Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

नयाँ शिक्षा मन्त्रीको प्रश्न – भनेको ठाउँमा नजाने कर्मचारीले सघाउँछ भन्ने कसरी पत्याऊँ ?

शुक्रबार, ०२ चैत्र २०७४

काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अधिकारमा आधारित, राष्ट्रिय विकासलाई टेवा पुर्याउने शिक्षा प्रणाली निर्माण आफ्नो मुख्य ध्येय हुने बताएका छन् ।

शुक्रबार राष्ट्रपतिबाट सपथ खाए पश्चात सिंहदरबार स्थित मन्त्रालयमा साँझ छिप्पिदैं गर्दा पदभार ग्रहण गरेका मन्त्री पोखरेलले संविधान र आफ्नो पार्टिको चुनावी घोषणा पत्रका आधारमा शिक्षा प्रणाली अघि बढाउने प्रतिवद्धता समेत जनाए ।

नवनियुक्त मन्त्रीलाई स्वागत गर्दै शिक्षा सचिव मधुप्रसाद रेग्मीले मन्त्रीलाई सफल बनाउन कर्मचारी प्रशासनले दिलो ज्यान दिएर काम गर्ने प्रतिवद्धता जनाए ।

तर, सचिवको उक्त प्रतिवद्धता पछि मन्त्री पोखरेलले प्रश्न गरे – 'भनेको ठाउँमा नजाने कर्मचारीले सघाउँछ भन्ने कसरी पत्याऊँ ?'

देशको संरचना परिवर्तन भए सँगै तिनै तहमा शिक्षाका कर्मचारी ब्यवस्थापनको मुद्धा जटिल बनिरहेका बेला मन्त्रीको उक्त प्रश्नलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खटाएको ठाउँमा नगई मन्त्रालय, विभाग र जिल्ला शिक्षा कार्यालय तिरै 'हल्लिईरहेका' कर्मचारी तर्फ संकेत गर्दै मन्त्री पोखरेलले उक्त प्रश्न गरेका थिए ।

बरिष्ठ र कनिष्टको विवादका कारण स्थानीय तहमा शिक्षाका कर्मचारी ब्यवस्थापन निकै पेचिलो बन्दै आएको छ । कतिपय स्थानीय तहले शिक्षाका कर्मचारी अभावमा प्रभावकारी काम गर्न नसकेको गुनासो गरिरहेका छन् ।  

यस अघि आफू मन्त्री हुनासाथ सार्वजनिक गरेको १८ बुँदे प्रतिबद्धता पत्रको समिक्षा गरेर अघि बढ्ने पनि उनले बताए । तर, दोश्रो पटक शिक्षा मन्त्रीको कुर्चिमा बस्दै गर्दा पोखरेलका अघिल्तिर मन्त्रालयको नाम मात्रै फेरिएको छैन, गर्नु पर्ने कामको प्रकृती पनि बदलिएको छ ।

पढ्नुहोस् : शिक्षा मन्त्रीमा पोखरेलको दोश्रो ईनिङ्, सर्वहारा जीवन ! वहानाले काम नचल्ने कार्यकाल  

मन्त्रालयको नाममै भएको परिवर्तनलाई सम्बोधन गर्दै पोखरेलले आफू माक्र्सवादी भएको नाताले पनि विज्ञान र प्रविधि आफ्नै विषय भएको समेत बताए ।

यस अघि दलहरु विच भागबण्डा पुर्याउन शिक्षा संग जोडिएको २ मन्त्रालय मध्ये युवा तथा खेलकुदलाई हटाउने गरी सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रले सहमती गरेका थिए ।

पढ्नुहोस् : फेरि बदलियो शिक्षा मन्त्रालयको नाम, भागवण्डा मिलाउन मन्त्रालय थप

आफू प्रधानमन्त्री भएको एक महनिा पछि केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै २२ सदस्यीय मन्त्रीमण्डल बनाएका हुन् । एमालेबाट ६ र माओवादी केन्द्रबाट पाँच मन्त्री बनेका छन् । शुक्रबारै अरु थप चार राज्यमन्त्री पनि नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् भने राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट सपथ लिएका छन् ।

पोखरेल सहित माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोत, शक्ति बस्नेत वन, चक्रपाणि खनाल कृषि तथा सहकारी र विना मगर खानेपानी मन्त्री बनेका छन् ।

यसैगरी एमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गोकर्ण विष्ट श्रम तथा रोजगार, रविन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितलाई मन्त्रालय फेरेर संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राज्यमन्त्रीमा एमालेबाट गोकुल बास्कोटा सञ्चार, निवर्तमान उप प्रधान समेत रहेका शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई हराएकी पद्मा अर्याल स्वाथ्य र पर्यटनमा धनबहादुर बुढा नियुक्त भएका छन् । माओवादीकी रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छन् ।

प्रतिक्रिया