Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा राज्यमन्त्री स्थानीयको कब्जामा !

शुक्रबार, २६ माघ २०७४

काठमाडौं - नौविसे - काठमाडौं सडक खण्ड निर्माणको काम समयमा नसकेर आफूहरुले हैरानी पाएको भन्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले गृह जिल्ला जान लागेका  शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई अवरोध गरेका छन् ।

उक्त सडक खण्डको काममा भएको सुस्तताले आफूहरुले दैनिक समस्या बेहोर्नु पर्दा पनि सरकारले वास्ता नगरेको भन्दै स्थानीय बासिन्दाले नागढुङ्गामा प्रदर्शन गरिरहेको बेला त्यही बाटो भएर चितवन जान लागेका अधिकारी उनीहरुको कब्जामा परेका थिए ।  

'हामी दिनहुँ धुलो खाएर बस्नु पर्ने, सरकार चलाउँछु भन्नेहरु यही बाटोबाट हिँड्दा पनि काम किन भएन भनर चासो नदिने ?' एक जना स्थानीयले आक्रोशित हुँदै प्रश्न गरे 'हामीले पाएको दुखको वास्ता नगर्नेहरु यही बाटोमा धुलो उडाउँदै मोटरमा हुईँकिन सुहाउँछ ?'

स्थानीयले होहल्ला गर्दै मन्त्रीलाई अघि बढ्न नदिएपछि गाडीबाट ओर्लेर उनले स्थानीयको गुनासो सुने । हातमा घरेलु हतियार सहित जम्मा भएका स्थानीयको चर्को होहल्ला र प्रदर्शन हेर्दै उनले पनि जनताले दुख पाएको भन्दै चिन्ता ब्यक्त गरे ।  

'तपाईहरुले दु:ख पाउनु भएको छ, यसमा म पनि चिन्तित छु, यो काम जति सक्दो छिटो सक्न सबै मिलेर दवाव दिनु पर्छ' मन्त्रीले स्थानीयको चित्त बुझाउने प्रयास गर्दै भने, 'तत्कालका लागि पानि छर्केर भए पनि धुलो नउड्ने बनाउन पहल गर्छु ।'

लामो गलफत्ति पछि स्थानीयले उनको बाटो छाडेका थिए ।

'काम त सकिएन सकिएन पानी समेत नछर्केर धुलोले चौपट भएको रहेछ, त्यसकै विरोधमा उहाँहरुले बाटो ब्लक गर्नु भएको बेला म पुँगे, नगरपालिकाका मेयरलाई फोन गरेर पानी छर्कने ब्यवस्था गर्नु भनेको छु' स्थानीयको कब्जाबाट फुत्केर बाटो लागेका मन्त्री अधिकारीले एडुखबरसंग टेलिफोनमा भने, 'त्यति ठूलो घटना केही हैन, सामान्य कुरा भयो, म प्रति ब्यक्तिगत रुपमा उहाँहरुको आक्रोश हैन, उहाँहरुको पिडा बोलेको हो ।'

फाईल फोटो

प्रतिक्रिया