Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

प्रदेश ६ : प्राविधिक शिक्षामा परनिर्भर

विहीबार, १० फागुन २०७४

काठमाडौं १० फागुन / प्रदेश ६ को राजधानी सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय छ, थुप्रै कलेज छन् । तैपनि प्राविधिक शिक्षा अध्ययनका लागि भने विद्यार्थीले समस्या झेलिरहेका छन् ।

माध्यमिक तह (एसइई) उत्तीर्ण गरेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता रहेको विद्यार्थी तथा अभिभावक बताउँछन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का अनुसार प्रदेश ६ मा १५ प्राविधिक शिक्षालय छन् । तर, अधिकांशमा प्राविधिक एसइई (१८ महिने कोर्स) मात्रै पढाइ हुने गर्छ ।

सुर्खेतमा नौ, दैलेखमा तीन, कालिकोटमा दुई र जुम्लामा एक प्राविधिक शिक्षालय छन् । सिटिइभिटी पश्चिम सेक्टर कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले भने, ‘जुम्लामा सिटिइभिटीले नै सञ्चालन गरेको छ, अन्यत्र सम्बन्धनप्राप्त हुन् ।’ दैलेखमा स्थापना भएका तीनै शिक्षालय बन्द छन् ।

डिप्लोमा तहमा नगन्य

यहाँ सञ्चालित अधिकांश प्राविधिक शिक्षालयहरुमा प्राविधिक एसइई (१८ महिने कोर्स) मात्रै पढाइ हुने गर्छ ।

सिटिइभिटीका अनुसार वीरेन्द्रनगरस्थित सुर्खेत एजुकेसनल डेभलपमेन्ट एकेडेमी (सेडा) बाहेक अन्यले १८ महिने कोर्स मात्रै पढाउँछन् । सिएमए, अमिन, सब–ओभरसियर, जेसिटी, भेटेनरी जेटिए, कृषि जेटिएलगायतको पढाइ हुन्छ ।

डिप्लोमा तहको पढाइ नहुने भएपछि प्राविधिक एसइईसरहकै कोर्स गर्नुपरेको स्थानीय तेजबहादुर बमले बताए । उनले भने, ‘सुर्खेतबाहिर जान आर्थिक रूपमा सकिएन, बाध्य भएर १८ महिने जुनियर कम्प्युटर टेक्निसियन कोर्स पढेँ ।’

प्राविधिक शिक्षालय अपुग

यो प्रदेशका सल्यान, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, डोल्पा र मुगुमा प्राविधिक शिक्षालय छैनन् । यहाँका विद्यार्थी नेपालगन्ज, काठमाडौं जाने गरेका छन् । अन्य जिल्लामा पनि विद्यार्थीलाई भर्ना पाउनै मुस्किल हुन्छ ।

यो प्रदेशमा प्राविधिक शिक्षालय अपुग रहेको सिटिइभिटी पश्चिम सेक्टर कार्यालयका प्रमुख सुवेदीले बताए । उनले भने, ‘थोरै कलेज हुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपरिरहेको छ ।’

जिल्लामा प्राविधिक शिक्षालय नभएपछि नेपालगन्ज आएको जाजरकोटकी विद्यार्थी वर्षा थापाले बताइन् । उनले भनिन्, ‘जिल्लामा भए सस्तो हुन्थ्यो, यता आएपछि महँगो छ । अन्य खर्च पनि बढ्छ ।’

दक्ष जनशक्ति अभाव

यहाँ शिक्षालयमा दक्ष जनशक्ति पनि अभाव छ । तराईमा धेरै ठाउँमा पढाउन पाइने भएकाले पहाडी क्षेत्रमा सञ्चालित शिक्षालयमा दक्ष जनशक्ति नआउने गरेको सञ्चालकहरूको भनाइ छ ।

दक्ष जनशक्ति नभएकाले डिप्लोमा तहका कक्षा सञ्चालन गर्न नसकिएको एभरेस्ट इन्जिनियरिङ शिक्षालयका प्रबन्धक हरिभक्त गिरीले बताए । उनले भने, ‘यहाँ दक्ष जनशक्ति अभाव छ, बाहिरबाट ल्याउन सक्ने अवस्था छैन ।’

बिएस्सी सिएसआइटीको सुरुवात

मध्यपश्चिम विश्वविद्यालयले गत वर्षदेखि बिएस्सी सिएसआइटी कक्षा सञ्चालन गरेको छ । यस क्षेत्रका विद्यार्थीलाई सहज होस् भनेर स्नातक तहमा विज्ञान तथा प्रविधिको पढाइ सुरु गरिएको विश्वविद्यालयले जनाएको छ ।

तर, विद्यार्थीको संख्या भने उत्साहजनक छैन । पहिलो वर्ष भर्ना भएका १७ मध्ये चारजनाले छाडिसकेका छन् ।

विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका प्रमुख चापागार्इंले भने, ‘केन्द्रीय क्याम्पस भएकाले देशभरका विद्यार्थी आउनुपर्ने हो, तर प्रदेश ६ का विद्यार्थी पनि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिर जान्छन् ।’

बाहिरिँदै करोडौँ रकम

तीनवर्षे डिप्लोमा तह अध्ययन गर्दा एउटा विद्यार्थीको आठ लाख रुपैयाँ खर्च हुन्छ । सिटिइभिटीका अनुसार प्रदेश ६ बाट वर्षमा हजारजना विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि बाहिर जाने गर्छन् । जसले करोडौँ रुपैयाँ बाहिरिने गरेको सिटिइभिटी पश्चिम सेक्टर कोहलपुरका प्रमुख सुवेदीले बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयल, विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस, सुर्खेतका प्रमुख कृष्णप्रसाद चापागाईं पनि प्राविधिक शिक्षाका लागि बाहिरिने विद्यार्थी र रकम रोक्न सकिने बताउँछन् ।

प्रदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउँदै चापागाईंले भने, ‘प्राविधिक शिक्षाको नाममा यस प्रदेशको ठूलो धनराशि बाहिरिने गरेको छ, अब यो रोक्न सक्नुपर्छ ।’ हिमाली तथा पहाडी क्षेत्रका अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ प्राविधिक शिक्षा रहेको उनले बताए ।

नयाँ पत्रिकामा विश्वराज पछल्डङ्ग्याले लेखेका छन् ।

प्रतिक्रिया