शिक्षाको संवैधानिक व्यवस्था प्रष्ट नभएको निजी क्षेत्रको दावी, संघीय शिक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने


काठमाडौं - आधारभूत तहसम्म अनिवार्य तथा निशुल्क र माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने संवैधानिक व्यवस्था स्पष्ट नभएको निजी क्षेत्रले दावी गरेको छ । संविधानमा उल्लेख भएको उक्त ब्यवस्था कसलाई हो भन्ने यकिन नभएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले दावी गरेका हुन् ।

'संविधानमा अनिवार्य र निशुल्क भनिए पनि त्यो कुरा क्लियर छैन' उनले भने, 'उक्त ब्यवस्था कसलाई हो भन्ने पनि अस्पष्ट छ, शिक्षाका बारेमा आफ्नो क्षमता कति हो भन्ने कुरा राज्यले बताईदिनु पर्यो ।'

हिसानले गर्न लागेको 'संघीय नेपालमा गुणस्तरीय शिक्षा' विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले निजी क्षेत्र खराबै हो भन्ने मान्यताबाट माथि उठ्न पत्रकारलाई आग्रह समेत गरे । बजार नभएको ठाउँमा निजी क्षेत्र नजाने बताउँदै उनले निजी क्षेत्रले शिक्षा ध्वस्त पार्यो भन्ने कुरा आग्रहपूर्ण भएको पनि जिकीर गरे ।

'निजी क्षेत्र ध्वस्त हैन' उनले भने 'राज्यले सुविधा दिएर सहकार्य गर्न चाहे देशको शैक्षिक क्षेत्र सक्षम बनाउन हामी सँधै खुल्ला छौं ।'

देशको संरचनागत परिवर्तन भएको अवस्थामा उच्च शिक्षामा आवश्यक अवधारणा तय गर्दै राज्यलाई सुझाव दिन सम्मेलन गर्न लागेको उनले बताए ।

निजी मात्रै हैन, सम्मेलनमा सिङ्गो शिक्षा ब्यवस्थालाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा ब्यापक छलफल गरेर राज्यलाई सुझाव दिने उनले बताए ।

फागुन ११ र १२ गते हुने संघीय नेपालमा गुणस्तरीय शिक्षा विषयक अन्र्तराष्ट्रिय सम्मेलनमा नेपालका विश्वविद्यालय सहित अमेरिका बेलायत, अष्ट्रेलिया, चिन, क्यानडा, नेदरल्याण्ड, स्पेन, वंगलादेश, भारत, भियतनाम, मलेसिया, थाईल्याण्ड लगायत देशका १६ संस्थाको सहभागित रहने सम्मेलनका संयोजक नवराज पाण्डेले जानकारी दिए ।   

'मुलुक संघीय गणतन्त्रको संघार तर्दै समृद्धिको मार्गमा अग्रसर रहेको परिप्रेक्ष्यमा नेपालको शिक्षा प्रणालीमा समेत समयानुकुल सुधार र परिमार्जनको आवश्यकता देखिन्छ' सम्मेलनका बारेमा जानकारी दिन प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ, 'विश्वस्तरमा शिक्षा विकासका नविनतम मान्यताहरुको अवलोकन र वहिङ्गम समिक्षा गरी नेपाली माटो सुहाउँदो हाम्रो शिक्षा नीतिमा आवश्यक परिवर्तन र उपलब्धिहरुको सुदृढिकरण समयको माग हो ।'

सम्मेलनमा पढाइ र सिकाइ, अनुसन्धान र छात्रबृत्ति तथा सामाजिक र अन्तर्राष्ट्रिय  सहकार्य गरी तीन क्षेत्रमा ब्यापक विमर्श हुने सम्मेलनको साईन्टिफिक कमिटिका संयोजक डा. पदम सिंखडाले जानकारी दिए । दिमाग खुल्ला राखेर छलफल गर्ने तथा विभिन्न देशको अनुभव सुनेर हाम्रो सवालमा कसरी लागू गर्न सकिन्छ भन्ने पत्ता लगाउने सम्मेलनको मुख्य ध्येय भएको उनले बताए ।