अस्थायी शिक्षकलाई पूर्व शिक्षा मन्त्रीको ५ सुझाव, आन्दोलन हैन परीक्षामा जुट्नुस्


काठमाडौं - अस्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षक सेवा आयोगले तोकेको परीक्षा यस पटक पनि नहुने हो भने त्यो स्वयं अस्थायी शिक्षकका लागि  आत्मघाती हुने भन्दै पूर्व शिक्षा मन्त्री धनिराम पौडेलले उनीहरुलाई परीक्षा तयारीमा जुट्न सुझाव दिएका छन् । अस्थायी शिक्षकको एक समूहले परीक्षा रोक्न आन्दोलनमा जुट्ने भन्दै सामाजिक सञ्जाल मार्फत् 'धम्कि' दिईरहेका बेला पौडेलले पनि फेसबुक मार्फत् नै उनीहरुलाई ५ सुझाव दिएका हुन् ।

'चैत्र महिना विद्यार्थीहरुको एसईई सहित कक्षागत अन्तिम परीक्षाको महिना, त्यसको तयारी, संचालन र नतिजा प्रकाशनमा तपाईंको भूमिका ख्याल गर्नुहोस्' अस्थायी शिक्षकलाई सम्बोधन गर्दै उनले सुझावमा भनेका छन्, 'आफ्नै स्थायी हुने प्रकृया अन्तर्गतको परीक्षाको लागि आवेदन दिनु भएको र फर्म भर्नुभएको छ भने त्यसको तयारीमा जुट्नोस् ।'

चैत्र २३ गते तोकिएको परीक्षा सार्नको लागि आन्दोलनको आव्हान गरिएको हो भने त्यो आम अस्थायी शिक्षकका लागि आत्मघाती कदम हुने भन्दै पौडेलले अस्थायी शिक्षकको भविष्य उनीहरुकै सुझबुझ पूर्ण निर्णयमा रहेको पनि उल्लेख गरेका छन् । ऐनको नवौं शंसोधनले सिर्जना गरेको समस्याबारे सबै जानकार रहेको समेत उनले स्मरण गराएका छन् ।

यस पटकको परीक्षालाई अन्तिम मौकाको रुपमा उल्लेख गर्दै उनले सरकार संधै शिक्षा ऐन, २०२८ को शंसोधन गरेर नबस्ने उल्लेख गरेका छन् ।