Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा अमेरिका

शिक्षकलाई बन्दुक !

विहीबार, १० फागुन २०७४

काठमाडौं - पटक पटक विद्यालयमा बन्दुकधारीले आक्रमण गरेर विद्यार्थीको हत्या गर्न थाले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दुक राख्न दिने प्रस्स्तावको समर्थन गरेका छन् ।

ह्वाइट हाउसमा भएको बन्दुक आतंक सम्बन्धी कार्यक्रममा विद्यालय वरपर बन्दुक माथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई हतियार राख्न दिने पक्षमा उनले समर्थन जनाएका विविसिले जनाएको छ ।

अमेरिकाको फ्लोरिडा स्थित एक उच्च माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोलि हानेर १७ जनाको हत्या गरेको एक साता पछि ट्रम्पको उक्त धारणा आएको हो ।

पढ्नुहोस् : निष्कासित विद्यार्थीले हाने अन्धाधुन्ध गोलि, १७ जनाको हत्या

उनले यस्तो कदमले विद्यालयमा हुने आक्रमण रोक्न सक्ने अपेक्षा गरेका छन् । उक्त कार्यक्रममा सो विद्यालयमा भएको गोली प्रहारको घटनामा बाँच्न सफल भएकाहरूले त्यस्तो घटना फेरि नहुने पक्का गर्न गरेको प्रस्ताव माथि ट्रम्पले प्रतिबद्धता जनाएका हुन् ।

बन्दुक किन्नेहरूको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावलाई पनि ट्रम्पले समर्थन गरेका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीले ट्रम्प समक्ष आफूहरूले विद्यालयमा सुरक्षित महसुस गर्न चाहेको बताएका थिए ।

एकजना विद्यार्थीका बाबुले राजनीतिज्ञहरूलाई बन्दुक नियन्त्रणबारे कुनै पहल नगरेको आरोप लगाए । उनले विद्यार्थी र समुदायलाई जोगाउन कानुनको आवश्यकता रहेको पनि बताए ।

बुधबार ह्वाइट हाउसबाट भएको कार्यक्रममा ट्रम्पले बन्दुक किन्न आउनेहरूको मानसिक स्वास्थ्यबारे ख्याल गर्ने विषयमा पनि जोड दिने प्रतिबद्धता जनाए ।

अमेरिकाका विद्यालयहरुमा पटक पटक बन्दुकधारीले हमला गरे पछि  अब विगतमा जस्तो कुरा मात्रै नहुने त्यसलाई गरेरै देखाउने उनको प्रतिबद्धता छ । कार्यक्रममा सहभागी विद्यार्थीले फ्लोरिडाका सांसदहरूलाई स्वचालित बन्दुकको बिक्रीलाई नियन्त्रण गर्ने विषयमा कदम चाल्न माग गरेका थिए ।

प्रतिक्रिया