Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

विद्यार्थीको परीक्षा शुल्क नगरपालिकाले व्यहोर्ने

आइतबार, १३ फागुन २०७४

काठमाडौ १३ फागुन / निःशुल्क शिक्षा कार्यान्वयन गरिने

रुकुम(पश्चिम)को मुसिकोट नगरपालिकाले कक्षा एकदेखि नौसम्मका विद्यार्थीको सबै परीक्षा शुल्क व्यहोर्ने भएको छ ।

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेकाले नगरपालिकाले विद्यार्थीको परीक्षा शुल्क आफैँले व्यहोर्ने निर्णय गरेको हो ।

सरकारले कक्षा १० सम्मको शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न बहानामा विद्यार्थीहरूबाट परीक्षा शुल्क लिइरहेका छन् ।
सरकारी निर्णय कार्यान्वयन गर्ने उद्देश्यले परीक्षा शुल्क व्यहोर्ने निर्णय गरिएको नगर शिक्षा समितिका संयोजक तथा मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले बताए ।

गौतमका अनुसार नगरपालिकामा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा शुल्क नगरपालिकाले व्यहोर्नेछ ।

अन्य कक्षाका लागि भने सामुदायिक विद्यालयका विद्यार्थीको मात्र शुल्क व्यहोर्ने निर्णय भएको गौतमले जानकारी दिए ।

‘संविधानमै व्यवस्था गरिएको निःशुल्क शिक्षालाई व्यवहारमै कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेको छ, तर विद्यालयले विभिन्न बहानामा विद्यार्थीबाट शुल्क असुलिरहेका छन् ।

निःशुल्क शिक्षालाई कागजमा मात्र नभई व्यवहारमै लागू गर्नुपर्छ भन्ने सन्देश हामीले दिन खोजेका हौँ ।’

कक्षा आठका लागि मात्र सात लाख लाग्ने

कक्षा आठको परीक्षा शुल्क मात्र नगरिपालिकाले सात लाख रुपैयाँ व्यहोर्नुपर्ने देखिएको छ । नगर शिक्षा एकाइले नगरपालिकामा बुझाएको प्रतिवेदनअनुसार उक्त रकम लाग्ने देखिएको नगर प्रमुख देवीलाल गौतमले बताए ।

सबै कक्षाको गरेर १३ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । मुसिकोट नगरपालिकाभित्र ५४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

संस्थागत विद्यालयको भने तथ्यांक नगरपालिकासंँग छैन । संस्थागत विद्यालयको तथ्यांक पनि केही दिनमै नगरपालिकामा आउने गौतमले बताए ।

नगरपालिकामा कक्षा आठको परीक्षा आगामी चैत्र आठ गतेबाट सुरु हुँदै छ ।

परीक्षा शुल्क नगरपालिकाले नै व्यहोर्ने
माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्न र शिक्षालाई सबैको पहुँचमा पु¥याउन नगरपालिका लागि परेको मेयर गौतमको भनाइ छ ।

‘विद्यार्थीको परीक्षा शुल्क नगरपालिकाले व्यहोर्ने क्रमलाई आगामी वर्ष पनि निरन्तरता दिनेछौँ,’ गौतमले भने, ‘यो कार्यक्रम रोकिँदैन । निरन्तर रूपमा चल्छ ।

आगामी दिनमा यसलाई अन्य कक्षामा पनि विस्तार गर्दै लैजान्छौँ ।’ विद्यार्थीको परीक्षा शुल्क व्यहोर्ने नगरपालिकाको निर्णयप्रति नगरवासीले खुसी व्यक्त गरेका छन् ।

नगर क्षेत्रभरिका सामुदायिक विद्यालयमा पूर्ण रूपमा निःशुल्क पठनपाठनको व्यवस्था गर्न नगरपालिका लागिपर्ने प्रतिबद्धता गौतमले व्यक्त गरे ।

नयाँ पत्रिकामा मनीष खड्काले लेखेको खबर ।

प्रतिक्रिया