्मको प्रगति सम्बन्धमा छलफल एवम् समीक्षा गर्न तथा विज्ञ समूहको कार्यमा आइपरेको द्विविधालाई सहजीकरण र गत पुस ४ गते  शिक्षा मन्त्री तथा आयोगका अध्यक्षलाई बुझाएको सिफारिसको मस्यौदाले औँल्याएका विषयवस्तु एवम् प्राप्त सुझाव तथा पृष्ठपोषणहरू बैठकका ऐजेण्डा थिए ।

बैठकमा उच्चस्तरीय आयोगको गत भदौ ३० गते बसेको पहिलो बैठकबाट गठित १५ सदस्यीय विज्ञ समूहले हाल सम्म गरेका कार्यहरुका बारेमा चर्चा गरिएको थियो । हालसम्म विज्ञ समूहको ४ वटा बैठक बसी यस अघि विभिन्न समयमा गठित शिक्षा आयोगहरूको प्रतिवेदनमा उल्लेख भएका सिफारिस एवम् सुझावहरूको तुलनात्मक तालिका तयार गरी अध्ययन गरिएको उक्त अवसरमा जानकारी गराईयो । यस विचमा विभिन्न पत्रपत्रिकामा प्रकाशित शिक्षा सम्बन्धी समाचार तथा विचार संकलन तथा विश्लेषण गरिएको, २०७२ बैशाख देखि हालसम्म प्रकाशित समाचार तथा विचारलाई विषयवस्तु अनुसार तुलनात्मक तालिका निर्माण गरी अध्ययन गरिएको पनि बैठकमा जानकारी गराईयो ।

सरोकारवालाहरूको सुझाव समेट्न बनाइएको प्रश्नावलीलाई गुगल फारामको सहयोगमा अनलाइन भर्न मिल्ने गरी विभिन्न वेबसाइट मार्फत सुझाव सङ्कलन भइरहेको पनि उक्त अवसरमा जानकारी गराईयो । यस विचमा हाल सम्मका सबै आवधिक योजनाहरू विश्लेषण गरी दीर्घकालीन सोच, उद्देश्य, रणनीति, कार्यनीति, प्रमुख कार्यक्रम र अपेक्षित उपलब्धि समावेश गरी तुलनात्मक तालिका निर्माण गरी अध्ययन गरिएको, २०७४ सालको प्रादेशिक र संघीय निर्वाचनमा मुख्य राजनीतिक दलहरूको घोषणापत्रमा शिक्षा क्षेत्रसँग सम्बन्धित पक्षहरू समेटी तुलनात्मक तालिकाको निर्माण एवम् अध्ययन गरिएको पनि उक्त अवसरमा जानकारी गराईयो । दक्षिण एसियाली देशहरूमा प्राविधिक तथा व्यावसायिक तालिम सम्बन्धी अभ्यास अध्ययन एवम् विश्लेषण गरिएको, विभिन्न शैक्षिक सूचकहरूको निर्धारण एवम् वर्तमान स्थितिको अध्ययन एवम् विश्लेषण गरिएको,गैर सरकारी संघसंस्थाको साझा सञ्जाल “शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल” (एनसीई) बाट उच्चस्तरीय शिक्षा आयोगलाई हस्तान्तरण गरिएको सुझाव प्रतिवेदन अध्ययन गरी औँल्याएका कुराहरूलाई समावेश गरिएको पनि बैठकमा जानकारी गराईयो ।

आयोगले समेट्नुपर्ने विभिन्न पक्षहरूमा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गरिरहेको पनि उक्त अवसरमा जानकारी गराईयो ।

मस्यौदा र यसमा समावेश गर्न बाँकी विषयहरूमा आयोगका पदाधिकारीको र अन्य सरोकारवालाको सुझाव लिने र सम्बोधन गर्ने काम बाँकी रहेको पनि बैठकमा जानकारी गराईयो ।  स्थानीय र प्रदेश सरकारको सुझाव लिने र सम्बोधन गर्ने तथा कार्यविधि र प्रकृया के कस्तो बनाउने भन्ने काम बाँकी रहेकोले आयोगलाई तोकिएको पाँच महिना भित्र कसरी काम गर्ने भन्ने चुनौती रहेको पनि उक्त अवसरमा चर्चा गरियो ।
गत भदौ १९ गते गठित आयोगको म्याद आगामी माघ १९ गते सकिने छ ।

प्रतिक्रिया