Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

झोलुङ्गे पुलले पढाइमा सहज

शनिबार, २९ पुस २०७४

काठमाडौं २९ पुस / वर्षातका बेला बबई नदीमा बाढी आउँदा र हिउँदमा पानी चिसो हुँदा सल्यानको कालिमाटी गाउँपालिका ७ हात्तीदमारका १५ वर्षीय वीरेन्द्र खत्रीलाई पढ्न जान निकै समस्या हुन्थ्यो । पानी घटेका बेला कम्मरमा चिन्ना बाँधेर जोखिम उठाउँदै विद्यालय जाने उनीसहितका बालबालिकालाई नदीमा पुल बनेपछि ठूलो राहत मिलेको छ ।

बबईमा झोलुङ्गे पुल बनेपछि उनी नियमित विद्यालय जान पाएका छन् । पुल बन्दा कम्मरमा चिन्ना बाँध्न र किताबकापी तथा कपडा राख्न प्लास्टिकको ड्रम बोक्नु नपर्ने उनले बताए । पुलका कारण हात्तीदमारका बालबालिका, काप्रेचौरवासी र कोहलपुर जाने ६ गाउँका बासिन्दालाई सहज भएको छ । आकाशमा कालो बादल देखिनासाथ विद्यालय जानबाट वञ्चित हुने बाध्यता अब भने अन्त्य भएको खत्रीले बताए ।

नदीपारि विद्यालय र वारि घर हुँदा पढ्न जानेलाई निकै समस्या भएको दम्दवाली जनता माविमा कक्षा ८ पढ्ने सुरेन्द्र दर्लामीले बताए । ‘गाउँमा मावि नहँुदा दम्दवालीको जनता माविको विकल्प छैन,’ उनले भने, ‘वर्षातमा नदी बढ्ने र हिउँदमा चिसो हुँदा विद्यालयमा नियमित हुने थिएन । वर्षाको समयमा नदीको किनारबाटै धेरैपटक घर फर्किनुपथ्र्यो । दुई महिना पढाइबाट वञ्चित विद्यार्थी पुल बनेपछि निकै खुसी छन् ।’ज्यानभन्दा किताब कसरी बचाउने भन्ने चिन्ताको अन्त्य भएको कक्षा १० की रिता ओलीले बताइन् । पुल बनेपछि बालबालिकामात्र होइन, आसपासका गाउँलेलाई पनि राहत मिलेको शिक्षक सुरेशकुमार गाहामगरले बताए ।

‘कोही बिरामी भए खलंगाभन्दा नेपालगन्ज लैजान समस्या थियो,’ उनले भने, ‘त्यसमा पनि बिरामी समयमै पुर्‍याउन नसक्दा बाटोमै ज्यान जाने खतरा थियो ।’ पुलबाट दैनिक सयभन्दा बढी आउजाउ गर्छन् । बबईमा २ सय २० मिटर लम्बाइको पुल बनेको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोकले १ करोड २० लाख लागतमा गत वर्ष पुल बनेको हो ।

कान्तिपुरबाट

प्रतिक्रिया