Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

पढेर के हुन्छ ?

शनिबार, २० माघ २०७४

झापामा जन्मे हुर्केका कवि राजेन्द्र शलभ चलचित्र निर्देशक तथा टेलिभिजन प्रस्तोताका रुपमा पनि चर्चित छन् । कानून विषय अध्ययन गरेका* उनको उज्यालोको शर्त र कविताको रंग गरी दुई वटा कविता संग्रह प्रकाशित छन् । प्रज्ञाप्रतिष्ठानबाट २०४१ सालमा उत्कृष्ट अभिनेताको पुरस्कार पाएका उनै शलभको कविता यो साताको शिक्षा साहित्यमा :

बुधन चौधरीले फेरि मलाई सोध्यो–
“सर पढेर के हुन्छ ?”
झट्टै जवाफ पनि आएन
चुप लागेर पनि बस्न सकिनँ
र मैले भनेँ–
“पढ्यौ भने अरुले तिमीलाई ठग्न सक्दैनन्”
एक छिन केही सोचेर
हात जोड्दै भन्यो बुधनले–
“सर तपाइँलाई अरुले ठगेका छैनन् र?”
मैले बुधनलाई हेरिरहेँ
न झुठो बोल्न सकेँ न साँचो
र अहिले बुधनबाट भागेर
म यहाँ आइपुगेको छु
र तपाइँलाई सोध्दै छु– पढेर के हुन्छ ?
...
तपाइँको पढाइ
किताबमै सीमित रहनेछ
तपाइँको चेतना र विवेक
तपाइँको गिदीभित्रै बन्दी रहनेछ
तपाइँको पढाइ र चेतनामाथि
हैकम त सधैँ कुर्सीको नै चल्नेछ
“आ होस्” भनेर पन्छिउन्जेल
तपाइँको विवेक र पढाइको कुनै अर्थ छैन
तपाइँले चुपचाप अन्याय सहुन्जेल
तपाइँको चेतनाको पनि कुनै मूल्य हुने छैन
...
बरु बुधनले जस्तो
नपढेको भए पनि हुन्थ्यो
आफूप्रति इमानदार बन्न सकिन्थ्यो
र पढेलेखेका काँथरहरुलाई सोध्न सकिन्थ्यो
“सर पढेर के हुन्छ ?”

* सच्याईएको - सं.

प्रतिक्रिया