Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

कक्षा ११ को नतिजा सार्वजनिक, डी प्लस भन्दा तलकालाई ग्रेड वृद्धिको मौका

शनिबार, २९ पुस २०७४

भक्तपुर - परीक्षा भएको सात महिना पछि बल्ल राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गरिएको हो ।

नतिजा थाह पाउन बोर्डको वेभ साईट क्लिक गर्नुहोस् : http://www.neb.gov.np/results

ए प्लस देखि ई सम्मको नौ ग्रेडमा सार्वजनिक नतिजामा जिपीए समाबेश गरिएको छैन । परीक्षामा सहभागी ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी मध्ये ७४ जनाको परीक्षा रद्ध र १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ ।

नतिजा अनुसार डी प्लस वा सो भन्दा तलको ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिको मौका पाउने छन् ।
'कुनै एक विषयमा अनुपस्थित, डी प्लस वा सो भन्दा तलको ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्ने छन्' बोर्डले जनाएको छ । उक्त परीक्षा माघ २७ गते शनिबार गर्ने बोर्डले जनाएको छ । यसका लागि प्रति विद्यार्थी ६ सय रुपैंयाको भौचर भरी माघ १४ भित्र आवेदन फारम भर्नु पर्ने छ । दोब्बर दूतुर तिरेर माघ १८ गते सम्ममा फारम बुझाई सक्नु पर्ने छ । परीक्षाफलमा नाम थर विषय फरक लगायतका कुनै त्रुटि भएमा परीक्षार्थीले चैत मसान्त भित्र निवेदन दिन सक्ने छन् ।

ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्दा बोर्डमा निकै अलमल भएको थियो । नतिजा सार्वजनिक गर्ने जिम्मा पाएका संस्थाहरुलाई समेत प्राविधिक परिवर्तनका बारेमा बोर्डले समयमा जानकारी नदिदाँ विद्यार्थीले समयमा परीक्षाफल थाह पाउन कठिन हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

अपडेट :
राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ्मा  नतिजा त सार्वजनिक गर्यो तर उक्त प्राविधिक परिवर्तनका बारेमा समयमा जानकारी नगराउँदा विद्यार्थी र अभिभावकले नतिजा थाह पाउन नसकेर वेहोर्नु परेको हैरानी प्रति हामी दु:खी छौं - सम्पादक ।

प्रतिक्रिया