Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यार्थीले नै गर्छन् शिक्षकको हाजिर

आइतबार, १३ फागुन २०७४

काठमाडौ १३ फागुन / अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीले शिक्षकको हााजिर गर्ने गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि सुधार आएको विद्यार्थीहरू बताउँछन् ।

दिनभर कुन शिक्षक कति समयमा कक्षाकोठामा पढाउन आउँछन्, कति समय पढाउँछन् भनेर विद्यार्थीहरूले हाजिर गरेर राख्ने गर्छन् । विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरू समयमै कक्षाकोठामा गएर पढाउन थालेको जनज्योति मावि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीले बताइन् ।

उनी भन्छिन्, “कुन शिक्षक कति बेला आउनुहुन्छ हाजिर गरेर राख्छौं । कति समय पढाउनुहुन्छ, शिक्षक कक्षाकोठामा पढाउन नआएमा के कारणले आउनुभएन खोजी गर्छौं र कारणसहित प्रअलाई बुझाउँछौं ।”
भूमिकास्थान नगरपालिका ४ शान्ति मावि धारापानीमा पनि विद्यार्थीले शिक्षकको हाजिर गर्छन  । विद्यालयका प्रध्यानाध्यापक पदम पन्थी भन्छन्, “१५ दिन भयो यो कार्यक्रम सुरु गरेको । यसले धेरै परिवर्तन आएको छ । शिक्षकहरू समयमै कक्षामा पढाउन जानुहुन्छ, शिक्षक पढाउन आउन नसकेमा कारणसहित विद्यार्थीले मलाई बुझाउँछन् । चित्तबुझ्दो कारण नआएमा कारबाही हुन्छ ।”
भगवती मावि शंखेटारीमा शिक्षकको हाजिर गर्ने कक्षा १० का अङ्कित विश्वकर्मा भन्छन्, “विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरू समयमै आउनुहुन्छ । हामी खुसी छौं, यो कार्यले निरन्तरता पाउनुपर्छ ।”

भूमिकास्थान नगरपालिकाको खिल्जी स्रोत केन्द्रका सबै विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम लागू भएको छ । सन्धिखर्क नगरपालिकाको सदरमुकाममा रहेका जनज्योती, रविचित्र, भगवती माविलगायत विद्यालयमा पनि यो कार्यक्रम छ । नगरपालिकाका शिक्षा संयोजक बलराम मिश्रले भने, “यसले शिक्षकहरू धेरै सचेत भएको र समयमै पढाउन जाने गरेको पाइएको छ ।”
जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत जिल्लाका ६० विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम प्रभावकारी भएको बताउँछन् । उनले भने, “यो कार्यक्रमलाई जिल्लाभर नै पुराउँछौ । कतिपय विद्यालयका विद्यार्थीमा लागू औषध प्रयोग गर्ने, लामो कपाल पाल्ने, मोबाइल प्रयोग गर्नेलगायत काम गरेको पाइएको छ । हामीले सम्बन्धित विद्यालयलाई सचेत गराएका छौं । अभिभावकमार्फत् पनि विद्यार्थीलाई सुधार गर्नका लागि विद्यालयलाई निर्देशन दिएका छौं ।”

कारोबारमा घनश्याम पौडेलले लेखेको खबर ।

प्रतिक्रिया