Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यार्थी घटे, बजेट बढ्यो

विहीबार, १० फागुन २०७४

काठमाडौं १० फागुन / सामुदायिक विद्यालयमा विद्यार्थी संख्या २ लाख २७ हजारले घटे पनि पाठ्यपुस्तकको लागि सरकारी अनुदान भने बढेको छ । विद्यार्थी संख्या घटे पनि पुस्तकको मूल्यवृद्धि लगायतका कारणले पाठ्यपुस्तकको अनुदान रकम बढेको हो । गत वर्षको तुलनामा यो वर्ष पाठ्यपुस्तको अनुदानमा ३९ करोड रुपैयाँ वृद्धि भइ २ अर्ब २२ करोड रुपैयाँ पुगेको शिक्षा विभागले जनाएको छ ।

सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको पाठ्यपुस्तक खरिद गर्न गत वर्ष १ अर्ब ८३ लाख विनियोजन गरे पनि यो वर्ष बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । तर विद्यार्थी संख्या भने गत वर्षभन्दा घटेका छन् । गत वर्ष देशभर अनुदानमा पुस्तक पाउने विद्यार्थीको संख्या ५७ लाख ५७ हजार ७ सय ४४ थियो भने यो संख्या हाल घटेर ५५ लाख ३० हजार ५ सय ३१ मा सीमित भएको छ । शिक्षा विभागका शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालले अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा अनुदान रकम केही बढाएर विनियोजन गर्ने गरेका कारण विद्यार्थी कम भएपनि अनुदान रकम बढाइएको बताए । “सरकारले पाठ्यपुस्तका लागि छुट्याएको अनुदान बर्सेनि औषत २० करोड फ्रिज हुने गरेको छ,” उनले भने ।

सरकारले कक्षा १० सम्मका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ । योजनाअनुसार यो वर्षका लागि सो मूल्य बराबरको रकम विद्यालयमा पठाइसकेको शिक्षा विभागका शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालले बताए । यो रकमले देशभरका ५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीका लागि पुस्तक खरिद गर्न सकिने शिक्षा विभागले जनाएको छ । पुस्तक खरिदका लागि विद्यार्थी संख्याका आधारमा रकम निकास गरी स्थानीय तहमा पठाइसकिएको छ । सार्वजजिक विद्यालयका विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउन् भन्नका लागि सबै स्थानीय तहमा विद्यार्थीको संख्या यकिन गरेर बजेट निकासा भइसकेको छ ।

सरकारले यो वर्ष सबैभन्दा बढी कक्षा १ देखि ५ सम्मका विद्यार्थीको पाठ्यपुस्तकका लागि लगानी गरेको छ । सो कक्षाका प्रतिविद्यार्थी ५ थानका दरले ३३ लाख ५ हजार ६ सय १४ विद्यार्थीका लागि आवश्यक पर्ने बजेट विद्यालयमा निकासा गरिसकेको छ । कक्षा बढ्दै जाँदा विद्यार्थी संख्या र लगानी पनि घट्दै गइरहेको शिक्षा विभागले जनाएको छ । यसरी नै कक्षा ६ देखि ८ सम्म अध्ययनरत बिद्यार्थीको संख्या १४ लाख ४० हजार ३ सय २० रहेको विभागले जनाएको छ । सबैभन्दा कम कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीको संख्या ७ लाख ८४ हजार ५ सय ९७ रहेको छ । सरकारले बर्सेनि पाठ्यपुस्तक अनुदानका लागि १० प्रतिशत बढाएर अनुदानको रकम विनियोजन गर्दै आएको छ । सरकारले यो वर्ष कक्षा १ देखि १० सम्मका ३ करोड ६० लाख थानभन्दा बढी पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । कक्षा १ देखि ५ सम्म ५ थान, कक्षा ६ देखि ८ सम्म ९ थान तथा कक्षा ९ र १० का लागि ८ थान आवश्यक पर्ने गर्दछ ।

कारोबारमा गोपाल संग्रौलाले लेखेका छन् ।

प्रतिक्रिया