Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

ब्यवस्थापन समितिमा जनप्रतिनिधि : विद्यालयमा राजनीति गर्न नदिन नयाँ ब्यवस्था

आइतबार, २० फागुन २०७४

भक्तपुर स्थित सूर्यविनायक नगरपालिकाको आफ्नो क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका ब्यवस्थापन समिति भंग गर्ने निर्णय पछि शैक्षिक क्षेत्रमा ब्यापक बहस सृजना भएको छ । ब्यवस्थापन समितिसँग आवद्धहरुले उक्त कार्यको विरोध गरेका छन् । माध्यमिक तह सम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकारको भएको संवैधानिक ब्यवस्था अनुसार गत पुस २८ गते बसेको नगर सभाले पारित गरेको शिक्षा नियमावलीका आधारमा उक्त निर्णय गरेको जनप्रतिनिधिले दावी गरेका छन् । यही सन्दर्भमा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमेयर जुना बस्नेतले उक्त कार्य गर्नु पर्नाको कारण बारे विस्तारमा उल्लेख गरेकी छन् । उनको उक्त धारणाको मुख्य अंश – सं.

हामीले कानून बनाउँदा नगरपालिका क्षेत्र भित्रका ४० वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र ५६ वटा संस्थागत विद्यालय मध्ये केहीका प्रधानाध्यापक र  प्याब्सन, एनप्याब्सनका प्रतिनिधिहरुलाइ बोलाएर हामी यस्तो कानून बनाउँदै छौं तपाईहरुको के छ राय भनेर सल्लाह गरेका थियौं । त्यस पछि प्रत्येक प्रअलाई तीन दिन भित्र सुझाव दिन भन्दै त्यो मस्यौदा पठायौं । त्यो छलफल पछि हामीले कानून बनायौं ।

हामीले कानून बनाउँदा स्कुल ब्यवस्थापनमा के के समस्या छन् भन्ने कुरा एक दुई तीन गरेर तीन वटा विषयलाई ध्यान दियौं ।

नम्बर १

सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु, सरकारी कर्मचारी भएर बस्ने अनी लगानी चैं निजी विद्यालयमा गर्ने ! अनी त्यो शिक्षकले सार्वजनिक विद्यालयमा भन्दा आफ्नो लगानी भएको विद्यालयलाई हेर्न चाहन्छ । त्यसले गर्दा आफ्नो विद्यालयमा राम्रोसंग पढाउन नसक्ने, विद्यार्थीलाई आकर्षण गराउन नसक्ने, जसले गर्दा संस्थागत विद्यालयहरु फस्टाउने अवस्था देख्यौं ।

नम्बर २

अहिले सम्म जे भयो भयो, तर हामी जनप्रतिनिधि भएर आईसकेपछि हाम्रो क्षेत्र भित्रका ४० वटा सामुदायिक विद्यालय मध्ये विद्यार्थी नभएको स्कुल छ भने मर्ज गर्ने नभए चलाउने भन्ने हिसावले जो जो सरकारी ओहोदामा हुनुहुन्छ ती ब्यक्तिका छोराछोरी सरकारी विद्यालयमा पढाउने भन्ने कुरा गर्यौं ।

नम्बर ३

यदी अँग्रेजी पढ्नकै लागि विद्यार्थीहरु बोडिङ्मा जान्छन् भने त्यो अँग्रेजी माध्यमबाट हामीले पनि त पढाउन सक्छौं नी । समय अनुसार हरेक कुरा परिवर्तन हुनु पर्दैन ? सबै संरचना परिवर्तन हुने, ७० बर्षको संघर्ष पछि जनताको संविधान पाउने, अनी हामी स्थानीय तहले नेपाली बाहेक सबै विषय अँग्रेजीमा पढाउने भन्दा चाँही आपत्ति हुने, हाम्रा प्रअ हरुलाई ?
शिक्षक संगठनको मान्छेले विरोध गर्नु भयो, यस्तो त हुँदै हुँदैन हामीलाई बाईपास गर्न खोजेको ? भन्नु भयो ।

हामीले त सबैलाई बोलाएका थियौं किन हजुरहरुलाई बाईपास गर्नु ? भन्दा हाम्रो मान्छे शिक्षा समितिमा राख्नु भएन यसकारण तपाईहरुको विरोध गरेको भन्नु भयो उहाँले ।

हामी राजनीति गर्न दिदैंनौ अब देखि स्कुलमा । हामी काम गर्छौं भनेर गएका छौं काम गरेर देखाउने हाम्रो प्रतिवद्धता छ ।

अनी हामीले अर्को कुरा पनि हेर्यौं । प्राईभेट स्कुलमा लगानीकर्ता ब्यवस्थापन समितिको अध्यक्ष हुने । सार्वजनिकमा त कस्ता विद्यार्थी जान्छन् भने लेबर काम गर्ने मान्छेहरुका छोराछोरी जान्छन्, विभिन्न घरमा घरायसी कामदार बसेका भाई बहिनीहरु पढ्न जान्छन् । अनी, अभिभावक कस्ता भने अशिक्षित, सरले केही भन्यो भने हुन्छ भनेर टाउको हल्लाउने अभिभावकले गर्दा स्कुल नचलेको हामीले देख्यौं ।

अनी हामीले के सोच्यौ भने आखिर यत्रो ७० बर्ष लगाएर बनाएको संविधान त संशोधन हुन्छ भने हामी अहिले कानून बनाउँ अर्को परिषद्मा संशोधन गर्न सक्छौं नी त, पहल गर्ने हो सकिएन भने संशोधन गर्न सकिन्छ भन्ने हिसावले अघि बढ्यौं ।

मेरो वडा भित्र कतिवटा विद्यालय छन्, त्यो विद्यालय कस्तो स्थितीमा छ ? किन जिर्ण भएको छ किन फितलो भएको छ भनेर भन्दा ब्यवस्थापन समितिको फितलो निगरानीले स्कुल नचलेको देखियो । त्यो भएको हुनाले जनप्रतिनिधि भनेको त सबैभन्दा राम्रो मान्छे बन्नु पर्छ, तिमीले समाजको सेवा गर्नु पर्छ भनेर पार्टिले लगानी गरेको मान्छे, अनी जनताले सक्षम छ भनेर चुनेर त्यो ठाउँमा पठाएको छ नी त । अहिले हामीलाई राज्यले लगानी गरेको छ । यत्रो लगानी गरेको मान्छे बेकामी हुन सक्छ ? के त्यहाँ हावा खान गको हो र ? काम गर्न गएको हो ।

त्यो अर्थमा हामीले ब्यवस्थापन समितिमा सके वडाध्यक्ष नसके वडाध्यक्षले भनेको सिफारिस गरेको ब्यक्ति जनप्रतिनिधि पनि हुन सक्छ अथवा त्यहाँको सक्षम समाजसेवी पनि हुन सक्छ भन्ने ब्यवस्था गर्यौं । यसरी स्कल ब्यवस्थापन समिति बन्यो भने राम्रो हुन्छ भनेर अहिले भटाभट समितिहरु भंग हुँदै छन् र बन्दै पनि छन् ।

गुणस्तरीय स्कुल बनाउनु पर्छ भन्ने हिसावले सात नम्बर वडाका ५ वटा विद्यालयमा शिक्षकहरुलाई सात दिनको ट्रेनिङ चलाएका छौं । अहिले भर्खर मैले उद्घाटन गरेर आएको छु । स्कुल राम्रो बनाउन नगरपालिकाले लगानी गर्छ । आफ्नो ठाउँमा स्कुल बनाउन लगानी गर्दैन ? लगानी के गर्नु पर्छ कसो गर्नु पर्छ भन्ने हिसावमा हामी अगाडि बढ्छौं ।

हामीले २ –३ वटा स्कुलमा हेरि पनि सक्यौं । नयाँ अध्यक्षको जोश जाँगरलाई हेरेर गुण्डुमा रहेको भैरवी निम्न माध्यमिक विद्यालयमा सरस्वती पुजाको दिन मात्रै ४५ जना नयाँ विद्यार्थी भर्ना भए ।

त्यो भएर राम्रो गर्न खोज्यो भने अभिभावकलाई विश्वस्त बनाउन सक्यौं भने, उहाँहरुको विश्वास जित्न सक्यौं भने साँच्चै नै सामुदायिक विद्यालय चल्छ चलाएर छाड्ने हाम्रो प्रतिवद्धता छ ।   

यो पनि पढ्नुहोस् : विद्यालय ब्यवस्थापन समिति भंग, जनप्रतिनिधि अध्यक्ष हुने

प्रतिक्रिया