Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

सेवा आयोगको पाठ्यक्रम परिमार्जनको तयारी

बुधबार, १० माघ २०७४

बाग्लुङ् - त्रिभुवन विश्वविद्यालयले सेवा आयोगको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरेको छ । सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले पाठ्यक्रम परिमार्जन गरी विधागत बनाउन लागेको जानकारी दिएका हुन् । धवलागिरी बहुमुखी क्याम्पसको पच्चपन्नौँ वार्षिक उत्सवको मूल समारोहमा सम्बोधन गर्दै शर्माले उक्त कुरा बताएका हुन् ।

‘अहिलेको सेवा आयोगको पाठ्यक्रमको विषयवस्तुमा स्नातकोत्तर तहको पाठ्यक्रम रहेको छ’ शर्माले भने, ‘तर आयोग विधागत पाठ्यक्रम तयार गर्ने तयारीमा रहेको छ ।’ उनले व्यवस्थापन संकायको फाइनाइन्स विषय हो भने त्यही विषयमै मात्र केन्द्रित भएर पाठ्यक्रम निमार्णको तयारी आयोगले गरिरहेको जानकारी दिए । पाठ्यक्रम मूल्याङ्कन लगायत अन्य प्राविधिक कुराहरु समेटिएको दोस्रो पत्र आवश्यक नभएको संकेत गर्दै उनले विधामा केन्द्रित भएर एउटै प्रश्नपत्र बनाउन लागेको पनि जानकारी दिए ।

फरक प्रसंगमा उनले राज्यले एउटा सेवा आयोगको सदस्य ६-६ महिनासम्म नियुक्ति नगरेर प्राज्ञिक अपराध गरेको आरोप पनि लगाए । नियमित विज्ञापनका सन्दर्भमा त्रिवि सेवा आयोग संवैधानिक भएको बताउँदै त्रिविको कार्यकारीले दरबन्दी नदिंदासम्म आयोगले विज्ञापन गर्न नसक्ने उनले जानकारी दिए । तथापि फास्ट ट्रयाकका लागि आफूहरुले पदाधिकारीहरुलाई दबाब दिएको उनको भनाइ थियो । आंशिक प्राध्यापकहरुको व्यवस्थापन हुनुपर्ने बताउँदै आंशिक प्राध्यापकहरुले नियमित सेवा आयोगको विज्ञापनका लागि दबाब दिनुपर्ने पनि बताए । सबै कुरा समाधानका लागि त्रिभुवन विश्वविद्यालयको पुर्नसंरचनानै आवश्यक पर्ने शर्माको दाबी थियो ।

सो अवसरमा बोल्दै धवलागिरी बहुमुखी क्याम्पस आंशिक प्राध्यापक संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले त्रिभुवन विश्वविद्यालयले नियमित विज्ञापन नगर्दा आफूहरु समस्या परेको बताउँदै नियमित विज्ञापन गरेर आफूहरुलाई फेल हुने अवसर प्रदान गर्न चुनौती दिएका थिए । उनको भनाइ थियो, ‘तपाईंहरु नियमित विज्ञापन गरेर हामीलाई तीन पटक फेल हुने अवसर किन दिनुहुन्न ? त्यसो भयो भने हामीहरु आफै बाहिरिन्छौं तर त्यो नगर्ने हो भने हाम्रो समस्या तत्काल समाधान हुनुपर्छ ।’

कार्यक्रममा बोल्ने अधिकांश विद्यार्थी नेताहरु, स्ववियु सभापति, सामाजिक व्यक्तित्वहरु, पूर्व क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु सबैले धवलागिरी क्याम्पसको आंशिक प्राध्यापकको समस्या समाधान नहुँदा क्याम्पसको अवस्था जर्जर बनेको बताएका थिए ।

क्याम्पसमा ४० जना पूर्णकालिन र ३६ जना आंशिक शिक्षकहरु कार्यरत छन् ।  समारोहमा सप्ताहव्यापी विभिन्न कार्यक्रममा विजयीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने क्याम्पसमा सेवारत प्राध्यापक कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।  

प्रतिक्रिया