Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

जिशिअले घुस मागेको आरोप, शिक्षक सरुवा विवादले विद्यालयमा तालाबन्दी

बुधबार, ०३ माघ २०७४

कञ्चनपुर - महाकाली नगरपालिका स्थित महाकाली आदर्श माविमा शिक्षक सरुवा सम्बन्धी विवाद चर्किदा दुई साता देखि विद्यालयमा तालाबन्दी भएको छ । मावि तहमा विज्ञान शिक्षक नियुक्ति गर्न माग गर्दै अभिभावकले र सामाजिकको रिक्त दरबन्दीमा अंग्रेजी शिक्षक सरुवा गर्ने जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टको प्रयासको विरोध गर्दै राहत शिक्षक संघर्ष समिति महाकाली नगरपालिकाले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

सामाजिक विषयको खाली दरबन्दीमा जिशिअ भट्टले आफ्ना भतिजा नाता पर्ने लक्ष्मी माविमा कार्यरत अँग्रेजीका शिक्षक अम्बादत्त भट्टलाई ल्याउने प्रयास गरेपछि विवाद छताछुल्ल्ल भएको हो ।

विद्यालयका सामाजिक विषयका शिक्षक केशव दत्त भट्टको गत बर्ष माघ ९ गते निधन भएपछि उक्त पद रिक्त भएको थियो । विद्यालय ब्यवस्थापन समितिले सोही नगरपालिका स्थायी घर भई हाल महोत्तरीको औरही स्थित प्रसाद सिंह उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपकचन्द्र ओझालाई जिल्लान्तर सरुवा गर्न बैशाख १५ गते सरुवा सहमति दिएको थियो । ओझा कार्यरत विद्यालयको पत्र लगायत अन्य आवश्यक प्रकृया पुरा गरे पश्चात जिल्ला शिक्षा कार्यालय महोत्तरीका जिशिअ ठूलो बाबु दाहालले असार २२ गते ओझालाई जिल्लान्तर सरुवाका लागि सहमती दिएका थिए ।  

तर, जिशिअ भट्टले नातामा भाइ पर्ने एक जना स्थानीय नेता र तिनीहरुकै नातेदार पर्ने अर्का एक शिक्षक मार्फत मागेको चार लाख रुपैयाँ घुस दिन नसक्दा आफ्नो सरुवा रोकिएको ओझाले दावी गरेका छन् ।

'म निमावी शिक्षक कहाँबाट ल्याउँ चार लाख ?' ओझाले प्रश्न गर्दै भने 'दुवै विद्यालयले सहमती दिएकै हुन्, अन्य आवश्यक प्रकृया पुरा गरेकै हुँ, तर त्यत्रो ठूलो रकम बुझाउने हैसियत नहुँदा अन्तिममा आएर मेरो सरुवा नै रोकियो ।'

ओझाको सरुवा हुन लागेको उक्त रिक्त पदमा जिशिअ भट्टले आफ्ना भतिजा अम्बादत्त भट्टलाई ल्याउन खोजेको ओझाको दावी छ ।

ओझाले असार २३ गते सरुवा भई आउने र जाने विद्यालयको सहमति सहित जिशिका महोत्तरीको जिल्लान्तर सरुवा सहमति र आफु कार्यरत विद्यालय रहेको स्थानीय निकायको सिफारिस सहित जिशिका कञ्चनपुरमा निवेदन दर्ता गराएका थिए । तर असार २८ मा जिशिअ भट्टले  सरुवा सहमति बदर गराएको जिशिका श्रोतले जनाएको छ ।

घुस मागेको कुरा भित्रभित्रै फैलिएपछि  जिशिअले आफू जिल्लामा भईञ्जेल सम्म ओझाको सरुवा हुन नदिने भन्दै अड्डी कसेका श्रोतले जनाएको छ । त्यसैले उनले विद्यालयलाई दवाव दिएर पहिला दिएको सहमती रद्ध गर्न लगाएका उक्त श्रोतको दावी छ ।

जिशिअको दवाव पछि विद्यालय ब्यवस्थापन समितिले सो रिक्त दरबन्दी सामाजिक नभई अंग्रेजी भएको र उक्त विद्यालयलाई अंग्रेजी शिक्षकको आवश्यकता रहेको कारण देखाई दिपकचन्द्र ओझाको सरुवा सहमति बदर गरि अम्बादत्त भट्टलाई सरुवा भई आउन सहमति दिने अर्को निर्णय गरेको छ ।

उक्त घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको जिशिअ भट्टको दावी छ । आफूले घुस मागेको कुरा पुष्टि गर्न उनले चुनौती दिएका छन् । विद्यालयले कहिले को शिक्षक कहिले को शिक्षक भन्दै पटक पटक निर्णय बदलेर अन्यौल बनाएको उनको दावी छ ।

'म पनि भट्ट अम्बादत्त पनि भट्ट खोज्दै गयो भने नाता त पर्ला तर, यो विषयमा म अहिले थप कुरा केही बोल्दिन' जिशिअ भट्टले भने, 'छानविनका लागि समिति बनाउँदै छौं, के भएको हो र विद्यालयमा कुन शिक्षक आवश्यक हो भन्ने कुरा त्यसपछि मात्रै तय हुन्छ, अनी बोलौंला ।'

तर विद्यालयले गत बर्ष फागुन ९ गते निमावि सामाजिक विषयको दरबन्दी रिक्त भएको जानकारी जिल्ला शिक्षा कार्यालयमा गराई सकेको छ । सोही अनुसार जिल्ला शिक्षा कार्यालयले शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका शिक्षकहरुको नियुक्ति तथा पदस्थापनका लागि असार २३ मा प्रकाशित गरेको रिक्त विषय तथा विद्यालयहरुको सूचनामा समेत सो विद्यालयमा सामाजिक शिक्षक रिक्त उल्लेख छ । तर जिशिअ भट्टका भतिजालाई सरुवा गर्नकै लागि रातारात अंग्रेजी दरबन्दी रिक्त भएको निर्णय गराईएको श्रोतको दावी छ ।
बलियो राजनीतिक पकड भएका स्थानीय नेता र जिल्ला शिक्षा अधिकारीका भतिजा तथा उक्त विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन भट्टका मामा पर्ने अम्बालाई सरुवा गर्न यो सारा प्रपञ्च भएको स्थानीय एक अभिभावकले नाम नबताउने सर्तमा उल्लेख गरे ।

महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका अर्जुन भट्ट नगरपालिकाको शिक्षा हेर्ने सदस्य पनि हुन् । तर, उनले विद्यालयको विवाद समाधानका लागि कुनै पहल गरेका छैनन् । कसैलाई कार्यवहाक पनि दिएका छैनन् ।

सामाजिकका शिक्षक स्व. भट्टको दरबन्दी निमावि सामाजिक नै हुँदा हुँदै अहिले आएर जबरजस्ती सो दरबन्दी लार्ई अंग्रेजी बनाएर अम्बादत्त भट्टलाई ल्याउँदा विद्यालयमा हाल कार्यरत नीजीश्रोत शिक्षक मोहनदेव भट्ट विस्थापित हुने, निमावि अंग्रेजीका राहत शिक्षक हर्कदेव सेट्ठीको पेशागत हक हनन् हुने राहत शिक्षक संघर्ष समितिको दावी छ । राहत शिक्षकलाइ विभेद गरि विस्थापित गर्ने षड्यन्त्र गर्न लागेको भन्दै समितिले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

विद्यालयमा निमावि र मावि दुवै तहमा अंग्रेजी शिक्षक भएकोले अंग्रेजी शिक्षकको नभई मावि तहमा विज्ञान र निमावि तहमा सामाजिक शिक्षकको आवश्यकता छ ।

विद्यालयमा मावि विज्ञान शिक्षक खाली भएको तिन महिना भएको छ । आफुहरुले विज्ञान शिक्षक ल्याइदिन पटकपटक विद्यालय प्रशासनलाई आग्रह गरे पनि आज सम्म पनि कुनै सुनुवाई नभएको विद्यार्थी बताउँछन् ।

मावि तहमा विज्ञान शिक्षक नल्याएसम्म आफूहरुले गरेको तालाबन्दी नखुल्ने विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए । तालाबन्दी विद्यालय प्रशासनमा मात्र गरेकाले विद्यार्थीको पठनपाठनमा त्यसले कुनै असर नपारेको पनि उनले बताए ।

राहत शिक्षक संघर्ष समिति र अभिभावकहरु गरी दुइटा पक्षबाट तालाबन्दी भएको दुई साता भईसक्दा पनि ब्यवस्थापन समितिका अध्यक्ष भट्टले समितिको बैठक समेत नडाकेको भनेर आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया