Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

अक्षरको आराधना

शनिबार, २७ माघ २०७४

निर्मोही व्यास, नेपाली साहित्यको कविता, कथा, उपन्यास र यात्रा संस्मरण विधाका मुर्धन्य हस्ति हुन् । यात्रा साहित्य साहित्यमै विद्यावारिधि गरेका उनी लामो समय शिक्षण पेशामा आवद्ध रहे ।

२००४ भदौ ९ मा बाराको कलैया भवानीपुरमा जन्मेका उनको खास नाम वेदव्यास न्यौपाने हो । जिवनको उर्वर समय तराईमा बसेर शिक्षण संगै साहित्य सृजना र साहित्यको जगेर्नामा कृयाशिल उनी ०६३ सालमा भएको मधेश आन्दोलनका कारण विक्षिप्त बनेर राजधानी सरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित संस्था मार्फत् साहित्यको जगेर्ना गरेका उनी आन्दोलनका नाममा देवकोटाको प्रतिमा फुटाएको घटनाले विक्षिप्त बनाए पछि तराई छाडेको बताउँछन् ।

आफू जन्मेकै समाजले अछुत र तुच्छ नजरले हेरेर पहाडियाहरूलाई एउटा अपराधीजस्तो व्यवहार गरेको महशुस भएपछि पुर्खाहरूले पाँच पुस्ता बिताएको जन्म भूमि फर्कन मन नलागेको उनले एक अन्र्तवार्तामा भनेका छन् । घरबार सिद्धिएको पिडामा  उनले कविता लेखे –

विरुवा त उखेलेमा पनि सर्छ जहाँ तहाँ
किन्तु वृक्ष उखेलेको सर्छ फेरि कठै कहाँ ।

उनै व्यासको कविता सग्रह, 'बग्दैबग्दैबाट' साभार कविता यो साताको शिक्षा साहित्यमा  :

अर्पी शिक्षणमा त्रिचालिस बिते बेदाग संवत्सर
घुम्दै फन्फन कोलको बयलझैँ धाएर देशान्तर
अर्थोपार्जनको उपाय कहिल्यै चर्को कुनै खोजिन
रम्दै यै ‘क...क...’ मै सदा भुलिरहेँ, अर्को कुनै रोजिन

के विद्यालय, के कलेज अथवा के विश्वविद्यालय
मेरा मावल, माइती, घर उनै सम्पूर्ण शिक्षालय
मात्रै अक्षरकै सदा गरिरहेँ आराधना–आरती
मेरो जीवन भन्नु ‘अक्षर’ यिनै, के थालनी ! के इति !

आँधी जत्ति चलोस्, झुकेन कहिल्यै यो स्वाभिमानी शिर
गर्मी जत्ति चढोस्, सुकेन कहिल्यै यो धैर्यको निर्झर
प्यारो जीवन–मार्गमा जतिसुकै आऊन् कि वा अक्कर
यात्रा यो अविराम नै चलिरह्यो झेल्दै सबै ठक्कर

मैले वैभवको अनन्त सपना कैल्यै कतै पालिन
मैले जीवनको कुनै क्षण पनि व्यर्थै कतै फालिन
यै सन्तुष्टिसँगै छु अर्पित सधैँ साहित्यको भक्तिमा
“आफ्ना अक्षरमा जुनीभरि स्वयं चाहन्छु मैं व्यक्तिन“

साँचेको मनले यही छ, तर खै पुग्ला नपुग्ला कुरा !
जे होला पछि, उक्लँदै छु अहिले बामे सरी टाकुरा
पोखूँ, पोखिरहूँ, अहर्निश उसै पोखी स्वयं रित्तिऊँ
मेरो प्राणपखेरु भुर्र नहुँदासम्मै म सिर्जीरहूँ !!!
०००
(“बग्दैबग्दै“) कवितासङ्ग्रह, २०७४, पृष्ठ ११४)

प्रतिक्रिया