Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्रालय छाड्दै गर्दा मनभरी 'कुण्ठा' !

विहीबार, ०३ फागुन २०७४

काठमाडौं - आफ्नो कार्यकालमा केही पत्रिका र पत्रकारको 'कोपभाजनमा' परेको भन्दै गोपालमान श्रेष्ठले मन्त्रालय छाड्दै गर्दा 'कुण्ठा' व्यक्त गरेका छन् ।

शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजिनामा दिए सँगै शिक्षा मन्त्रालयले आफ्ना मन्त्री गोपालमान श्रेष्ठ र राज्य मन्त्री शेषनाथ अधिकारीलाई विदाई गर्न आयोजित कार्यक्रममा श्रेष्ठले उक्त कुण्ठा व्यक्त गरेका हुन् । राम्रो काम गर्न खोज्दा पनि मिडियाले सँधै 'लुछेको लुछ्यै' गरेर हैरान पारेको भन्दै उनले सञ्चारकर्मी प्रति कटाक्ष गरे ।

'यहाँ कोही पत्रकार पनि छन् ?' भन्दै सम्बोधनको शुरुवात गरेका श्रेष्ठले आफूले संधै विधि अपनाएर काम गर्न खोज्दा पनि पत्रिका र पत्रकारको कोपभाजनमा परेको बताए ।

'म त विद्धानहरुसँग संगत गर्न पाहिएला भन्दै केही राम्रो गर्ने सपना बोकेर आफैंले रोजेर शिक्षा मन्त्रालय आएको थिएँ' उनले भने, 'तर केही पत्रिका र पत्रकारको कोपभाजनमा परेँ ।'

अस्थायी शिक्षक समस्या समाधान गर्ने नाममा सार्वजनिक शिक्षा ध्वस्त बनाउने गरी आफ्ना कार्यकर्ता रिझाउन उनको स्वार्थमा भएको शिक्षा ऐनको नवौं संशोधन प्रति चौतर्फि विरोध भएको थियो ।

पढ्नुहोस् : शिक्षाको कालो दिन

अस्थायीको माग सम्बोधन गर्ने नाममा विद्यार्थीमाथि अन्याय

तर विदाई समारोहमा पनि श्रेष्ठले शिक्षा ऐनमा भएको संशोधनले अस्थायी शिक्षकहरुको समस्या ब्यवस्थापन गर्न पहल गरिएको भन्दै उक्त कार्यको बचाउ गरेका थिए । शिक्षा मन्त्रीका रुपमा विताएको २ सय ५५ दिनमा गरेका १९ बुँदे मुख्य कार्यहरुको बुँदा ७ मा शिक्षा ऐन संशोधनको बचाउ गरिएको छ ।

पत्रिका र पत्रकारको नाम नलिईकन उनले कहिले समाचार र कहिले सम्पादकीय लेखेर आफूलाई असहयोग गरेको आरोप पनि लगाए ।

पछिल्लो समय आर्थिक लेनदेनमा सिटिईभिटिको सम्बन्धन दिन लागेको तथा आफ्नो मनखुसले १५ करोड रुपैंया बाँड्न लागेको लगायतका खबर सार्वजनिक भएका थिए ।

उक्त अवसर श्रेष्ठले उच्च स्तरीय शिक्षा आयोगको गठनलाई अर्को उपलब्धि मानेका छन् । मन्त्रालयका उच्च कर्मचारीहरु सम्मिलित उक्त कार्यक्रममा उनले आयोगको ५ महिने अवधिमा नसकिएर थप गरिएको ४ महिने अवधिमा बाँकी काम सम्पन्न हुने आशा गरेको बताए । आउने मन्त्रीबाट काम सम्पन्न गराउन कर्मचारीहरुले आफ्नो सन्देश सुनाईदिने आशा गरेको पनि उनले बताए । सीपयुक्त शिक्षामा जोड दिदैं श्रेष्ठले आफ्नो कार्यकालमा जानेर नजानेर केही गल्ती भएको भए भुलिदिन कर्मचारीसँग आग्रह पनि गरे ।

उक्त १९ बुँदे मुख्य कार्यहरुको बुँदा १ मै उनले स्थानीय तहमा कर्मचारी खटन पटन गरेको उल्लेख गरेका छन् । तर समयमा मन्त्रालयले ध्यान नदिदाँ आफूहरु कनिष्ठ कर्मचारी मातहत बस्नु पेको भन्दै शिक्षाका कर्मचारीले उक्त कार्यको विरोध गर्दै आएका छन् । संघीयता कार्यान्वयनको चरण अन्र्तगत यही अवधिमा तीनै तहको निर्वाचन गर्नु पर्दा निर्वाचन आचार संहिता लागेर उल्लेख्य काम गर्न नसकेको भन्दै उनले आफ्नो कार्यकालमा हुन नसकेका कामको बचाउको प्रयास गरे ।  

कार्यक्रममा अधिकारीले राजनीतिक नेतृत्व आवधिक हुनु स्वभाविक भएकोले स्थायी सरकार मानिने कर्मचारी संयन्त्रले शिक्षाका सवालमा प्रभावकारी काम गर्ने अपेक्षा गर्दै सबै कर्मचारीलाई त्यस तर्फ सजग रहन आग्रह गरे । सचिव मधुप्रसाद रेग्मीले मन्त्री र राज्यमन्त्रीलाई धन्यवाद ब्यक्त गर्दै यस अवधिमा भएका कामको ब्याख्या गरेका थिए ।

श्रेष्ठ र अधिकारीलाई रेग्मीले माला, ढाकाटोपी र ढाकाकै खादा सहित पशुपतिनाथको मन्दिर अंकित उपहार प्रदान गरेका थिए ।

प्रतिक्रिया