Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक हाजिरीको 'कन्ट्रोल' नगरपालिकामा !

आइतबार, २७ फागुन २०७४

भक्तपुर - सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेर त्यसको कन्ट्रोल नगरपालिकामा राख्ने तयारी गरेको छ ।   
पहिलो चरणमा माध्यमिक तहका नौ वटा विद्यालयमा उक्त मेसिन जडानको काम सकिएको कार्यकारी प्रमुख चिरञ्जीवी तिम्सिनाले जानकारी दिए ।

पहिलो चरणमा सरस्वती मावि काँक्राबारी, भुवनेश्वरी मावि नङ्खेल र जोरपाटी मावि, नलिनचोकमा मेसिन जडान गरिएको छ । यस्तै सिपाडोलका शान्ति निकेतन र गणेश मावि, गुण्डुको ज्योती, दधिकोटको अरनिको, सिरुटार मावि सिरुटार र महेन्द्र शान्ति मावि बालकोटमा मेसिन जडान गरिएको छ ।

सामुदायिक विद्यालयमा शिक्षक कर्मचारीको नियमितता सुनिश्चित गर्न मेसिन जडानको काम क्रमैसँग अन्य विद्यालयमा विस्तार गरिने योजना रहेको उनले बताए । नगर भित्र ५६ वटा निजी र ४० वटा सामुदायिक विद्यालय छन् ।

'विद्यालय राम्रो हुने भनेको पठन पाठन राम्रो भए मात्र सम्भव हुने कुरा हो, त्यसका लागि शिक्षककको नियमतिता पहिलो सर्त हो' तिम्सिनाले भने, 'को शिक्षक कर्मचारी कतिखेर आयो कतिखेर गयो, कसरी पठन पाठन भईरहेको छ, विद्यालयका गतिविधि कसरी सञ्चालन भईरहेको छ भन्ने कुराको नियमन गर्न नगरपालिकमै कन्ट्रोल हुने गरी उक्त ब्यवस्था गरिएको हो ।'

कुन विद्यालयमा कुन शिक्षक कर्मचारी कतिखेर आयो र गयो भन्ने कुराको विस्तृत रेकर्ड प्रिण्ट गरेर राख्ने र हरेक महिना नगरपालिकामा रहेको शिक्षा शाखामा पेश गर्नु पर्ने गरी विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन गरिएको शाखाकी अधिकृत सविता दंगालले जानकारी दिईन् ।

'सबै विद्यालयमा मेसिन जडान सके पछि त्यसको कन्ट्रोल नगरपालिकामै राख्ने हो अहिलेलाई भने सम्बन्धित विद्यालयहरुले हाजिरी प्रिण्ट गरेर हरेक महिना बुझाउनु पर्ने ब्यवस्था गरेका छौं' उनले भनिन् ।

शिक्षक कर्मचारीले विदा लिनु पर्ने भएमा छुट्टै लगबुकमा रेकर्ड राख्न पनि भनिएको उनले बताईन् ।  

यस अघि नगरपालिकाले सबै विद्यालय ब्यवस्थापन समिति भंग गरेर जनप्रतिनिधिलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

पढ्नुहोस् खबर : विद्यालय ब्यवस्थापन समिति भंग, जनप्रतिनिधि अध्यक्ष हुने

सार्वजनिक शिक्षा सुधारका लागि आफूहरु कृयाशिल रहने नगरपालिकाका जनप्रतिनिधिले प्रतिवद्धता जाउँदै आएका छन् ।

पढ्नुहोस् : ब्यवस्थापन समितिमा जनप्रतिनिधि : विद्यालयमा राजनीति गर्न नदिन नयाँ ब्यवस्था

फोटो : गुगल

प्रतिक्रिया