Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

एउटै सेमेस्टरमा फरक–फरक शुल्क

सोमबार, ०७ फागुन २०७४

काठमाडौं ७ फागुन / त्रिभुवन विश्वविद्यालयले एउटै सेमेस्टरमा फरक–फरक शुल्क लिएको पाइएको छ। स्नातकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० हजार रुपियाँ तोकिएको छ। सो रकम एकमुष्ट भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ।

विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ। तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ। सानो ठिमी क्याम्पस त्रिविका विद्यार्थी कृष्ण केसी भन्नुहुन्छ– ‘मैले भर्ना हुँदा ७ हजार ८ सय ५० रुपियाँ तिरें। एकैपटक लिँदा रहेछन्। के गर्ने पढ्नैपर्ने बाध्यता।’ धादिङका नवीन बस्नेत भन्नुहुन्छ– ‘स्नातक पास गरें। तर, के गर्ने पैसा छैन। यो वर्ष पढ्दिनँ होला, पैसाको जोहो गर्नै पर्यो।’

यस वर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ। सेमेस्टर प्रणाली लागू हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको विद्यार्थी रविन विश्वकर्मा बताउनुहुन्छ।

ताहचल क्याम्पसका सहायक प्रमुख डा. विष्णु खनाल त्रिविकै मापदण्डअनुसार शुल्क लिइएको दाबी गर्नुहुन्छ। उहाँ नेपाल समाचारपत्रसँग भन्नुहुन्छ,‘तोकिएको शुल्क ७ हजार ८ सय ५० रूपियाँ हो। शुरुमै परीक्षा शुल्क पनि लिइएकाले बढी रकम देखिएको हो।’
अखिलका नेता कल्याण गौतम विश्वविद्यालयले मापदण्ड नै नबनाई बाध्यकारी रूपमा शुल्क लिएकोमा आपत्ति जनाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘अब विद्यार्थी संगठनका नेताले सोच्नुपर्छ।’

अर्काेतिर सेमेस्टर सिस्टम नाम मात्रै भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। सेमेस्टरमा प्रोजेक्टर, हाजिरी, भौतिक पुर्वाधारलगायतका विषय कोराकागजमा सिमित भएको उनीहरूको आरोप छ। विद्यार्थी ईश्वर श्रेष्ठ भन्नुहुन्छ, ‘सेमेस्टर सिस्टम कि फि अशुल्ने माध्यम। न पढाइ राम्रो हुन्छ। न त सोचेअनुरूपको पाठ्यपुस्तक नै उपलब्ध छ।’

यस्तै भौतिक पुर्वाधार र दिर्घकालीन योजना बिनासेमेस्टर प्रणाली लागू गर्दा हजारौं विद्यार्थी पढ्नबाट वञ्चित भएको कतिपय विद्यार्थीले आरोप लगाएका छन्। यस वर्षदेखि देशभरका सबै आंगिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली शूरु भएको हो।

नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया