Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

गाउँपालिकामै परीक्षा

बुधबार, ०९ फागुन २०७४

काठमाडौं ९ फागुन /  बझाङको वित्थड चिर गाउँपालिकाले ८ र १० बाहेकका सबै कक्षाको परीक्षा गाउँपालिकास्तरीय गर्ने भएको छ । विद्यालयको कार्यसम्पादनको गुणस्तर मापन गर्न र शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक नीति तर्जुमा गर्न यस्तो निर्णय गरेको हो ।

‘विद्यालयले आफै‌ं परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका जाँच गर्ने, नतिजा प्रकाशन गर्ने प्रणालीमा हाम्रो गाउँपालिकाले समस्या देखेको छ,’ गाउँपालिका अध्यक्ष प्रेम बोहराले भने, ‘यसो हुँदा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन सकेको छैन । गाउँपालिकाको शिक्षाको अवस्था झन्झन् बिग्रन थालेकाले यो निर्णय गरेका हाैं ।’

उनले गाउँपालिकास्तरीय परीक्षा हुन थालेपछि विद्यालयबीच शैक्षिक सुधारका लागि प्रतिस्पर्धा हुने बताए । २७ वटा विद्यालयका करिब ४ हजार ९ सय विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन र व्यवस्थापनका लागि गाउँपालिकाले ५ लाख रकमसमेत विनियोजन गरेको छ ।

गाउँपालिकास्तरीय परीक्षा सञ्चालन गर्ने निर्णय गर्नुको अर्काे कारणबारे उल्लेख गर्दै ६ नम्बरका वडाध्यक्ष हर्कबहादुर धामीले भने, ‘विद्यालयले मनपरी परीक्षा शुल्क असुल्न थालेकै कारण कतिपय निम्न आर्थिक अवस्थाका विद्यार्थीले बीचमै पढाइ नै छोड्ने गरेको पाइयो । विद्यार्थी संख्या कम भएका विद्यालयले त आधारभूत प्राथमिक कक्षाका विद्यार्थीबाट समेत चर्काे परीक्षा शुल्क लिएकाले धेरै समस्या उत्पन्न भएको अध्ययनले देखायो । अब गाउँपालिकास्तरीय परीक्षा सञ्चालन हुने भएपछि यस्ता समस्या स्वत: समाधान हुनेछन् ।’

विद्यार्थीले परीक्षा शुल्क तिर्न नपर्ने गाउँपालिकाको निर्णय अत्यन्तै प्रशंसनीय र गरिब तथा विपन्नको हितमा भएको विद्यार्थी तथा अभिभावकले बताए । परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको गाउँपालिकाका शिक्षा संयोजक हरिभान कठायतले बताए । उनले फागुन २५ गतेभित्र परीक्षा सञ्चालन गरी चैत १५ गते परीक्षाफल प्रकाशित गर्ने बताए।

कान्तिपुरबाट

प्रतिक्रिया