स्थानीयको पहलमा प्राविधिक शिक्षालय


काठमाडौं २८ फागुन / झापाको झिलझिलेका बासिन्दा गाउँमा जनस्तरबाट प्राविधिक शिक्षालय निर्माणमा जुटेका छन् । सरकारी पक्षले वर्षौंदेखि आश्वासन मात्रै दिने गरेको भन्दै उनीहरू आफूले सकेजति तथा दाता खोजेर शिक्षालय निर्माण गर्ने तयारीमा लागेका हुन् ।

शिवसताक्षी नगरपालिका ११, स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालय १८ वर्षदेखि अलपत्र छ । ०५६ मा स्थापना भएको प्रतिष्ठानले अझैसम्म पूर्णता पाउन सकेको छैन । पूर्वपश्चिम राजमार्गसँगै झिलझिलेमा प्रतिष्ठानको नाममा साढे १२ बिघा जमिन छ । बजेट अभावमा प्रतिष्ठानले कुनै योजना अघि बढाउन सकेको छैन ।

जमिन चरन क्षेत्र बनेको छ । ‘प्रतिष्ठानलाई अलपत्र बन्न नदिन स्थानीयकै सक्रियतामा हामी प्राविधिक शिक्षालय बनाउन जुटेका छौं,’ प्रतिष्ठान अध्यक्ष सन्तोष मेन्याङ्बोले भने, ‘सबै जुटिरहेका छौं । प्राविधिक शिक्षालय बनाउन सफल हुन्छौं भन्ने आशा जागेको छ ।’ उनले स्नातकसम्मको अध्ययन हुने इन्जिनियरिङ तथा स्वास्थ्य शिक्षाका कोर्स सञ्चालन गर्ने लक्ष्य राखेको बताए ।

बजेटका लागि पटकपटक सरकारी संयन्त्रमा हारगुहार गरे पनि कसैले सहयोग नगर्दा प्रतिष्ठान करिब २ दशकसम्म अलपत्र बनेको मेन्याङ्बोले बताए । लौहपुरुष गणेशमान सिंहको सम्मानमा प्रतिष्ठान स्थापना गरिए पनि मूर्त रूप दिन नसकेकोमा लज्जित बनेको उनको भनाइ छ ।

उनले राज्यले सहयोग नगर्दा प्रतिष्ठानलाई लक्ष्यअनुसार अघि बढाउन नसकेको गुनासो गरे । ‘गणेशमान देशका नायक हुन् । तर, नायकलाई सम्मान गर्न सरकारले जानेन,’ उनले भने, ‘हामी प्रतिष्ठान निर्माणमा सहयोग माग्दै कैयौंपटक सिंहदरबारका मन्त्रालय धायौं । तर, कसैले सहयोग गरेन । त्यसैले अब हामी गाउँले आफंै जुटेका हौं ।’

प्रतिष्ठानले ३/३ बिघा जमिनमा प्राविधिक शिक्षालय, सय शय्याको अस्पताल र राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै ५ कट्ठमा १५ सय क्षमताको सभागृह, २ कट्ठमा गणेशमान सिंह स्तम्भ पार्क र ३ कट्ठामा कार्यालय स्थापना गर्ने योजना बनाएको छ । तर, बजेट अभावमा कुनै योजना अघि नबढेपछि स्थानीयले जनस्तरबाटै भए पनि पहिलो योजनाका रूपमा प्राविधिक शिक्षालय बनाउन जुटेका हुन् । रकम जुटाउन प्रतिष्ठानले फागुन २३ देखि सप्ताहव्यापी पुराणको आयोजनासमेत गरेको छ ।
शिक्षालय निर्माणकै लागि पुराणबाट साढे ३ करोड जुटाउने लक्ष्य राखेको प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले जानकारी दिए । आइतबारसम्म १ करोड १५ लाख रुपैयाँ सहयोग जुटेको उनले बताए । ‘लक्ष्यअनुसार काम गर्न सरकारको सहयोगबिना सम्भव छैन,’ प्रधानले भने, ‘सुरुवात हामी गाउँलेले गर्‍यौं भने सरकारलाई पनि दबाब बढ्छ कि भन्ने आशा छ ।’

स्थानीय दृष्टिविहीन शिक्षक ओम तिम्सिनाले झापाजस्तै शिक्षित जिल्लामा प्राविधिक शिक्षालय नहुनु विडम्बना भएको बताए । उनले त्यसैले पनि झिलझिलेमा प्राविधिक शिक्षालय बनाउने अभियान महत्त्वपूर्ण भएको बताए । तिम्सिनाले प्रतिष्ठानलाई १२ लाख मूल्यबराबरको जग्गा दानसमेत गरेका छन् । उनले भने, ‘जिल्लामा प्राविधिक शिक्षालय नहुँदा यहाँबाट ठूलो रकम बाहिरिने गरेको छ ।’

पढाइमा दख्खल भएका राम्रा विद्यार्थीहरू पनि जिल्लाबाहिर जाने गरेका छन् । त्यसैले पनि यहाँ प्राविधिक शिक्षालयको निर्माण जरुरी छ ।’ कनकाई नगरपालिका ६ का हरि घिमिरेले झिलझिलेमा प्राविधिक शिक्षालय निर्माण भए पूरै झापाका विद्यार्थी लाभान्वित हुने बताए । ‘यहाँ प्राविधिक शिक्षालय बनाउन सडक, विद्युत्, बजार, वातावरण, जमिन सबै कुराले उपयुक्त छ,’ दुर्गा उप्रेतीले भने, ‘ठाउँको विकास र भावी सन्ततिको शिक्षाका लागि हामी आफैं अग्रसर भएका हौं ।’

कान्तिपुरमा अर्जुन राजवंशीले लेखेको खबर ।