Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

महावीर पुन भन्छन् : १३ बर्ष स्थायी शिक्षक भए पछि म बहुलाएँ !

शनिबार, २६ फागुन २०७४

म एउटा अनौपचारिक मान्छे । अनौपचारिक कुन मानेमा भने मेरो कुनै जागिर छैन । कुनै ब्यवसाय छैन । मेरा जति पनि कामहरु भईराखेका छन् अनौपचारिक रुपमा भईराखेको हुनाले म एउटा अनौपचारिक मान्छे हुँ ।

म अहिले सम्म पनि आफूलाई शिक्षक भन्छु । हुन त तपाईहरुले सुन्नु भएको छ होला महावीर पुन भनेको एउटा विज्ञ हो, अथवा आविष्कार गर्ने बैज्ञानिक हो अथवा के हो भन्ने सुन्नु भएको होला, मान्छेले हावामा भन्दै हिँडेका छन् । म केही पनि हैन । म आफूलाई विज्ञको रुपमा कहिले पनि राख्न चाहन्न । म एउटा शिक्षक मात्रै हुँ । १३ बर्ष सम्म मैले स्थायी शिक्षकको रुपमा काम गरेको हो । २०३६ सालको आन्दोलन हुँदा म चितवनमा शिक्षक थिएँ, शिक्षक साथीहरु आन्दोलनमा उत्रिनु भयो । म पनि संग सँगै मैदानमा उत्रिएको हो । शिक्षक संगठनको शुरुको दिन देखि २०४४ साल सम्म चितवनमा बनेको शिक्षक संगठनको तदर्थ समितिमा पनि मैले काम गरेको हुँ ।

१३ बर्ष सम्म स्थायी शिक्षक भएर काम गरेपछि मेरो दिमाग विग्र्यो, म बहुलाएँ !

म बहुलाएर अमेरिका गएँ । अहिले पनि उतिबेलाका साथीहरु भेट्यो भने हाँस्छन् । अमेरिका गएँ, के के पढेर आएँ, अमेरिकामा पढेको उतै छाडेर आएको हो ।

नेपालमा आएर काम गरेको पनि अहिले २५ बर्ष भयो । २५ बर्ष देखि मैले अनौपचारिक रुपमा सेवाको रुपमा काम गरेँ । यसरी काम गर्दा पनि शिक्षालाई नै केन्द्रविन्दु बनाएर काम गरेको हो । मैले म्याग्दी जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर उकास्नको लागि र त्यहाँको आर्थिक समस्याहरु केही समाधान हुन्छ की भनेर विभिन्न आय श्रोतका कार्यक्रमहरु, पर्यटनका कार्यक्रमहरु, आय आर्जनका कार्यक्रमहरु शुरु गरेको हो । जुन अझै पनि चलिराखेको छ ।

भर्खर भर्खर ईण्टरनेटको जमाना आउँदै थियो, यसलाई विद्यालयहरुमा लैजान सकियो भने, पठनपाठनमा र विद्यार्थीले पाउने शिक्षाको गुणस्तरमा पक्कै पनि सहयोग हुन्छ भन्ने लाग्यो । किन भने मैले अमेरिकामा सिकेर आएको कुरा मैले लागू गर्न चाहन्थेँ । गरेको त्यही हो, जानेको जति जे जे गरियो त्यही हो ।

२५ बर्ष मैले कुनै जागिर खाएको हैन, समाज सेवाको रुपमा काम गरे पछि मलाई एउटा ज्ञान प्राप्त भयो । त्यसरी समाज सेवा गरेर देशको विकास गर्छु भनेर कोही लागेको छ भने देशको विकास हुँदो रहेनछ । समाज सेवा र देशको विकास भन्ने कुरा एकदमै भिन्न कुराहरु हुन् भन्ने सिक्न मलाई २५ बर्ष लाग्यो ।

त्यसैले मैले अहिले राष्ट्रिय आविष्कार केन्द्रको अभियान चालेको छु ।

देशको विकास देशलाई समृद्धि बनाउने भन्ने कुरा हरेक नेपालीको चाहना छ । यसका लागि हरेक दल, तीनका नेता र सारा नेपाली लागेका छन् । सके सम्म छिटो समृद्धि होस् भन्ने सबैको ाहना छ सपना छ । तर, समृद्धि बनाउ भनेर उफ्रेर मात्रै समृद्धि आउँदैन । समृद्धि बनाउनका लागि काम गर्नु पर्छ ।

कुनै पनि देशलाई समृद्ध बनाउन के के चाहिन्छ भनेर लिष्ट बनाउने हो भने निकै लामो लिष्ट बन्छ । नेपालमा त्यो लामो लिष्टमा एउटा कुरा छुटेको छ । त्यो लिष्टमा जब सम्म देशको प्रतिभालाई शिर्ष स्थानमा राखिदैंन देश समृद्ध हुँदैन । संसारका जतिपनि विकसित देश छन् तिनले आफ्नो देशको प्रतिभालाई शिर्ष स्थानमा राखेकै कारण अहिले यो स्थानमा आएका हुन् । तर, हामीले त्यो शिर्ष स्थानमा राख्नु पर्ने कुरालाई हामीले एकदमै तल्लो स्थानमा राखेका छौं । जब सम्म हामी नेपालीले यो कुरालाई शिर्ष स्थानमा राख्दैनौ राख्ने शाहस गर्दैनौं तब सम्म नेपाल कहिले पनि समृद्ध हुँदैन, यो कुरा ग्यारेण्टि दिन्छु म ।

देशको प्रतिभाशाली सन्ततीहरुलाई देशमा राख्नु पर्छ । जुन कुरा नेपालमा भएकै छैन । अमेरिका जापान बेलायत जति पनि विकसित देश भन्छौ उनीहरुले प्रतिभालाई देशमा राखेर उनीहरुको प्रतिभालाई प्रयोग गरेर त्यो प्रतिभाबाट देशको आर्थिक विकास गरेको हो ।

१९६० को दशकमा हामी जस्तै थियो । तर अहिले उनीहरु कहाँ छन् हामी कहाँ छन् ? उनीहरुले के गरे र त्यहाँ पुगे हामीले के गरेनौं र पिँधमा छौं ? उनीहरुले केही गरेकै हैन । उनीहरुले आफ्नो देशको प्रतिभालाई आफ्नै देशमा काम गर्ने वातावरण मिलाए । प्रतिभालाई फकाएर फुलाएर के गरेर हुन्छ देशमै राखेर देशको आर्थिक विकास गरेको हो उनीहरुले । र, त्यो गर्ने काम चाँही सरकारको हो । तर, २००७ साल देखि ०७४ साल सम्म नेपालमा जति सकेर बने यो कुरालाई पटक्कै प्राथमिकता दिएन ।  त्यसैले नेपाल गरीब भएके हो, त्यसैले यो कुरालाई जनस्तरबाटै सबै मिलेर सरकारलाई मद्धत गरौं ।

देशमा राष्ट्रिय आविष्कार केन्द्र जस्ता अनुसन्धान केन्द्रहरु स्थापना गरौं र एउटा जग बसालौं, यो बन्ने वित्तिकै सबै कुरा एकै पटक हुने कुरा हैन, एउटा जग बसालौं र त्यो जग माथि काम गरौं । अनी देश समृद्धिको सहि बाटो लाग्छ । यो बाटोबाट देशलाई समृद्ध बनाउन ३० – ३५ बर्ष भन्दा बढि लाग्दै लाग्दैन ।

यो गर्न कुनै गाह्रो काम नै छैन । कुनै पनि प्रतिभालाई के चाहिन्छ त्यो पुर्याईदिने मात्र हो । तपाईहरुका छोराछोरी छन् होला, तीनीहरुलाई कसरीपाल्नु भा छ ? त्सरी नै पाल्ने हो प्रतिभालाई । उनीहरुलाई पैसा चाहिने भए पैसा दिने हो, खाना भोकै भयो भने खाना खुवाउने हो । उनीहरुलाई पढ्न के चाहिन्छ त्यही वातावरण उपलब्ध गराउने हो ।

प्रतिभालाई संरक्षण गर्न चार कुरा आवश्यक छन् ।

–    आर्थिक सहयोग
अनुसान्धानमा कति आर्थिक श्रोत लाग्छ भन्ने यकिन हुँदैन, धेरै पनि लाग्न सक्छ । थोरै पनि लाग्न सक्छ । अनी उनीहरुलाई विशेषज्ञसँग भेटाईदिने र सुपर भाईजर खटाईदिन सहयोग गर्ने ।

–    सफल अनुसन्धानलाई थप खारेर प्रोडक्ट वा सर्भिस निर्माणमा सघाउने

–    अनुसन्धानको ट्रेड मार्क संरक्षण गर्न सघाउने

–    लगानी कर्ताहरुसँग भेटाईदिने र त्यो अनुसन्धानलाई ब्यापारीकरण गरिदिने ।

देशको बढ्दो ब्यापार घाटा डरलाग्दो छ । ९० प्रतिशत बस्तु हामी आयात गछौं सात आठ प्रतिशत मात्रै निर्यात् गर्छौ । यस्तो किसिमको ब्यापार घाटा घटाउने भनेकै देशको प्रतिभालाई देशमै राखेर उनीहरुबाट अनुसन्धान तथा विकास गरेर उनीहरुको आईडियालाई बजारीकरण गर्नु पर्छ । अरु सबै विदेशी देशहरुले गरेको त्यही हो । हामी यहि कुराहरुको लागि यो अभियानमा जुटेका छौं । तपाईहरु पनि शिक्षक हुनुहुन्छ तपाईहरुले आफ्नो क्षेत्र वा विद्यालयमा यस्ता प्रतिभा भएका विद्यार्थी देख्नु भएको छ भने पहिले देखिनै उनीहरुलाई त्यही अनुसार पालन पोषण गरिदिने, हुर्काउने त्यही अनुसारको वातावरण निर्माण गरी दिनुहोस् ।

त्यसको लागि कुनै पनि सहयोग चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रलाई सम्झिनुहोस् ।

केन्द्रका लागि सहयोग चाहन्छि । यसको लागि सम्पूर्ण नेपालीको सहयोग चाहिन्छ । यसलाई महादान कार्यक्रम भनिएको छ । यो कुनै पैसा उठाउने मात्रै कार्यक्रम हैन । तपाई तीन किसिमले दान गर्न सक्नु हुन्छ । देश विदेशमा रहेका जो सुकैले दिन सक्ने पहिलो दान बुद्धि वा सीपको दान हो । तपाईसँग सीप बुद्धि छ भने दान दिनुहोस् किन भने बुद्धि नभईकन कुनै काम हुँदैन । यस्ता आविष्कार केन्द्र देशै भरी खोलौं ।

दोश्रो दान एक पटकको लागि तपाईको क्षमताले भ्याए सम्म आर्थिक दान गर्नुहोस् । कतिपय विद्यार्थीले खाजा खाने पैसा उवारेर हामीलाइ दान गरका छन् । यो एक पटकको लागि हो हामी दुई पटक दान माग्दै माग्दैनौं । किन भने सँधै दान मागेर चल्दैन । एकपटक आएको दानलाई लगानी गरेर त्यहीबाट केन्द्रलाई दिगो बनाउँछौं । अन्तिमको दान भनेको समयको दान गर्नुहोस् । हप्तामा ३० ४० मिनेट जति सक्नुहुन्छ समयको दान गर्नुहोस्, यसलाई सबै नेपालीको ढोका ढोका सम्म पुर्याउनुहोस् । एक प्रतिशत नेपालीले मात्रै हाम्रो काम बुझिदिए पनि हुन्छ । तीन करोड नेपालीको एक प्रतिशत भनेको तीन लाख हो, यत्तिले मात्रै बुझिदिए पनि हुन्छ । तीन लाख नेपाली मध्ये हरेकले एक दुई हजार मात्रै दियो भने पनि यो अभियानलाई सफल बनाउन पुग्छ ।

अहिले सम्म साधारण नेपालीबाट गरेर केन्द्रमा ६ करोड जति उठेको छ । मेरो नाममा भएके जग्गा र मैले अहिले सम्म पाएका राष्ट्रिय अन्र्तराष्ट्रिय पदकहरु बेचबाच गरेर १० करोड रुपैंया सम्म यो कोषमा जम्मा भएको छ । त्यसबाट अहिले सानातिना काम भईरहेको छ । छ सात समूहका भाई बहिनीहरु अहिले काममा जुटिरहेका छन् ।

तपाईहरुलाई कँही कतै मेरो समय आवश्यक ठान्नु भयो भने मलाई फोन गर्नुहोस् म उपलब्ध हुने छु ।

शुक्रबार शुरु नेपाल शिक्षक महासँघको प्रथम राष्ट्रिय महाधिबेशनमा पुनद्धारा व्यक्त धारणाको मुख्य अँश । प्रविधि मार्फत् सिकाइमा सकृय पुनले म्याग्दीमा गरेको कार्यलाई अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त भएको छ ।

प्रतिक्रिया