Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

न 'सेल्फी' न साथी ! मञ्चकै कुनामा विद्यालयले पाएको ध्वजा र पुरस्कार

आइतबार, २८ माघ २०७४

काठमाडौं - विद्यालय प्रदेश स्तरमा उत्कृष्ट भयो । उत्कृष्ट भए वापत शिक्षा मन्त्रालयले दिने नगद १ लाख सहित राष्ट्रिय झण्डा अंकित ध्वजा, शिल्ड र प्रमाणपत्र थाप्न विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद उपाध्याय काठमाडौ हानिए ।

आईतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका उद्घोषक मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले 'प्रदेश स्तरमा उत्कृष्ट सामुदायिक तर्फ प्रदेश नम्बर २ बाट रौतहटको ओम मावि' भन्दै विद्यालयको नाम सहित पुरस्कार थाप्न बोलाउँदा उपाध्याय एक्लै मञ्चमा उक्लिए !

केही बेर अघि पुरस्कृत विद्यालयहरुलाई पुरस्कार थाप्न बोलाउँदा हलै गुञ्जयामान हुने गरी ताली बजेको थियो । पुरस्कार थाप्न लावा लस्कर मञ्चमा उक्लेका थिए ।

उपाध्यय मञ्चमा चढ्दै गर्दा मसिनै स्वरमा सही तालि त बजेकै हो, तर अघि जस्तो मञ्चमा न 'सेल्फि' हान्नेको भिड थियो, न राष्ट्रिय झण्डा अंकित ध्वजा, शिल्ड र प्रमाणपत्र थाप्न सघाउने साथी नै !

शिक्षा मन्त्री गोपालमान श्रेष्ठले दिएको पुरस्कार थाप्ने बेला उपाध्यायलाई निकै ठूलो हम्मे पर्यो ।

राष्ट्रिय झण्डा अंकित ध्वजा बोक्नु की शिल्ड र प्रमाणपत्र ! अनी त्यो नगद अंकित चेक सम्हाल्ने कसरी !

छेउमै उभिएका शिक्षा सचिव मधुप्रसाद रेग्मीले शायद उनको उल्झन् बुझे, झण्डा सम्हाल्दिदैं गर्दा शिक्षा मन्त्रालयका उप सचिव कृष्ण ढुङ्गाना अघि सरे र सघाई लागे ।

खास खुस कानेखुसी पछि ढुङ्गानाले राष्ट्रिय झण्डा अंकित ध्वजा, शिल्ड र प्रमाणपत्र मञ्चकै कुनामा अड्याएर राखे उपाध्याय नगद अंकित चेक समातेर मञ्चबाट तल ओर्ले ।

उद्घोषकले अन्य पुरस्कार थाप्न बोलाईरहेका थिए ।

उपाध्याय दर्शक दिर्घाको विचको भागको अघिल्लो पक्तिमा रहेको अघि कै कुर्चिमा आएर बसे ।

झट्ट हेर्दा यो दृश्य सामान्य नै लाग्छ । पुरस्कार थाप्नु थियो थापे, बोक्न सकेनन् मञ्चकै छेउमा राखे ।

तर यसको अन्तर्य निकै पेचिलो छ । हरेक बर्ष शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालय छनौट गरेर पुरस्कार थाप्न काठमाडौं बोलाउँछ । उपत्यका भित्रका विद्यालयलाई त सजिलै भयो, काठमाडौं बाहिरकालाई पुरस्कार थाप्नु भनेको 'हत्ते बेहोर्नु' हुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट अवकास प्राप्त यी केमेष्ट्रिका प्रोफेसरले आईतबार त्यही बेहोर्दै थिए ।

'ढिलो खबर भयो, धेरै जान आउन सम्भव पनि भएन त्यसैले विद्यालयबाट म मात्रै आएँ' पुरस्कार सम्हाल्न भएको हैरानीलाई सामान्यीकरण गर्दै भने, 'के गर्नु हुन्छ विद्यालय छ रौतहटमा पुरस्कार वितरण समारोह छ काठमाण्डुमा,  धेरै आउँ भने खर्च कसरी धान्नु ?'

कक्षा १० को पुरस्कारका लागि राष्ट्रिय स्तरमा सामुदायिक तर्फ प्रथम भएको बुटवलको कालिका माविका प्रधानाध्यापक घनश्याम पाठकको भोगाई पनि उपाध्यायकै जस्तो छ ।

विद्यालयका अध्यक्ष होमबहादुर गलामी र निर्माण समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीलाई साथमा लिएर आएका उनी भन्दै थिए - 'पुरस्कार थाप्न सरहरु काठमाडौं जानु भा छ भनेर विद्यार्थी विद्यालयमै मख्ख छन्, टाढाको कार्यक्रममा कसरी ल्याउनु र ?' 

कार्यक्रममा पुरस्कृत उपत्यका बाहिरका सबै सामुदायिक विद्यालयहरुको ब्यथा र भोगाइ एउटै थियो ।

निजीको 'रवाफ'

तर, पुरस्कृत भएका निजी विद्यालयहरुको 'रवाफ' भने छुट्टै थियो । पुरस्कार थाप्दै गर्दा पोज पोजको 'फोटो सेसन' मात्रै हैन 'सेल्फी'मा मग्न थिए ।

लगानीकर्ताहरुको हुल सहित उनीहरु मञ्चमा उक्लिन्थे ।

अघि पछि विद्यार्थी र शिक्षकहरुको ताँती !

उनीहरुलाई यो पुरस्कारको फोटो ब्रोसरमा छापेर विद्यार्थी आर्कषण गर्नु जो छ ।

आफू उत्कृष्ट हुन नपाएको त्यही 'झोँक'मा निजीकै सञ्चालकले हालेको मुद्धामा अदालतले दिएको अन्तरिम आदेशका कारण भदौ २३ मा हुनु पर्ने कार्यक्रम स्थगित भएको थियो । पुरस्कार कार्यक्रम रोक्नु नपर्ने भन्दै अदालतले गरेको मुद्धाको अन्तिम फैसला सँगै समारोह आयोजना गरिएको थियो ।

यो कार्यक्रममा निजीको स्वार्थ कति सम्म जोडिएको छ भन्ने कुरा पुरस्कार थाप्न सन्तान सहित मञ्चमा उक्लेका सञ्चालकहरुले नै बताउँदै थिए ।

'जतिसुकै देशको लागि समाजको लागि विद्यालय खोलेर सेवा गरेका हौं भने पनि निजी साँच्चैका निजी नै हुन् भन्ने यस्तै दृष्यले पुष्टि गर्छ' कार्यक्रममा सहभागी एक जना पत्रकार भन्दै थिए, 'विद्यालयलाई ब्यक्तिगत कम्पनि जस्तो ठान्छन, अनी नियमन गर्नु पर्यो भन्दा तिनै चर्का कुरा गर्छन् ।'

मञ्चमा निजीको रवाफ हेरिरहेका उपाध्याय भने एक जना पनि दरबन्दी नभएको आफ्नो विद्यालय सम्झदैं थिए शायद !

दाहिने हातलाई टाउकोको पछिल्तिरबाट घुमाएर देब्रे कान समात्दै उपाध्याय भन्छन् - 'शुल्क लिन त पाईदैंन थाह छ तर यसरी कान समातेका छौं ।'

अँग्रजी माध्यममा पठन पाठन गर्ने भनेर विद्यार्थीबाट शुल्क उठाएर १० जना शिक्षक धानेको उपाध्याय बताउँछन् ।

कान जसरी समाते पनि विद्यालयको तरक्कि देखेर मन्त्रालयले पुरस्कृत गर्दा यी पाका प्रोफेसर दंग थिए ।

'टियुबाट रिटायर्ड भएपछि शिक्षाकै माध्यामबाट सामाजिक काम गर्नु पर्यो भनेर विद्यालयको अध्यक्ष भएको थिएँ, आज सन्तोष मिलेको छ' मञ्चमा अन्य विद्यालयहरु पुरस्कृत हुँदै गर्दा यो सम्बाददातासँग उनले भने, 'राम्रो पढाए पछि विद्यार्थीको त के खाँचो, अब विद्यालयलाई दरबन्दीको ब्यवस्था गर्न पाए हुन्थ्यो ।'

अरु कुन कुन विद्यालय पुरस्कृत भए यो पढ्नुहोस् : शिक्षा मन्त्रालयद्धारा उत्कृष्ट विद्यालय पुरस्कृत

प्रतिक्रिया