Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

‘सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधवा भएँ’

आइतबार, १३ फागुन २०७४

काठमाडौ १३ फागुन / कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका करले बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन्।

आमाको उपचारका लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बालविवाहको मार खप्नुपर्‍यो। ‘म ६ महिनाकी थिएँ । बिरामी आमाको उपचारका लागि छिमेकी गाउँका एक व्यक्तिबाट १५ हजार नगद लिएर छोरी ठूली भएपछि बिहे गरिदिने सर्तमा बाबुले बिक्री गरेका थिए, ’ उनले भनिन्, ‘त्यसकारण सानैमा बिहा भयो ।’

१८ वर्षमा तीन सन्तानकी आमा बनिसकेकी उनलाई छोरा नजन्माएको भन्दै परिवारले नानाथरिका दुःख दिने गरेका छन् । श्रीमान् तेस्रो छोरी जन्मेको भोलिपल्ट भारत गए । त्यसयता परिवारले अझै बढी सास्ती दिन थालेकोे बझाङ्को बुगल नगरपालिका–३ की कल्पनाको दुखेसो छ । छोरा नजन्माएकै कारण अहिले उनलाई घरनिकाला गरिएको छ । माइतीको सहारामा बस्दै आएकी उनलाई न्याय खोज्न जाने ठाउँबारे थाहा छैन । घरका सबैले किनेर ल्याएको र तेरो आमाको प्राण जोगाएको भन्दै कुटपिट गर्ने गरेको उनले बताइन्।

बालविवाहका कारण सास्ती भोग्ने कल्पना प्रतिनिधिपात्रमात्र हुन् । उनीजस्तै अनिता बोहराको पनि १२ वर्षको उमेरमा बिहा भयो । १५ वर्षको उमेरमा छोरा जन्मेपछि एक वर्ष नपुग्दै उनको श्रीमान् घाँस काटनेक्रममा भिरबाट लडेर बिते । श्रीमानकाे मृत्युपछि उनको जिन्दगी निकै कष्टकर बनेको छ । ‘१९ वर्षकी भएँ । सँगैका साथीसंगाती विद्यालयमा पढ्दैछन् । मचाहिँ बिधुवा भएँ,’ उनले भनिन्, ‘जीवन कसरी काट्ने भन्ने चिन्तामा छु । परिवारसँगै गाउँलेले पोइटोका भनेर हेला गरिरहेका छन्।’

कक्षा ५ मा पढ्दै गर्दा  चार वर्षअघि ६ कक्षामा पढ्ने गाउँकै केटासँग अनिताको बिहा भएको थियो । त्यतिबेला उनलाई बिहाको अर्थ थाहा थिएन । ‘रमाइलो गरे होलान् जस्तो लागेको थियो । स्कुल पढ्न पाउँछु भन्ने पनि थियो । पछि पतिको घरमा गएपछि मन भएर पनि विद्यालय छाड्नुप¥यो,’ उनले बताइन्।

यो गाउँमा १६ वर्ष नपुग्दै छोरीको बिहा गरिदिने चलन छ । बालविवाहका कारण गाउँका छोरीचेलीलाई बीचमै पढाइ छाडेर घरधन्दामा लाग्नुपर्ने बाध्यता छ । ‘घाँसदाउरा र चुलोचौकोमा नै दैनिकी बित्ने गरेको छ । संसार केही थाहा छैन,’ अनिताले भनिन्।

चुनावका बेला गाउँमा मत माग्न आएका सबै नेतालाई बालविवाह रोक्न पहल गरिदिन स्थानीय महिलाले अनुरोध गरेका थिए । तर, महिलाको यो मागप्रति नेताहरूले गम्भीर चासो लिएनन् । माघयता गाउँमा १३ बालिकाको उमेर नपुग्दै बिहा भएको छ । सबैको पन्चैबाजा बजाएरै बिहा भएको हो ।

महिलाका हकमा बिहाका लागि २० वर्ष पुगेको हुनुपर्ने कानुनी प्रावधान छ । तर, यसविपरीत हुने विवाहलाई रोक्न ठोस कदम कतैबाट चालेको पाइँदैन । महिला तथा बालबालिका कार्यालय बझाङ्गका प्रमुख लिला घलेले बालविवाहबारे पूर्वसूचना प्राप्त भए त्यसलाई रोक्न सकिने र बालविवाहको हकमा कानुनअनुसार दोषीलाई कार्बाही गराउन पहल गर्ने बताइन् । उनले भनिन्, ‘सदरमुकाम वरपरका गाउँमा बालविवाह पूर्ण रूपमा राकेका छौं । विकटका गाउँमा बालविवाहसँगै जारी प्रथा, धन प्रथा र जबर्जस्ती प्रथा कायम नै छ । यी प्रथा हटाउन अभिभावक, प्रशासन र स्थानीय राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिले चासो लिनुपर्छ ।’

नागरिकमा जगतबहादुर खड्काले लेखेको खबर ।

प्रतिक्रिया