Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

एसईईको तयारी पूरा, चिट चोर्ने चोराउनेलाई एक लाख रुपियाँ जरिवाना

आइतबार, ०४ चैत्र २०७४

काठमाडौं ४ चैत / केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ। ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ। प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन्। काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक हुनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ। यसका लागि आवश्यक पर्ने जनशक्ति खटाउने क्रम जारी रहेको छ।

अध्यक्ष पौडेलका अनुसार परीक्षामा करिब ७५ हजार कर्मचारी खटाइनेछ। परीक्षा समन्वय गर्न जिल्ला समन्वय समिति, स्थानीय तहको शिक्षा कार्यालय र जिल्ला शिक्षा कार्यालयका कर्मचारी परिचालन हुनेछन्। सबै ठाउँमा गरी २९ हजार ३ सय ४० कर्मचारी खटाइनेछ। केन्द्राध्यक्ष पनि त्यत्तिकै संख्यामा खटाइनेछ भने २० हजार ३ सय ४० निरीक्षक खटिनेछन्।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यस वर्ष १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो। चैत ८ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा कायम गरिएको छ। काठमाडौंमा गत वर्ष ९६ केन्द्रवटा कायम गरिएकामा यो वर्ष ९८ वटा कायम गरिएको छ। मनाङमा एउटा मात्र परीक्षा केन्द्र कायम गरिएको छ। हरेक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष तोकिएका छन्। तीन सय परीक्षार्थी बराबर एक सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो।

बोर्डका अध्यक्ष प्राडा पौडेलले यो वर्षको परीक्षामा स्थानीय तहका शिक्षाका अधिकारीसँग बढी सहयोग लिएको बताउनुभयो। स्थानीय तहले माध्यमिक तहसम्म सञ्चालन गर्ने व्यवस्था भएसँगै परीक्षामा स्थानीय तहको भूमिकाअनुसार सहयोग माग गरिएको उहाँको भनाइ थियो।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन बोर्ड र मन्त्रालयका सहसचिवसहितको टोलीलाई सबै प्रदेशको परीक्षाको अनुगमन गर्न खटाइएको छ।

परीक्षा बिहान ८ बजेदेखि शुरू हुनेछ। परीक्षार्थीहरू आफ्नो विद्यालयको तोकिएको पोसाकमा परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षामा चिट चोर्ने⁄चोराउनेलगायतका अमर्यादित गतिविधि भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने बोर्डले जनाएको छ। गत वर्षदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित हुँदै आएको छ। स्मरणीय छ, आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन गरिँदै छ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया