Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

घर छाड्ने बेला

शनिबार, ०६ माघ २०७४

प्रभा खड्का पेशाले शिक्षिका हुन् । शिक्षाशास्त्र संकाय अन्तर्गत अंग्रेजी विषयमा स्नातकोत्तर उनी डेढ दशकदेखि कविता लेख्दै आएकी छन् । राजधानीको महाराजगन्जस्थित शिवपुरी स्कुलमा अध्यापनरत प्रभाको कविता यो साताको शिक्षा साहित्यमा :

घर छाड्ने बेला
किन रुन्छ एउटा बालक ?

ऊ चाहँदैन
त्यो कारखाना जान
जहाँ समवेदनाका तार चुँडालिन्छन्
जहाँ उसको व्यक्तित्वमाथि हावी हुन तम्तयार छन्
कलमका नीब
ईन्द्रियलाई भुत्ते बनाएर छाड्ने दाउमा हुन्छन्
किताबका ठेली
पराई अक्षरको ईरेजरले घोटीघोटी
मेटाईन्छ
प्रकृतिले दिएको ब्लू प्रिन्ट !

उसका आँसुका ढिक्काले बताई रहेछ
मन्जुर छैन ऊ
आफैँ ध्वस्त भएर
अरुकै लिपि
अरुकै लयमा
विलिन हुन !

ऊ चाहन्छ
साँच्चिकै बालक बन्न
एउटा जिउँदो जाग्दो मान्छे बन्न
उसलाई चाहिएको छ भावनाको तातो

उसको मस्तिष्कभरि जतनले छापिएको छ
पुर्खाको हजारौँ बर्ष पुरानो आविष्कार
शब्द शिल्पी हरुको नासो  !

ऊ अनुनय गर्छ
हार्दिकता सङग सम्बन्ध विच्छेद गराएर
बजारको रोबोट नबनाउन,
उसलाई पटक्कै मन छैन
आमाले सुनाएको लोरीको मिठास विर्सन
माटोसङग को पहिलो स्पर्श बिर्सन,

शब्दहरु शब्दमात्र हैनन
पुस्तापुस्ता जोड्ने पुल हुन
तिनैले त झङकृत गर्छन्
मानवीय उल्लास र विष्मय !
भाषा मार्फत श्वास फेर्छ सभ्यताले

सौन्दर्य मरेको जीवन त के को जीवन?

भनिरहनु पर्ला
घर छाड्ने बेला
किन रुन्छ एउटा बालक ?

प्रतिक्रिया