Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

पालिकाद्धारा परीक्षा प्रणालीमा एकरुपता

सोमबार, २८ फागुन २०७४

काठमाडौं २८ फागुन / शैक्षिक गुणस्तर वृद्धिका लागि ईलामको सन्दकपुर गाउँपालिकामा परीक्षा प्रणालीलाई एकरूपता ल्याउने प्रयास थालिएको छ । गाउँपालिका क्षेत्रका ५ वटा वडाका विद्यालयहरूमा जिल्लामै पहिलोपटक परीक्षा प्रणालीलाई सुधार गर्ने प्रयास थालिएको हो ।

गाउँपालिकाका कार्यकारी अधिकृतसहित स्रोत व्यक्तिको उपस्थितमा फागुन ३ मा भएको प्रधानाध्यापक भेलाले यस्तो निर्णय गरेको हो । परीक्षा सञ्चालनका लागि दिवाकार रिजालको संयोजकत्वमा १३ सदस्य प्राविधिक समिति गठन गरिएको छ । १, २ र ८ कक्षाबाहेकका परीक्षा यो समितिले गराउनेछ । ८ कक्षाको परीक्षा सञ्चालनका लागि फरक समिति बनेको छ । ३ देखि ९ कक्षासम्म लिइने परीक्षामा स्थानीय विषय र ऐच्छिक विषयको परीक्षा पनि विद्यालय तहबाटै सञ्चालन हुनेछ । कक्षा ९ मा ६ विषय, ६ र ७ मा ८ विषय र ३ र ४ का ५ विषयको परीक्षा गाउँपालिका स्तरीय हुनेछ ।

यो पटकका लागि उत्तर पुस्तिका परीक्षण गर्ने र नतिजा प्रकाशन गर्ने जिम्मा विद्यालयलाई दिइए पनि आगामी वर्षहरूमा भने साटासाट गरी उत्तर पुस्तिका परीक्षण गर्ने योजना समितिको छ । ‘कोर्स पूरा नगर्ने र मूल्यांकनमा लापरबाही गर्ने बेथिति अन्त्यका लागि यो प्रयास गरेका हौं,’ संमिति संयोजक रिजालले भने, ‘पहिलो अभ्यास भएकाले यो पटकको प्रतिक्रिया बुझेर आगामी वर्षमा सुधार गर्दै लगिनेछ ।’ फागुन २९ देखि सञ्चालन हुने परीक्षामा निरीक्षणको व्यवस्था पनि मिलाइने रिजालले जानकारी दिए ।
सामुदायिक विद्यालयको नतिजा सुधार नहुनुमा आन्तरिक परीक्षा प्रणाली भएको धेरैको ठहर छ । कोर्स पूरा नगर्ने, नियमित र प्रभावकारी शिक्षण नगराउने र विद्यार्थी उत्तीर्ण गराउने ढंगले मात्र परीक्षा सञ्चालन गर्दा उद्देश्यअनुरूप नतिजा ननिस्किएको गुनासो आउने गरेको थियो ।

एउटै स्तरको प्रश्नपत्रले विद्यालय र विद्यार्थीको स्तर छनोटमा सघाउ पुर्‍याउने समितिले जनाएको छ । चैत २५ मा नतिजा प्रकाशन गर्ने मिति तोकेको समितिले चैत मसान्तसम्म विद्यालहरूलाई नतिजा विश्लेषणका लागि समय दिएको छ । नतिजा विश्लेषणपछि विषयगत रूपमा गाउँपालिकाभरका विद्यालयको प्रगति प्राप्त गर्न सकिनेछ ।

यो गाउँपालिकामा ३० विद्यालयमध्ये ५ वटा माध्यमिक, ८ कक्षासम्म पढाइ हुने ५ र बाँकी प्राथमिक तहका छन् । तीमध्ये ३ विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । विषयगत शिक्षक समयमा नपाएका कतिपय विद्यालयलाई भने यो प्रणालीले समस्या बनाएको छ ।

विभिन्न कारणले ढिलो गरी मात्र पदपूर्ति गरिएका विद्यालयलाई सवै कोर्स पूरा गर्न समस्या देखिएको हो । केही विद्यालयमा दरबन्दी भएर पनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पदपूर्ति हुन सकेको थिएन । ‘परीक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर वृद्धि गर्ने प्रयास राम्रो हो,’ सन्दकपुर ५ स्थित राष्ट्रिय अधारभूत विद्यालयका शिक्षक रमेश दाहालले भने, ‘तर परीक्षा सञ्चालन हुने अन्तिम समयमा मात्र यो निर्णय लिँदा भने केही अप्ठयारो देखिएको छ ।’

एसईई परीक्षामा यस गाउँपालिकाका समग्र माविको नतिजा हेर्दा उत्साहप्रद छैन । यो प्रणालीले तल्लो तहका कक्षादेखि नै विद्यार्थीमा पढ्नेबानीको विकास हुने र विद्यालय र शिक्षक जिम्मेवार बन्ने भएकाले एसईईसहित माथिल्ला तहको नतिजामा पनि सकारात्मक प्रभाव पर्ने धेरैको विश्वास छ ।

शैक्षिक गुणस्तर सुधार्न परीक्षा शिर्षकमा कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया