Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

विहीबार, १० फागुन २०७४

काठमाडौं १० फागुन / पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत, काठमाडौंको आदेशमा चुच्चेपाटीको चाइना ग्रेटवाल हेल्थ सेन्टर, बौद्धमा कार्यरत चिनियाँ डाक्टर लङ युहाउ साधारण तारेखमा छुटेका हुन् ।

अदालतले सोही अस्पतालमा कार्यरत लङ गउ योङलाई भने पुर्पक्षका लागि थुना पठाएको छ । सञ्चालक नारायण तिमल्सेना भने ५ लाख धरौटी बुझाएर छुटेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले माघ १६ गते नेपाल मेडिकल काउन्सिलसँगको समन्वयमा विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग मिलेमतो गर्दै स्वास्थ्य उपचारमा संलग्न नक्कली डाक्टरहरूलाई पक्राउ गरेको थियो । ब्युरोले काठमाडौंका ५ अस्पतालमा छापा मारी १३ चिनियाँ, १ अस्ट्रेलियन र ३ नेपाली सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाएको थियो ।

ब्युरोले झूटा विज्ञापन गर्दै चिकित्सा विज्ञान नै नपढेका डाक्टर उपचारमा संलग्न रहेको र सर्वसाधारण झुक्याउने काम गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी बयानका क्रममा पक्राउ परेका चिनियाँहरूले आफूहरू अस्पतालमा प्रयोग हुने मेसिनहरूको मेकानिक्स मात्रै रहेको र डाक्टर नरहेको बताएका थिए । तर ब्युरोले छापा मार्दा भने उनीहरू चिकित्सकीय अभ्यासमै संलग्न थिए ।

जिल्ला अदालतले ठमेलको अपोलो इन्टरनेसनल पोलिक्लिनिक बाहेकका अस्पताल सम्बद्ध मुद्दामाथि आदेश दिइसकेको छ । जिल्ला अदालतले बौद्धको चाइना पिपल्स अस्पतालमा कार्यरत चु जाईलाई २ लाख रुपैयाँ धरौटी र वङ भिमोलुलाई डेढ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइसकेको छ । बौद्धकै चाइनिज डेन्टल अस्पतालका योङ काङसिटी भने ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

चिनियाँहरू प्रत्येकपल्ट ९० दिनको पर्यटकीय भिसामा नेपाल छिर्ने, अवैध रूपमा चिकित्सकीय अभ्यास गर्ने र पैसा कमाएर फर्कने गरेको पाइएको छ । प्रहरीले पक्राउ परेका चिनियाँमाथि अध्यागमन ऐनअनुसार पनि कारबाही चलाउने गरी सरकारी वकिलको कार्यालयमा राय पठाएको छ । पर्यटकीय भिसामा आएर आम्दानीमूलक कार्यमा संलग्न हुनु अवैध मानिन्छ ।

ब्युरोका अनुसार नक्कली चिनियाँ डाक्टर कार्यरत अस्पतालहरूले दैनिक ४ देखि ५ लाख रुपैयाँसम्म कारोबार गरेको देखिन्छ । तर यी कुनै पनि अस्पतालले आफ्नो कारोबार बैंकिङ च्यानलमार्फत गरेको देखिँदैन । ब्युरो स्रोतले भन्यो, ‘आम्दानीको त्यति धेरै रकम उनीहरूले कहाँ के प्रयोजनमा खर्चिरहेका छन्, केही खुल्दैन ।’ ती अस्पतालमा कार्यरत नेपाली कर्मचारीले दैनिक रूपमा विद्युतीय हाजिरी गरे पनि चिनियाँहरूले हाजिरीसमेत नगरेको देखिन्छ । तर ब्युरोले उनीहरूलाई अस्पतालमा बिरामी जाँचिरहेकै बेला पक्राउगरेको थियो ।

अपोलो इन्टरनेसनल पोलिक्लिनिक, ठमेलविरुद्धको मुद्दा भने अदालतमा विचाराधीन नै छ । अपोलोमा कार्यरत आठ चिनियाँ डाक्टर र सञ्चालक मीन घिमिरेलाई पक्राउ गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । अस्पतालका अर्का सञ्चालक नारायणकुमार नेपाल भने फरार छन् ।

कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया