Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

शैक्षिक हब बनाउने नगर योजना

आइतबार, २८ माघ २०७४

काठमाडौं २८ माघ / खोटाङको रूपाकोट मझुवागढी नगरपालिकालाई शैक्षिक हब बनाउन शिक्षा नियमावली जारी गरिएको छ । नगरपालिकाले शिक्षाविद्, प्राज्ञ, शिक्षासेवी, दलका नेता, शिक्षासँग सम्बद्ध पेसागत संगठनलगायतबाट प्राप्त सुझावका आधारमा नगरपालिकाभित्रका एक क्षेत्रमा सबै विषय अध्ययन तथा अध्यापनको व्यवस्थासहितको शैक्षिक संस्था रहने गरी शिक्षा नियमावली जारी गरेको हो । यो नगरपालिकामा १५ वडा छन्।

एउटै शैक्षिक केन्द्रमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन, चिकित्साशास्त्र, इन्जिनियरिङ, मानवशास्त्र, इतिहास, संस्कृति, अर्थशास्त्र, राजनीतिशास्त्रलगायत सबै विषय अध्ययन गर्ने व्यवस्थाका लागि शैक्षिक हब स्थापना गर्ने शिक्षा नियमावली जारी गरिएको रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए । नगरपालिकाभित्रका सबै विद्यार्थीलाई यही ठाउँमा रोजेका विषयमा गुणस्तरीय शिक्षा दिने व्यवस्था गर्दै अन्य नगर र जिल्लाका विद्यार्थीसमेत नगरपालिकामा भित्र्याउने लक्ष्यका साथ शैक्षिक हबको अवधारणा अघि सारिएको हो । शिक्षासँग सम्बन्धित संवैधानिक अधिकार र स्थानीय तह सञ्चालन ऐनको परिच्छेद ३ को दफा ११ ‘ज’ ले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले झन्डै महिना दिन लगाएर शैक्षिक मार्गदर्शनका रूपमा शिक्षा नियमावली जारी गरेको हो।

शिक्षक/शिक्षिकालाई निजामती कर्मचारीसरह सुत्केरी बिदा
रूपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका विद्यालयमा कार्यरत शिक्षक÷शिक्षिकालाई निजामती कर्मचारीसरह सुत्केरी बिदा दिने शिक्षा नियमावली जारी गरेको छ । नगरका शिक्षिकालाई निजामती कर्मचारीसरह ९८ दिन सुत्केरी बिदा तथा ५ हजार सुत्केरी खर्च प्रदान गर्ने नगर शिक्षा नियमावलीमा उल्लेख छ । शिक्षकलाई पनि १५ दिन सुत्केरी स्याहार बिदा दिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको सुत्केरीसम्बन्धी बिदा दुईजना बच्चा भएसम्म मात्र लागू हुने मेयर रिजालले बताए । ९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठनपाठन अवरुद्ध हुने स्थितिमा सट्टा शिक्षक राख्ने नगरपालिकाले जनाएको छ । लामो समयसम्म सुत्केरी बिदामा बसेका शिक्षिकाको सट्टामा राखिने शिक्षकका लागि नगरपालिकाले जगेडा शिक्षक कोषको व्यवस्था गर्ने शिक्षा नियमावलीमा छ।

नगरपालिकाले मावि तहका प्रधानाध्यापक बन्नका लागि शिक्षाशास्त्रमा एमएड उत्तिर्ण गरेको हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालय विकास प्रस्तावलाई आधार मानेर प्रअ नियुक्त गर्ने व्यवस्था कार्यान्वयन गर्नेगरी नगरपालिकाको शिक्षा नियमावली जारी गरिएको छ । विद्यालय समयमा शिक्षकले मद्यपान, धूमपान गरेर विद्यालय जान नपाउने, शिक्षकले कुनै पनि दलका कुनै पनि पदमा बस्न नपाउने शिक्षा नियमावलीमा उल्लेख छ । विद्यालय व्यवस्थापन समितिको नियन्त्रणमा नगरस्तरमा शिक्षक छनोट गर्ने, सामुदायिक विद्यालयमा क्रमशः अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्दै लैजाने, सिकाइलाई उपलब्धिमूलक बनाएर विद्यार्थीको व्यक्तित्व विकासका लागि खोजमूलक, परियोजनामूलक र प्रविधियुक्त पठनपाठनलाई प्रोत्साहित गर्ने, मावि तहका विद्यालयमा डिजिटल हाजिरको व्यस्था गर्नेलगायत बुँदा शिक्षा नियमावलीमा सम्मिलित छन्।

एक वडा एक शिक्षा समिति
केन्द्रीय सरकारको शिक्षा ऐन र नियमावलीमा नगर शिक्षा समितिमात्र रहने उल्लेख भए पनि रूपाकोट मझुवागढी नगरपालिकाले हरेक वडामा अधिकारसम्पन्न वडा शिक्षा समिति गठन गर्ने नियमावलीमा व्यवस्था गरेको छ । वडाका विद्यालय, शिक्षक, प्रअ र शिक्षाको समग्र गतिविधिका विषयमा सबैभन्दा बढी जानकारी वडा शिक्षा समितिलाई हुने भएकाले अधिकारसम्पन्न वडा शिक्षा समिति बनाउने शिक्षा नियमावली जारी गरिएको हो । सम्बन्धित वडाको शिक्षासम्बन्धी योजना बनाउनेदेखि शिक्षकलाई प्रोत्साहित गर्ने र दण्डसजायका लागि नगर शिक्षा समितिसमक्ष सिफारिस गर्ने काम, कर्तव्य र अधिकारसहितको वडा शिक्षा समिति बनाइने मेयर रिजालले बताए । रिजालले भने, ‘वडाको शिक्षा योजना निर्माणमा वडाकै शिक्षाप्रेमी, शिक्षक र अभिभावकको संलग्नता रहने भएकाले शिक्षा योजना राम्रो र कार्यान्वयनयोग्य बन्ने हाम्रो अपेक्षा छ ।’ सोही वडा शिक्षा समिति, व्यवस्थापन समिति र शिक्षा शाखाको मूल्यांकनका आधारमा हरेक वडामा आदर्श शिक्षक, आदर्श प्रअ र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने शिक्षा नियमावलीमा व्यवस्था गरिएको छ । नगरस्तरीय उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रअ र उत्कृष्ट विद्यालयलाई समेत पुरस्कारबाट प्रोत्साहित गर्ने योजना अघि सारिएको छ।

नगर शिक्षा नियमावलीमा नगरपालिका आफैले विद्यालय र कलेज सञ्चालन गर्ने उल्लेख गरिएको छ। ‘शैक्षिक गुणस्तर सुधारको सुरुवात आफैबाट गर्ने’ मान्यता स्थापित गर्नका लागि नगरभित्रका केही विद्यालय र कलेजलाई स्वामित्वमा लिएर गुणस्तरीय शिक्षाको व्यवस्था गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक विकास राईले बताए । ‘हामी गुणस्तरीय शिक्षाको कुरा गर्छौं । अब अरूले गरिदिएन भनेर गाली मात्र गर्ने होइन, हामी आफैले गर्नुपर्छ । आफैबाट सुरुवात गर्नुपर्छ भनेका छौं,’ राईले भने, ‘भएका विद्यालय र कलेजलाई नगरको स्वामित्वमा ल्याउने, व्यवस्थापन र सञ्चालनका काम आफै गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने काम नगरले गर्नेछ ।’

नागरिकबाट

प्रतिक्रिया