शिक्षक उत्पादनमै समस्या, औपचारिकतामा अडिएको 'प्राक्टिस टिचिङ्'


काठमाडौं - शिक्षक उत्पादन गर्ने मुख्य थलो त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायमै समस्या हुँदा योग्य शिक्षक उत्पादन हुन नसकेको भन्दै सरोकारवालाले आलोचना गरेका छन् । शिक्षक उत्पादन गर्न विश्वविद्यालयको पाठ्यक्रममै आमुल परिवर्तनको खाँचो रहेको उनीहरुको तर्क छ ।

मार्टिन चौतारीले गरेको कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले औपचारिकतामा मात्रै सिमित भएकोले प्राक्टिस टिचिङ्मा आउने विद्यार्थीलाई लिन आफूहरुलाई गाह्रो भएको समेत बताएका छन् ।

ललितपुरको कुपण्डोलमा रहेको प्रगती शिक्षा सदनका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेले आफूले प्राक्टिस टिचिङ्मा आउने विद्यार्थीलाई लिन छाडेको बताए ।

'कहिले आउने कहिले नआउने र आए पनि प्रभावकारी शिक्षण नगर्ने उल्टै विद्यार्थीलाई अलमल बनाउने भए पछि किन लिनु पर्यो ? त्यसैले हामीले विगत आठ बर्ष देखि प्राक्टिस टिचिङ्मा आउने विखर्थी लिन छाडेका हौं' उनले भने, 'एक्टर्नल कहिले आउने हुन् पनि थाह हुन्न, उनीहरु आएपनि मिलाएर गरिदिउँ न भन्ने गरे पछि म किन उनीहरुको साक्षि बस्ने ?'

ललितपुरकै श्री शान्ती माविका प्रधानाध्यापक दिव्यमणि ज्ञवालीले पनि औपचारिकतामा सिमित भएको प्राक्टिस टिचिङ्को सार्थकता नभएको र उनीहरुबाट उल्टो प्राक्टिस हुने गरेको भन्दै आलोचना गरे । शिक्षक बन्न विशेष क्षमता चाहिन्छ भन्ने मानक स्थापित हुनुको साटो जस्ता विद्यार्थी पनि शिक्षक बन्न सक्छन् भन्ने धारणा विकास हुँदा शिक्षणको गुणस्तर खस्कदै गएको उनले बताए ।

'सबै भन्दा कम जान्ने विद्यार्थी शिक्षा पढ्न सक्छन् भन्ने राज्यले नै तय गरेपछि हामीले राम्रा योग्य शिक्षक पाउने बाटै बन्द भयो' उनले भने, 'शिक्षा पढ्ने क्यापस बढे तर गुणस्तर बृद्धिमा ध्यान पुगेन । यस तर्फ विश्वविद्यालय सचेत हुन आवश्यक छ ।'

त्रिवि शिक्षा शास्त्र संकायकी डा. सुसन आचार्यले विद्यार्थीको मूल्याँकनमा फरकपना ल्याउन नसक्दा यस्तो समस्या आएको बताउँदै विद्यार्थी परीक्षामा मात्रै केन्द्रित हुँदा गुणस्तर ओझेलमा परेको बताईन् । हुन त विश्वविद्यालयको पठन पाठन सेमेष्टर प्रणालीमा शुरु भएको छ, तर क्यालेण्डर फलो गर्न नै गाह्रो भएको अवस्था छ, उनले भनिन्, संस्कार नै परीक्षा केन्द्रित हुँदा यस्तो अवस्था आएको हो ।

जसरी पनि पास हुनु पर्छ भन्ने मानसिकताका कारण विद्यार्थीले आफ्नो क्षमता निखार्न ध्यान नदिएको उनको भनाई थियो ।

परीक्षा प्रणालीमै सुधारको खाँचो रहेको उनको भनाई थियो ।                                      

'भगवान भरोसामा' परीक्षा !

 परीक्षा निणन्त्रण कार्यालयमा बसिसकेका शिक्षा मन्त्रालयका सहसचिव तथा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले अहिलेको परीक्षा प्रणाली 'भगवान भरोसा' मा चलेको भन्दै प्रश्न पत्र निर्माण देखि परीक्षण सम्परीक्षण र नतिजा प्रकाशनका बेला सम्मको प्रकृयालाई पुर्नविचार गर्नु पर्ने आवश्यकता रहेको बताए ।  

'हामीले परीक्षा लिदैं आएका त छौं तर यो भगवानले बचाएको जस्तो मात्रै छ' उनले भने, 'पाठ्यक्रम शिक्षक ब्यवस्थापन, विकास र परीक्षा प्रणालीबिचको अन्तर सम्बन्धका बारेमा सोच्न पर्ने भएको छ ।'

बढ्दो प्रविधिको विकासलाई परीक्षामा कसरी भित्र्याएर प्रभावकारी बनाउने भन्ने मुख्य चुनौती रहेको पनि उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक डम्बर कुमार बतासले परीक्षण प्रणालीमा शिक्षकहरुबाटै हुने हेलचेक्र्याईले गर्दा थप चुनौती रहेको बताए । कतिपय अवस्थामा शिक्षकले भरेको फारमको अक्षर र अंक नै नबुझिने भएर थप समस्या झेल्नु परेको उनको तर्क थियो ।

एडुखबरका सम्पादक श्रीधर पौडेलले संघीयता सँगै बदलिएको राज्यको संरचना अनुसार विद्यालय तहको परीक्षा सञ्चालनमा आएको अलमलले निम्त्याएको चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । शिक्षा मन्त्रालयले समयमै संघीय कानूनको ढाँचा निर्माण नगरिदिने हो भने यो अलमलले धेरै समस्या निम्त्याउने उनको निष्कर्ष थियो ।

कार्यक्रममा त्रिवि शिक्षा शास्त्र संकायका प्राध्यापक गणेश बहादुर सिंहले रिीइााको पुर्नसंरचना आवश्यक रहेकोमा जोड दिए । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख डा. लेखनाथ पौडेलले पाठ्यक्रममा आधारित परीक्षा प्रणालीको आवश्यकताका बारेमा चर्चा गरेका थिए भने, शिक्षा मन्त्रालयका उपसचिव सुशीलबाबु खनालले संघीय नेपालमा परीक्षा सुधार तथा ब्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।