Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षकद्वारा सामुहिक राजिनामा

बुधबार, २४ माघ २०७४

मकवानपुर - बकैया गाउँपालिका वडा ६ मा रहेको जनस्थापित रत्न आधारभूत विद्यालय झोलखानीका शिक्षकहरुले तलब नपाएको भन्दै सामुहिक राजिनामा दिएका छन् । उनीहरुको राजिनामासंगै विद्यार्थीको पठन पाठनमा समस्या भएको छ ।

२०६३ सालमा स्थापित उक्त विद्यालयमा  निजी स्रोतबाट नियुक्त गरिएका ३ जना शिक्षकहरुले ८ महिना देखि तलब नपाएको भन्दै राजिनामा गरेका हुन् ।

५ कक्षा सम्म सञ्चालन भएको उक्त विद्यालयमा एक जना शिक्षकको मात्रै दरबन्दी छ । स्थायी दरबन्दीमा रहेका सुरेन्द्र मोक्तान विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

ती शिक्षकहरुले विगतमा सामुदायिक वनबाट प्राप्त हुने आर्थिक सहयोग तथा विभिन्न चन्दा संकलनबाट तलब खाँदै आएका थिए । अहिले भने कुनै पनि श्रोत नहुँदा समस्या भएको हो । विद्यालय स्थापना हुने तर शिक्षक नदिने गर्दा आफ्ना बालबालिकाको पठन पाठनमा समस्या भएको अभिभावक नरबहादुर स्यान्तानले गुनासो गरे ।

३५ छात्रा सहित ८१ जना विद्यार्थी पठन पाठन गर्ने उक्त विद्यालयलाई गाउँपालिका लगायत अन्य सरोकारवाला निकायले सहयोग गरे बालबालिकाले घरै नजिक पढ्न पाउने आशा गरेको उनले बताए ।

तर गाउँपालिकाका अध्यक्ष दामोदर खनालले चैत सम्म आफूहरुले आर्थिक सहयोग गर्ने कुनै सम्भावना नभएको बताए । आफू अहिले राष्ट्रिय सभाको चुनावका लागि काठमाडौंमा ब्यस्त भएको र चुनाव सकेर फर्कना साथ उक्त विषयमा थप छलफल गरी  निष्कर्ष निकाल्ने उनले प्रतिवद्धता जनाए ।

'८ महिना सम्म तलब नखाँदा काम गरिरहने तर २ महिना पनि कुर्न नसकेर २४ घण्टा समेत नदिई हतार हतार किन राजिनामा गर्नु परेको हो मैले बुझ्न सकेको छैन' उनले प्रश्न गरे 'शिक्षाका अधिकार स्थानीय तहमा ब्यवस्था त भएको छ, तर त्यो भन्दा अघि आवश्यक कार्यविधि निर्माण, साविकका निकायबाट हस्तान्तरण आदी प्रकृया पुरा नहुँदै हामीले कसरी काम गर्न सक्छौं ?'

प्रतिक्रिया