Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

विद्याकी देवीका रुपमा सरस्वतीको पूजा

सोमबार, ०८ माघ २०७४

काठमाडौं - विद्याकी देवीका रुपमा सरस्वतीको पूजा आराधना गरेर श्रीपञ्चमी पर्व मनाईएको छ । हिन्दु धर्मावलम्बीहरुले हरेक बर्ष  माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा आराधना गर्छन् । विशेष गरी विद्यालयहरुमा सरस्वतीको पुजा आराधना गरिन्छ । शिक्षक र विद्यार्थीले पुस्तक र कलमलाई सरस्वतीको प्रतीका रुपमा पुजा गर्छन् ।

वसन्त पञ्चमी समेत भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास गरिन्छ । यस दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई यसै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।

साहित्यकार, कलाकार, पत्रकार लगायत शब्द, कला र विद्याका साधकहरुले आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने चलन छ । सरस्वतीलाई तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा समेत आराधना गरिन्छ ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भनिएको हो ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

विद्यालय बाहेक देशभरका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी विद्यार्थीको घुइँचो लाग्छ ।

प्रतिक्रिया