Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्रालयद्धारा उत्कृष्ट विद्यालय पुरस्कृत

आइतबार, २८ माघ २०७४

काठमाडौं - शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई राष्ट्रिय झण्डा अंकित ध्वजा सहित शिल्ड, प्रमाणपत्र तथा नगदबाट  पुरस्कृत गरेको छ । देशभरका ३० हजार सामुदायिक विद्यालय मध्येबाट ११ तथा ७ हजार निजी विद्यालयमध्ये ९ विद्यालय गरी उत्कृष्ट २० लाई मन्त्रालयले आईतबार एक कार्यक्रम गरी पुरस्कृत गरेको हो । पुरस्कृत विद्यालयहरुलाई शिक्षा मन्त्री गोपालमान श्रेष्ठले पुरस्कार प्रदान गरे ।

कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिक तर्फ बुटवलको कालिका मावि र निजी तर्फ विराटनगरको बालकल्याण विद्या मन्दिरलाई राष्ट्रिय झण्डा अंकित ध्वजा सहित शिल्ड, प्रमाणपत्र र नगद २ लाख रुपैयाँ प्रदान गरियो

यस्तै कक्षा ११ र १२ को उत्कृष्ट नतिजाका आधारमा सामुदायिक तर्फ त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि र निजी तर्फ बागबजार स्थित काठमाडौं मोडेल माविले पुरस्कार पाए ।  

प्रदेश स्तरमा उत्कृष्ट सामुदायिक तर्फ प्रदेश नम्बर १, २ र ३ बाट क्रमशः ओखलढुंगाको वरुणेश्वर मावि, रौतहटको ओम मावि र चितवनको नारायणी मोडेल मावि पुरस्कृत भए । सामुदायिक तर्फ नै प्रदेश नम्बर ४, ५, ६ र ७ बाट क्रमशः कास्कीको बालमन्दिर मावि, बुटवलको कान्ति मावि, कालिकोटको मस्टो सरस्वती मावि र डोटीको सीताराम माविले पुरस्कार पाए । दुर्गमबाट सामुदायिक तर्फ हुम्लाको महाबुद्ध मावि पुरस्कृत भयो । यी सबै विद्यालयको पुरस्कार राशि १ लाख रुपैयाँ छ ।

निजीतर्फ प्रदेश स्तरमा प्रदेश नम्बर १, २, ३ र ४ बाट क्रमशः विराटनगरको एभरेस्ट बोर्डिङ स्कुल, रौतहटको मुनलाइट एकेडेमी, ललितपुरको जेम्स एकेडेमी र पर्वतको नमुना मावि पुरस्कृत भए । प्रदेश नम्बर ५, ६ र ७ बाट क्रमशः गोरखा युनाइटेड पब्लिक स्कुल, सुर्खेतको छिन्छु इङलिस बोर्डिङ स्कुल र कञ्चनपुरको इन्टरनेसनल पब्लिक स्कुलले पुस्कार प्राप्त गरे । प्रदेश स्तरका उत्कृष्ट सबै विद्यालयले  राष्ट्रिय झण्डा अंकित ध्वजा सहित शिल्ड, प्रमाणपत्र र नगद १ लाख रुपैयाँ प्राप्त गरे ।

कक्षा ९ देखि नै प्राविधिक शिक्षा अध्यापन गरिरहेका विद्यालयमध्ये पनि बुटवलको कालिका मावि नै पुरस्कृत भयो ।

पुरस्कारको छनौटमा असहती सहित अदालतमा मुद्धा परेसँगै रोकिएको ३८ औं राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम अदालतद्धारा उक्त रिट खारेज भएसँगै आईतबार आयोजना गरिएको हो । अघिल्ला तीन वर्षका परीक्षामा प्राप्त नतिजा विश्लेषण, परीक्षामा सहभागी विद्यार्थी संख्या तथा तह अनुसार अध्यापन गराइएका विषयलाई आधार मानेर विद्यालय छनोट गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

दिवसका दिन राष्ट्रपतिबाट प्रदान गरिने विद्याभूषण प्रदानको कार्यक्रम भने भदौ २३ गते यथावत् सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा मन्त्री श्रेष्ठले पुरस्कृत विद्यालयहरुलाई बधाई दिए । जीवन उपयोगी तथा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउँदै उनले यसका लागि आफूले मन्त्रालय सम्हाले देखि नीतिगत रुपमा प्रयत्न गरे पनि छोटो समयमा सबै काम गर्न नसकेको भन्दै आफ्नो बचाउको प्रयास गरे ।

देश संघीय संरचनामा गईसकेको र माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएकोले त्यसको कार्यान्वयनका लागि आवश्यक नीतिगत कार्य जारी रहेको बताउँदै आगामी सरकारले सोही अनुसार कार्य गर्ने अपेक्षा पनि ब्यक्त गरे ।

कार्यक्रममा शिक्षा राज्य मन्त्ती शेषनाथ अधिकारी, शिक्षा सचिव मधुरमण रेग्मी, सहसचिव डा. हरिप्रसाद लम्सालले पुरस्कृत विद्यालयलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै प्रगतीको कामना गरे ।

कार्यक्रममा दिवसका अवसरमा भएको दौड प्रतियोगिताका विजेता विद्यार्थीलाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया